कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सगरमाथा जोगाउने प्रतिबद्धता

जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय सम्मेलनको संघारमा पहिलो प्रदूषक मुलुकका राष्ट्रपतिले सहयोगको हात बढाउँदा विश्वमै सकारात्मक सन्देश गएको छ ।  
अब्दुल्लाह मियाँ

काठमाडौँ — जलवायु परिवर्तनका कारण सगरमाथासहित अन्य हिमश्रृंखला हिउँविहीन बन्दै गएको भन्दै नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ चिन्ता व्यक्त गर्न थालेको वर्षौपछि सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई सघाउने घोषणा गरेका छन् ।

सगरमाथा जोगाउने प्रतिबद्धता

हरित गृह ग्यासका कारण तापक्रम वृद्धिले हिमश्रृंखला पग्लिदा पर्यटन र जनजीवनमा नकारात्मक असर परेको नेपालले बताउँदै आएको छ ।


दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार राति सम्बोधन गर्दै राष्ट्रपति सीले विश्वको सर्वोच्च शिखर सगरमाथा र चीनतर्फको चुमलुङ्मासहितका हिमाल जोगाउन तत्परता देखाउने उद्घोष गरेका हुन् । नेपाल र चीनबीच भएको २० बुँदे समझदारी पत्र र १४ बुँदे संयुक्तमा पनि सगरमाथा र चीनतर्फको चुमलुङमालगायत हिमाल संरक्षण गर्न सहकार्य गर्ने बुँदा उल्लेख छ । यस्तै हिमश्रृंखलाबारे वैज्ञानिक अध्ययनलाई पनि जारी राख्ने सम्झौतामा छ ।


हरितगृह ग्यास उत्सर्जनमा दोस्रो स्थानमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असर भइरहेको भनी वैज्ञानिकले सार्वजनिक गरेको तथ्यलाई नै अस्वीकार गरिरहेका बेला सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकका राष्ट्रपतिले हिमाल जोगाउन गरेको प्रतिबद्धताले जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय बहसलाई फराकिलो पारेको जानकारहरुको विश्लेषण छ ।


सम्बोधनका क्रममा सीले जलवायु परिवर्तन सम्बन्धमा नेपालले उठाएको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई समर्थन गर्नेसमेत बताएका थिए । उनले भनेका थिए, ‘नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई साझा विशेषगरी हिमाल र सगरमाथाको रक्षा गर्न सत्पर रहनेछौं ।’


नेपालले हरितगृह ग्यास उत्सर्जनका कारण बढेको तापक्रमको बढ्ता असर हिमश्रृंखलामा परेकाले विकसित मुलुकहरुले हिमाल जोगाउन सहयोग गर्नुपर्ने आवाज उठाउन थालेको दशक बितिसकेको छ । विगतमा नेपालले सगरमाथा पग्लेर हिउँविहीन बन्दै गएको सन्देश दिन तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायतलाई सगरमाथाको ढुंगा उपहार दिनेदेखि विकसित मुलुकहरुमा हिमाल आरोहीबाट मार्चपास गर्नेसमेत कार्यक्रम गरेको थियो ।


हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर परेकाले सहयोग जुटाउन यसअघि नेपालले पर्वतीय र हिमाली मुलुकहरुलाई काठमाडौंमा भेला गरेर साझा धारणा तय गर्नेसमेत गरेको थियो । हिमाली र पर्वतीय मुलुकहरुमा परेको जलवायु परिवर्तनको असर न्यून गर्न विकसित मुलुकहरुले आर्थिक सहयोग गर्नुपर्ने जिकिर नेपालको छ । अति कम विकसित मुलुकहरु (एलडीसी) को नेतृत्व गर्दा पनि नेपालले जलवायु परिवर्तनका असरलाई विश्वव्यापीकरण गर्न भूमिका खेलेको थियो ।


नेपालले उठाइरहेको मुद्दामा सीले प्रतिबद्धता जनाउनुलाई जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने जानकारहरुले ‘विश्वकै लागि सकारात्मक सन्देश’ भनेका छन् । ‘दोस्रो प्रदूषक मुलुक अमेरिकाले जलवायु परिवर्तनलाई अस्विकार गरिरहेका बेला पहिलो प्रदूषक चिनियाँ राष्ट्रपतिले हिमाल जोगाउन हातेमालो गर्छु भन्नुले आफूहरु जलवायु परिवर्तनको मुद्दामा गम्भीर छौं भन्न खोजेको स्पष्ट हुन्छ’ जलवायु परिवर्तनमा काम गर्दै आएका विशेषज्ञ टुंगा राईले सोमबार कान्तिपुरसित भने, ‘राष्ट्रपतिले नै हिमाल जोगाउन तयार छौं भन्नुले नेपालले वर्षौदेखि उठाएको मुद्दा स्थापित भएको छ ।’


