बोलेको कुरालाई ठिक उल्टो अर्थ दिनेगरी युट्युबमा नराखौं : पूर्व राजदूत मास्के
काठमाडौँ — पूर्व राजदूत महेश मास्केले लिपुलेक सम्बन्धमा आफूले बोलेको कुरालाई उल्टो अर्थ दिनेगरी उत्तेजक शीर्षक बनाएर युट्युबमा राखिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार एक प्रेस विज्ञप्ति निकाल्दै उनले युट्युबमा राखिएको शीर्षक पढेर पाठकहरुलाई टिप्पणी नगर्न आग्रह गर्दै पुरा अन्तर्वार्ता हेरेर टिप्पणी गर्न आग्रह गरेका हुन् ।
उनले लिपुलेक संवेदनशील विषय रहेको र दुई छिमेकी देशहरुसँग वार्ता गरेर त्यसलाई टुंग्याउनुपर्ने कुटनीतिक चुनौती नेपालको अगाडि रहेको बताए । उनले तथ्यमा टेकेर दस्तावेजको आधारमा संवाद गरे मात्र त्यसो गर्न सम्भव छ भन्ने अभिव्यक्ति दिएको बताए ।
यस्तै मास्केले नेपालको पश्चिमी सीमाबारे नेपालकै आधिकारिक धारणा प्रष्ट नभएको बताए । उनले पश्चिमी सीमालाई प्रस्ट नपारी नेपालले अन्य मुलकसँग अडेर कुरा गर्न नसक्ने बताए ।
विज्ञप्तिमा मास्केले भनेका छन्,' पश्चिम सीमाका तीन वटा नक्सा छन् । सुगौली सन्धिले दिएको नक्सा र ब्रिटिस भारतको पालामा नै किर्ते गरेर सीमा सारिएको अन्य दुई नक्सा । सुगौली सन्धिले किटान गरेको नक्सा मात्रै अधिकारिक र कानूनी हैसियत राख्छ भन्ने विज्ञहरुको र मेरो पनि मान्यता हो । '
उनले उक्त नक्सा अनुसार लिपुलेक नेपाल र चीनबीचको द्विदेशीय सीमा बिन्दु रहेको र नेपाल,भारत र चीनबीचको त्रिदेशीय सीमा बिन्दु होइन भन्ने तर्क आफूले गरेको बताएका छन् ।
सुगौली सन्धि अनुसार लिम्पियाधुरा त्रिदेशीय सीमाबिन्दु रहेको र अहिलेको नेपालको नक्सा लिपुलेकबाट बगेर आएको लिपुखोलालाई काली नदीको शीर मान्ने नक्सा भएको र यसले लिपुलेकलाई त्रिदेशीय सीमा बिन्दु मान्ने तर त्यसको आधिकारिकता बारे प्रश्न चिन्ह रहेको मास्केले उल्लेख गरेका छन् ।
प्रकाशित : आश्विन २७, २०७६ १५:०२