राजपा सांसद साहद्वारा जनकपुर विमानस्थलमा तोडफोड 

सन्तोष सिंह

धनुषा — राजपाका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । उनले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् ।

राजपा सांसद साहद्वारा जनकपुर विमानस्थलमा तोडफोड 

विमानस्थलको रन वेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र बिरामी यात्रु बारे विमानस्थलका कर्मचारी र एयरलाइन्सलाई जानकारी गराउँदा बेवास्ता गरेपछि काउन्टरमा लातले हानेको सांसद साहले बताए । साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको छ ।


सांसद साहले काउन्टरमा तोडफोड गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंह विशिष्ट कक्षमै पुगेर झगडा गरेका थिए । सिंहले विमानस्थल सुरक्षाकर्मी लगाएर सांसद साहलाई विमान चढ्न रोकेका थिए ।


जनकपुर विमानस्थलमा ११:४० बजेको समय तोकिएको बुद्ध एयरको ५१० एटीआर ७२ का लागि बोर्डिङ पास लिएर बसेका यात्रु १ बजेर ५० मा उडेका थिए । प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले फोन संवादपछि सांसद विमान चढेर काठमाडौ पुगेका छन् ।


एयर ट्राफिकका कारण विमान ढिलो हुँदा यात्रुलाई समस्या भएको बुद्ध एयर प्रमुख विजय सिंहले बताए । नियमित ५ उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्ध भएपछि सोमबार उडान थप भएर एयर ट्राफिकका कारण ढिलो हुँदा सांसदले तोडफोड गरेको बताए ।


मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं जान लागेका जनकपुरका शौखिलाल चौधरीको समस्या बारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले कुनै वास्ता नगरेको सांसद साहले बताए ।


तीन घण्टासम्म विमान ढिलो हुँदा बिरामीलाई खानेपानी समेत उपलब्ध नगराएको र पटक–पटक विमान बारे जानकारी माग्दा वेवास्ता गरेको साहले बताए । ‘विमान आएपछि रन वे बाट गाई धपाउने अवस्थाले जनकपुर विमानस्थलको अवस्था चित्रण गर्छ’, सांसद साहले भने, ‘विशिष्ट कक्षको टेबलमा जथाभावी फोहर राखिएको बारे विमानस्थल प्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए । तर, कुनै पहल नहुँदा आक्रोशित भए । ’


विमान ढिलो हुँदा बिरामीको अवस्था बिग्रिन थालेपछि एयरलाइन्सले पानी समेत उपलब्ध नगराएको सांसद साहको भनाइ छ ।

‘विमानस्थलको लपारबाही र एयरलाइन्सको कमजोरी सुधार गर्न पटक पटक आग्रह गर्दा समेत अटेरी भएका कारण आक्रोसित भएर लातले हानेको हुँ’, सांसद साहले भने, ‘ विमानस्थलको विशिष्ट कक्षमा ७ जना कर्मचारी कार्यरत छन् । तर विशिष्ट व्यक्ति आउँदा टेबलमा फोहोर थुप्रिएको थियो । विमानस्थलमा यात्रुलाई बस्ने व्यवस्था थिएन । एयरलाइन्सले यात्रुको गुनासो समेत सुन्न चाहदैनन् ।’

प्रकाशित : आश्विन २७, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?