१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रधानमन्त्री ओली बाकु जाने  

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।

प्रधानमन्त्री ओली बाकु जाने  

कार्त्तिक ७ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ ।


आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन् ।


‘अहिले पनि अर्न्तराष्ट्रिय स्थिती एकदमै तरल छ, पुर्वानुमान गर्नै नसकिने किसिमको र अस्थिर भएको छ । यसको सबैभन्दा ठूलो चुनौती विकासशिल देशहरुलाई परेको छ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने,‘बदलिदो विश्वको फरक सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता उत्तिकै छ भनेर देखिएका समस्या र चुनौतीमा सरोकार देखाउन नेपालको सहभागिता अनिवार्य बनेको हो ।’


प्रधानमन्त्रीको विशिष्ट तहमा उपस्थिती रहने नाम सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहितको सहभागिता रहनेछ । असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ । यसैगरी, यो अभियानले आपसी आर्थिक तथा सांस्कृतिक सहयोगको आदानप्रदान गर्दै आएको छ ।


नेपाल नामको संस्थापक सदस्य राष्ट्र हो । नाममा १२५ सदस्य राष्ट्र र २५ राष्ट्र पर्यवक्षक छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?