यसअघि चीनले जलवायु परिवर्तनसम्बन्धि सम्मेलनका दौरान हिमश्रृंखला जोगाउन खासै प्रतिबद्धता जनाउँथेन । जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २५) को संघारमा प्रदूषक मुलुकका राष्ट्रपतिले हिमाल जोगाउन गरेको प्रतिबद्धताले अरु प्रदूषक मुलुकहरुलाई पनि पाठ हुने व्याख्या गरेका छन् । कोप २५ दुई महिनापछि चिलीको सान्टियागोमा हुँदैछ । ‘ट्रम्पले जलवायु परिवर्तनलाई ‘मिथ’ भनिरहेका बेला पहिलो प्रदूषक मुलुकका राष्ट्रपतिले सहयोगको हात बढाएर विश्व समुदायमाझ आफू जलवायु परिवर्तनको मुद्दामा गम्भीर छु भन्न खोजेको बुझिन्छ’ राईले भने ।


जलवायु परिवर्तनका अर्का जानकार वटुकृष्ण उप्रेतीले जलवायु परिवर्तनबारे नेपालले उठाएको मुद्दामा सहयोग गर्न सीले गरेको प्रतिबद्धताले ठूलो राजनीतिक सन्देश दिएको बताए । ‘सीको प्रतिबद्धताले जलवायु परिवर्तनको मुद्दामा चीन आक्रमक ढंगले अघि बढिरहेको छ भन्ने संकेत दिन्छ’ उप्रेतीले भने, ‘नेपालले उठाइरहेका मुद्दालाई चीनले सम्बोधन गर्न खोजेको बुझिन्छ ।’


जलवायु परिवर्तनको मुख्य कारक मानिने हरितगृह ग्यास उत्सर्जनमा विश्वमै पहिलो सूचीमा भएजस्तै, नवीकरणीय ऊर्जाको प्रवर्द्धनमा पनि चीन पहिलो स्थानमा छ । विश्वमा परेको जलवायु परिवर्तनको असर न्युन गर्न चीनले परम्परागत उद्योग–कलकारखाना बन्द गर्दै नवीकरणीय ऊर्जामा प्रतिस्थापन गर्ने अभियानै चलाएको छ । ‘प्रदूषक मुलुक भएर पनि जलवायुको मुद्दामा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतालाई सकारात्मक हिसाबले लिनुपर्छ’ उनले भने, ‘यसले विश्व समुदायलाई पनि सही दिशातिर जान उत्प्रेरित गर्छ ।’


दोस्रो प्रदूषक अमेरिकी राष्ट्रपति ट्रम्पले भने जलवायु परिवर्तनको असर न्यून गर्न अहिलेसम्मकै उपलव्धीमुलक मानिएको जलवायु परिवर्तनसम्वन्धि पेरिस सम्झौतालाई खारेज गर्दै बाहिरिने घोषणा गरेको तीन वर्ष भइसकेको छ । अमेरिकाले आफूहरुले हरितगृह ग्यास उत्सर्जन कटौती पनि नगर्ने र आर्थिक सहयोग पनि नगर्ने अडान लिएको छ । अमेरिका पछि हटिरहेका बेला चीनले भने जलवायु परिवर्तनको असरलगायतका मुद्दालाई सकारात्मक रुपमा लिंदै अघि बढिरहेको उप्रेतीको टिप्पणी छ ।


स्वतन्त्र जलवायु परिवर्तनविज्ञ विमल रेग्मीले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय सम्मेलनहरुमा ‘जी७७ चाइना’ समूहमा रहेको चीनका राष्ट्रपतिबाट जलवायु परिवर्तनका मुद्दामा सहयोग गर्ने घोषणा हुनुले नेपालजस्ता कम विकसित मुलुकहरुलाई सहयोग पुग्ने विश्लेषण गरे । ‘एलडीसी मुलुकहरुले उठाएका मुद्दा जलवायु वार्ताहरुमा स्थापित हुन नसकिरहेका बेला शक्तिशाली मुलुकका प्रमुखले साथ दिन्छु भन्दा हाम्रा मुद्दाहरुले स्थान पाउन सक्छन्’ रेग्मीले भने ।


जलवायु परिवर्तनको मुद्दालाई नियालिरहेका ‘क्लिन एअर एसिया’का राष्ट्रिय संयोजक राजन थापाले ठूला मुलुकका प्रमुखको प्रतिबद्धताले जलवायु जोखिम न्यून गर्न आवश्यक पर्ने बजेट संकलन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘चीन पनि हिमाली र पर्वतीय मुलुक हो । त्यहाँ पनि हाम्रोजस्तै समस्या छ’ थापाको विश्लेषण छ, ‘विकसित मुलुकको यस्तो प्रतिबद्धताले नेपालले विश्वसामु अघि सारेका हिमाली र पर्वतीय मुद्दालाई स्थापित गर्न मद्दत पुग्छ ।’

प्रकाशित : आश्विन २७, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?