१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस कार्यकर्ताले सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

१२ बर्ष पछि दोस्रोपटक आलम पक्राउ
शिव पुरी

रौतहट — सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

कांग्रेस कार्यकर्ताले सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही समय पछि कांग्रेस कार्यकर्ता प्रहरी कार्यालय अगाडि बसेर विरोधको तयारी गरेका थिए । भीड बढ्न थालेपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेर तितर बितर गरेको थियो ।


बिहानदेखि सदरमुकाम गौरका विभिन्न स्थानमा कार्यकर्ताले टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले सुरक्षाकर्मिको अवस्था हेरेर बाटो अवरुद्धको प्रयास गरिरहेका छन् । तत्कालै सुरक्षाकर्मी पुगेर बाटो खुलाएका छन् । जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले सांसद आलम पक्राउको विरोधमा कार्यकर्ताहरुले केहीस्थानमा टायर बालेर बसेको बताए । गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले टायर बालेर विरोध गरिरहेका छन् ।


जिल्ला भित्र कुनै किसिमको अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । ‘कानुन हातमा लिएर कुनै किसिमको गतिविधि नहोस भन्नेमा हामीले उच्च सतर्कता अपनाएका छौं,’उनले भने, ‘कानुन र अदालतको सबैले सम्मान गर्नुपर्छ ।’


घटनापछि अहिले सम्म १२ वर्षको अवधिमा जिल्ला प्रहरी रौतहटमा १६ जना एसपीको सरुवा भएको थियो । ति मध्ये सांसद आलमलाई पक्रन कसैले हिम्मत गरेको देखिदैन् । एसपी खत्रीले अदालतको उच्च कदर गर्दै आलमलाई पक्राउ गरेको पुष्टि गरे । संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट २ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । राजनीतिक संरक्षणका आधारमा ‘मुद्धा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएको समेत झन्डै साढे सात वर्षपछि उनलाई प्रहरीले पक्रेको हो ।


विस्फोटमा परि घाईते भएकाहरुले घटना सार्वजनिक गर्छन भन्ने डरले आलमले आफन्त र सहयोगी मार्फत घाइतेलाई नजिकको इाटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले बयानमा भनेका छन् । मिसिलअनुसार स्थानीय व्यक्ति र घटनाका प्रत्यक्षदर्शीले ‘आगोमा हाली जलाएर आततायी किसिमबाट कर्तव्य गरी हत्या गरेको बताएका थिए । सांसद आलमले भने विस्फोटको घटनाको सुरु देखि नै अस्विकार गर्दै आएका छन् । उनले विस्फोट भएकै छैन भन्दै आएका छन् ।


घटनामा मृत्यु भएका त्रिलोकप्रताप (पिन्टु) का बुबा यमुनामाई गाउँपालिका ४ सरुअठाका श्रीनारायणसिंह समेतले हुलाकबाट दिएको उजुरीमा आलम सहित शेख भैदई, शेख मोविन आलम, शेख सराजलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न आग्रह गरिएको थियो । घटनामा मारिएका अर्का ओसी अख्तरका आमा रोक्साना खातुनले समेत सोही ब्यहोराको किटानी जाहेरी दिएका थिए । घटनापछि खातुन आलमको घरमा जादा ‘तिम्रो छोरा मरिसक्यो’ भन्ने जवाफ पाएकी थिइन् । उनी त्यतिबेला छोराको जुत्ता जिम्मा लिएर फर्किएकी थिइन् । २०६७ माघ ८ गते साझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट घर सरुअठा आउँदै गर्दा गौंडा कुरेर बसेको हतियारधारी समूहले गोली हानी रोक्सानाको हत्या गर्‍यो ।


हिम्मतदार एसपी

सांसद आलम प्रक्राउ परे पछि मृतक भनिएका पिन्टुका बुवा श्रीनारायण सिंहले जिल्ला प्रहरी प्रमुख एसपी खत्री र डिएसपी नबिन कार्कीको खुलेर प्रसंशा गरे । सर्वोच्च अदालतको आदेश पछि जिल्ला प्रहरी गौरमा ९ जना एसपी आएका थिए । उनीहरुले आदेशको कार्यान्वयन नै नगरी चुप बसे । त्यसपछि पीडित सिंह मानहानीको मुद्दा लिएर फेरी सर्वोच्च गए । सर्वोच्चका पत्र पछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको थियो । पीडित सिंहले यो देशमा न्याय मरेको छैन भनेर प्रतिक्रिया दिए । ‘म एसपी खत्री र डिएसपी कार्कीलाई विशेष धन्यबाद दिन चाहान्छु । वहाँहरुले हिम्मत गर्नुभयो,’ उनले भने ,‘पहिलेका एसपीहरु किन चुप बसे कारण थाहा हुन सकेन । यस्तै हिम्मतदार एसपीको देशलाई खाँचो छ ।’

प्रकाशित : आश्विन २७, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?