कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाको खानेपानीलाई १ अर्बभन्दा बढी सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सरकारले काठमाडौं चक्रपथ बाहिरको खानेपानी उत्पादन तथा वितरण प्रणाली सुधारका लागि १ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

उपत्यकाको खानेपानीलाई १ अर्बभन्दा बढी सहयोग

उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाका अनुसार चन्द्रागिरिदेखि गोदावरी क्षेत्रभित्र चट्टानमुनिको पानीको सम्भाव्यता अध्ययन, फर्पिङ डिप ट्युबवेल खनेर भैंसेपाटी क्षेत्रमा दुई करोड क्षमताको पानी प्रशोधन केन्द्र निर्माण र उपत्यकाका विभिन्न स्थानमा वितरण प्रणाली सुधार ल्याउन पानी एटीएम जडानका लागि चिनियाँ सहयोग आउने भएको हो ।


चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीमा समेत उपत्यकामा चिनियाँ सहयोगको महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनको विषय समेटिएको छ ।


निर्देशक राणाका अनुसार उपत्यकाको दक्षिणी भेगको चट्टानमुनि प्रशस्त पानी रहेको प्रारम्भिक अध्ययनमा देखिएको छ । ‘त्यो पानी निकाल्न सके मेलम्चीको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सोचाइ छ,’ उनले भने, ‘चट्टानमुनिको पानी पानी पिउनयोग्य रहेको विभिन्न अध्ययनले देखाएका छन् ।’


मेलम्चीको सुरुङ वा अन्य भौतिक संचनामा क्षति पुग्यो भने अन्य स्रोतबाट पानी आपूर्ति गर्न चन्द्रगिरि-गोदावरी क्षेत्रमा स्रोतको खोजी तथा अध्ययन भइरहेको छ । करिब ५ महिनाअघि दुइपटक चिनियाँ प्राविधिक टोली आएर सम्भाव्यता अध्ययन गरेर फर्कियो । ‘एउटा टोली ३ दिन, अर्को टोली करिब एक महिनाभन्दा बढी अध्ययन गरेर गइसकेको छ,’ उनले भने, ‘चट्टानमुनि पानी छ भन्ने चिनियाँ टोलीले पनि अनुमान गरेको छ । चिनियाँ सहयोगसँगै विस्तृतमा सम्भाव्यता अध्ययन गर्ने बाटो खुलेको छ । विस्तृत अध्ययन गर्न चाँडै अर्को चिनियाँ टोली आउँछ ।’


त्यो क्षेत्रमा पानी उत्पादन भए संकट परेका बेला त्यहाँको पानी उपयोग गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । ‘रिजर्भ गरेर राखिन्छ, अनि पुरानै वितरण प्रणालीबाट पानी घरघरमा अथवा अन्य माध्यमबाट पठाइन्छ,’ उनले भने, ‘उपत्यकामा मेलम्चीको विकल्पका रूपमा पानीको स्रोत हुनैपर्छ, ठूलै विपत्ति आइलागे पानी ल्याउन कहाँ जाने ?’ भविष्यका लागि पानी रिजर्भ गरेर राख्न पनि उक्त अध्ययन सुरु गरिएको उनले बताए । उपत्यकाका १८ वटा नगरपालिकामा पनि सामान्य अध्ययन सुरु गरिसकिएको उनले बताए ।


प्रकाशित : आश्विन २७, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?