अपराधका आरोपित ‘माननीयहरू’

मातृका दाहाल

काठमाडौँ — हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ ।

अपराधका आरोपित ‘माननीयहरू’

निवर्तमान सभामुख एवं नेकपा सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार कांग्रेस सांसद आलमविरुद्ध २०६४ चैत २७ गतेको बम विस्फोटमा परी घाइते २ नेपाली र २१ भारतीय नागरिकलाई इँटा भट्टामा लगेर जलाएको अभियोग छ । त्यस बेला हत्या गरिएका दुई नेपाली त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तर मियाँ हुन् । २१ भारतीय नागरिकका सन्दर्भमा किटानी जाहेरी नपरेकाले त्यसको अनुसन्धान नै भएन ।

प्रहरी स्रोतका अनुसार बम विस्फोट भएकै बेला आलम पक्राउ पर्न सक्थे । तर उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । घटना हुँदा कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए । घटनाबारे रौतहट प्रहरीले गृहमन्त्री र प्रधानमन्त्री दुवैलाई जानकारी गराए पनि आलममाथि अनुसन्धान नगर्न दबाब आएको एक डीआईजीले बताए । उक्त कसुरमा आलमलाई मुद्दा नचलाएको भन्दै पक्राउ गरेर सुरुबाटै अनुसन्धान गर्न २०६९ जेठ १४ गते नै सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलाशले आदेश दिएका थिए । अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चको आदेश पालना नगरेको भन्दै प्रहरीविरुद्ध अपहेलनासम्बन्धी रिट सर्वोच्चमा दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चकै न्यायाधीश गोविन्द उपाध्यायले आलमलाई पक्राउ गरेर बम विस्फोट र हत्यासम्बन्धी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यही आदेशका आधारमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

एक साताअघि मात्रै निवर्तमान सभामुख एवं प्रमुख सत्तारूढ नेकपाका दाङ-२ बाट निर्वाचित सांसद महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेका छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास आरोपमा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । संघीय संसद् सचिवालयका अनुसार महराको सांसद पद निलम्बनमा परिसकेको छ ।

अपराध कसुरमा कारागारमा रहेका अर्का सांसद तथा राजपा नेता चौधरी कैलाली-२ बाट निर्वाचित भएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरिसकेको छ । त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् ।


२०७४ को आमनिर्वाचनमा कैलाली-५ बाट निर्वाचित नेकपा सांसद राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाइसकेका छन् । विशेष अदालतेले रानालाई सफाई दिएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको सफाइ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । ४ वर्षदेखि उक्त मुद्दा सर्वोच्चमै विचाराधीन छ ।

कूटनीतिक राहदानी दुरुपयोग अभियोगमै विशेष अदालतबाट दोषी ठहर भएका तत्कालीन सभासदहरू गायत्री साह, बीपी यादव र शिवपुजन राय यादवविरुद्धको मुद्दा सर्वोच्चमै विचाराधीन छ ।


पूर्वसभामुख तारानाथ रानाभाट कसुर लागेका व्यक्तिलाई न्याय निरुपण नभई सांसद बन्न दिनु नै गलत भएको बताउँछन् । ‘विभिन्न अपराध आरोपित व्यक्तिको कसुरमा अदालतबाट न्याय निरुपण नहुँदै राजनीतिक दलहरूले दलीय जिम्मेवारी र सांसद हुन पाउने गरी भूमिका दिनाले नै बहालवाला सांसदहरू पुरानो केसमा पक्राउ पर्छन्,’ उनले भने । पक्राउ परेका सांसदमाथि सामान्य नागरिकसरह छानबिन र अनुसन्धान गर्न दलहरूले नै सघाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?