सुरक्षा निकायको निष्कर्ष : सी भ्रमणमा सुरक्षा प्रभावकारी- समाचार - कान्तिपुर समाचार

सुरक्षा निकायको निष्कर्ष : सी भ्रमणमा सुरक्षा प्रभावकारी

मातृका दाहाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको सुरक्षा निकायले निष्कर्ष निकालेका छन् । सी भ्रमणको बेला गरिएको सुरक्षा योजनाबारे समीक्षा गर्न बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निचोड निकालेको हो । 

समितिले सी भ्रमणका क्रममा नकारात्मक प्रचारबाजी गर्न खोज्नेलाई निस्तेज पारेर प्रभावकारी सुरक्षा योजना लागू गरिएको निष्कर्ष निकालेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा स्वतन्त्र तिव्वतको पक्षमा प्रचारबाजी गर्न खोजिएपनि त्यसलाई निस्तेज पारिएको भन्दै सुरक्षा निकायलयाई धन्यवाद दिइयो ।


सोमबार बिहान चारवटै सुरक्षा निकायका उच्च अधिकारी र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग सी भ्रमणको सुरक्षाबारे छलफल गरिएको थियो ।


प्रहरीले सीको भ्रमणलाई लक्षित गरेर स्वतन्त्र तिब्बतको पक्षमा प्रचार गर्ने ३२ जना पक्राउ गरेको थियो । केही दिनअघि नै उनीहरु पक्राउ परेपनि सीको भ्रमणमा नकारात्मक असर पुग्ने भएर यो विषय प्रहरीले गुपचुप राखिएको थियो ।


पक्राउ परेका मध्ये २ तिब्बती शरणार्थी र १ नेपालीलाई काठमाडौं र १ जनालाई सप्तरीबाट पक्राउ गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्रपति सीको भ्रमणमा अवरोध पुर्‍याउन खोज्ने ३२ जनालाई पक्राउ गरिएकोमा ३ जनालाई हिरासतमा राखेर बाँकीलाई आइतबार साँझ रिहा गरिएको छ ।


पक्राउ परेकामध्ये तिब्बती शरणार्थी परिचयपत्र बाहक हिस्से ग्याम्चो लामा र नवाङइमा लामा र शान्ति समाजका वीपी पौडेल छन् । पक्राउ परेका दुवै शरणार्थीलाई महानगरीय प्रहरी वृत्त बौद्ध र पौडेललाई टेकुस्थित काठमाडौं परिसरको हिरासतमा राखिएको छ ।

त्यस्तै, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा फ्रि तिब्बतको पक्षमा लागेको अभियोगमा सप्तरीको राजविराजबाट पक्राउ परेकी मधेस फाउण्डेसनकी सदस्य सुनिता साहलाई पनि आइतबार नै काठमाडौं ल्याइएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीको हिरासतमा राखिएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

मंगलबार महरालाई अस्पतालबाटै अदालत लगिने

मातृका दाहाल

काठमाडौँ — बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । 

जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ । महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन । मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ । सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ ।

अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन् । उनलनाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाटै महरालाई अदालत लगिने एसएसपी सुवेदीले बताए ।

प्रकाशित : आश्विन २७, २०७६ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×