कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चियापानमा शशांकको नयाँ 'लुक’

कान्तिपुर संवाददाता

काठमाडौँ — सधैं अनौपचारिक पोसाकमा रहने कांग्रेस महामन्त्री एवं बीपीपुत्र शशांक कोइराला चियापानमा दौरा-सुरुवाल र कालो टोपीमा सजिएका थिए ।

चियापानमा शशांकको नयाँ 'लुक’

उनको नयाँ ‘लुक’ ले सबैलाई आकर्षित गरेको थियो । उनलाई पहिलोपटक औपचारिक पोसाकमा देखेपछि कतिपयले आसन्न १४ औं महाधिवेशनसँग जोडेर चर्चा गरेका थिए ।

‘सी भ्रमण ऐतिहासिक’

कांग्रेस सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण ऐतिहासिक भएको बताएका छन् । देउवाले २३ वर्षअघि आफू प्रधानमन्त्री छँदा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले गरेको नेपाल भ्रमणको प्रसंग जोड्दै त्यसपछि पुन: भएको राष्ट्रपति भ्रमणलाई पार्टीले हार्दिकतापूर्वक स्वागत गरेको बताए ।

कोजाग्रत पूर्णिमाका अवसरमा पार्टीले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा उनले राष्ट्रपति सीसँगको भेटमा नेपालको समृद्धिका लागि चिनियाँ लगानी र आर्थिक साझेदारीलाई आफूहरूले स्वागत गर्ने धारणा राखेको बताए । आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको/रहने प्रतिबद्धतासमेत त्यसक्रममा जनाएको उनले जानकारी दिए । ‘नेपालको एक इन्च भूमि चीनविरुद्ध प्रयोग गर्न दिइनेछैन,’ उनले भने, ‘चिनियाँ राष्ट्रपतिले टोखा-छहरे सुरुङमार्गलगायत चीनको लगानीमा बन्ने योजनाका बारेमा बताउनुभयो । मैले त्यसको स्वागत गरेँ ।’

सीले आफूलाई चीन भ्रमणको निम्तोसमेत दिएको र उपयुक्त समय मिलाएर भ्रमण गर्ने जानकारी दिए । देउवा र चिनियाँ राष्ट्रपति सीबीच शनिबार राति २० मिनेट भेटवार्ता भएको थियो ।

चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाललाई दिने आर्थिक सहयोगको कोणबाट मात्रै चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई हेर्न नहुने बताए । ‘मामा आउँदा कति मिठाई र कति दक्षिणा दिए भन्ने हिसाबले यो भ्रमणलाई सोच्न हुन्न,’ उनको भनाइ थियो, ‘समग्रमा भ्रमण सफल भएको छ ।’

नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालले सीको भ्रमणले चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए । ‘सीको मन्तव्य, नेपालप्रतिको प्राथमिकता, लगानी र आर्थिक साझेदारीप्रतिको प्रतिबद्धता सबै हिसाबले यो भ्रमण सफल भएको छ,’ नेपालले भने । नेकपाकै नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक साझेदारीका हिसाबले भ्रमण ऐतिहासिक भएको बताए ।

प्रधानमन्त्री ओलीले सत्ता र प्रतिपक्षबीचको सम्बन्धका बारेमा मात्रै चर्चा गरे । उनले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेको बताए । कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामशरण महतसहितका नेतासँग आफ्नो ४५ वर्षदेखिको सम्बन्ध रहेको बताउँदै उनले लोकतन्त्रको मूल्यमान्यताका सवालमा कांग्रेससँग गहिरो समझदारी रहेको बताए । ‘कांग्रेस र हाम्राबीचमा सौहार्दपूर्ण सम्बन्ध छ, राजनीतिक रूपमा मतभेद भए पनि यस्ता शुभकामनाको संस्कृतिले सम्बन्ध जोड्छ,’ ओलीले थपे ।

चियापान व्यवस्थित

कांग्रेसले अघिल्लो वर्षको तुलनामा यसपटक चियापान व्यवस्थित रूपमा आयोजना गरेको थियो । यसअघि हुने अस्तव्यस्त र भद्रगोलले आगुन्तक पाहुनालाई नेताहरूसमक्ष पुग्नै हम्मे पर्थ्यो । यसपटक त्यस्तो स्थिति दोहोरिएन । चियापानमा आउने नेता तथा विदेशी पाहुनाले यसपटक सहज रूपमा नेताहरूसँग हात मिलाउन र कुरा गर्न पाएका थिए । सञ्चारकर्मीलाई पनि व्यवस्थित रूपमा राखिएको थियो । नेताहरूलाई बोल्नका लागि छुट्टै मञ्च प्रबन्ध गरिएको थियो । दिउँसो १ बजे सुरु भएको चियापान साँझसम्म चलेको थियो । त्यसक्रममा रक्तदान, स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो ।

राजनीतिमा असम्भव भन्ने चिज केही हुन्न

कार्यक्रममा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयपछि नै राजनीतिले कोल्टे फेर्न सक्ने संकेत गरेका छन् । राजनीतिमा असम्भव भन्ने चिज केही नहुने उल्लेख गर्दै उनले यस्तो संकेत गरेका हुन् । यो संकेत नयाँ सरकार निर्माणतर्फ हो या अन्यतर्फ लक्षित हो भन्ने उनले खुलाएनन्, केबल कांग्रेससँगको सहकार्यमा मात्रै जोड दिए ।

‘यहाँ आउँदा सहयात्रीहरूसँगको भेटमै आएको महसुस हुन्छ, हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्दै जान्छ, मलाई विश्वास छ...’ कांग्रेसको चियापानमा प्रधानमन्त्री ओलीपछि बोलेका दाहालले भने, ‘तर पनि हाम्रो सहकार्य, एकता र शान्तिप्रतिको संकल्प जारी रहन्छ । हामी सहयात्रीकै रूपमा निरन्तर रूपमा अघि बढ्नेछौं ।’

सरकारलाई दुई तिहाइको समर्थन रहेका बेला कांग्रेससँग कस्तो खालको सहकार्य खोज्नुभएको हो भन्ने प्रश्नमा दाहालले कुनै जवाफ दिएनन् । उनले भने, ‘अहिले दुई तिहाइको कुरा नगरौं भन्ने लागेको छ ।’ दाहालले गरेको संकेतप्रति सोधिएको प्रश्नमा देउवाले भने आफूसँग त्यस्तो कुरा नभएको बताए । ‘उहाँ (दाहाल) सँग मेरो कुरै हुन पाएको छैन,’ उनले भने ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?