२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपालमा रेल आउँछ : सी

दुर्गा खनाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।

नेपालमा रेल आउँछ : सी

नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ-काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको, बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यानकेन्द्रित भइरहेको बताए ।


‘अब प्राविधिक रूपमा कसरी ल्याउन सकिन्छ भन्नेतर्फ हामी केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति सीले भने । सन् २०१६, २०१८ र २०१९ मा रेलको विषयमा छलफल भइसकेकाले अब त्यही आधारमा सम्भाव्यता अध्ययनको चरणमा प्रवेश गरिएको उनले जानकारी दिए । दुई देशको संयुक्त विज्ञप्तिमा केरुङ-काठमाडौं रेललाई पोखरा हुँदै लुम्बिनी पुर्‍याउने सैद्धान्तिक प्रतिबद्धता जनाइएको छ ।


रेल ल्याउने प्रयासकै लागि यसअघि पूर्वसम्भाव्यता अध्ययन भएको राष्ट्रपति सीले बताए । पूर्वसम्भाव्यता अध्ययनअनुसार हिमालय पार गरेर रेल ल्याउन निकै चुनौतीपूर्ण देखिए पनि चीनले विकास गरेको प्रविधिले

त्यो चुनौती सामना गर्न सक्ने सीले विश्वास व्यक्त गरेका थिए ।


सिगात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्ग उच्च भेगमा पर्छ । त्यसको निर्माण भौगोलिक र प्राविधिक दृष्टिले निकै जटिल रहेको उल्लेख गर्दै राष्ट्रपति सीले भने, ‘तर जसरी पनि ल्याउने कोसिस गर्छौं ।’


नेपालसँगको ‘कनेक्टिभिटी’ बढाउन सडक सञ्जाललाई पनि प्राथमिकता दिने, तर त्यसका लागि चरणबद्ध रूपमा काम गरिने राष्ट्रपति सीले उल्लेख गरे । पहिलो चरणमा अरनिको राजमार्गको स्तरोन्नति र केरुङतर्फ टनेल निर्माणको काम गरिने उनले बताए । त्यसपछि मुस्ताङको कोरला नाका, संखुवासभाको किमाथांका हुँ'दै कर्णालीतर्फ नाका विकास गर्ने प्राथमिकता चिनियाँ राष्ट्रपतिले उल्लेख गरेका थिए ।


करिब ४० मिनेटका लागि निर्धारित नेपाल-चीन द्विपक्षीय वार्ता त्यसभन्दा निकै बढी चलेको थियो । त्यस क्रममा चिनियाँ राष्ट्रपतिले खुलस्त ढंगले आफ्ना धारणाहरू राखेका थिए ।


'टु प्लस वान’

चिनियाँ राष्ट्रपति सीले चीन र भारतबीच भइरहेको शान्ति एवं विकासको साझेदारीमा नेपाल पनि जोडिन सक्ने धारणा राखेका छन् । उनले आइतबारको द्विपक्षीय वार्तामा ‘टु प्लस वान’ अर्थात् ‘चीन-भारत प्लस नेपाल’को सन्दर्भ झिक्दै यस्तो धारणा राखेका हुन् ।


‘म यहाँ आउनुअघि भारतमा थिएँ । मैले त्यहाँ (नरेन्द्र) मोदीजीसँग नेपाल जाँदै छु भन्दा उहाँले शुभकामना दिनुभयो,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने, ‘मैले मोदीजीलाई भनें- नेपाल हामी दुई ठूला देशको छिमेकमा छ । नेपाल हाम्रो असल छिमेकी पनि हो । नेपालको विकास र समृद्धिमा हामी दुवैले सहयोग गर्नुपर्छ ।’


सी दक्षिण भारतको ममल्लापुरममा भारतीय प्रधानमन्त्री मोदीसँग ‘अनौपचारिक वार्तालाप’ सकेर नेपालको राजकीय भ्रमणमा आएका थिए । उनले नेपाली पक्षलाई भने, ‘तपाईंहरूले चाइना-इन्डिया प्लस नेपालको अवधारणाबाट फाइदा लिनुहोस् ।’


चीन र भारतबीच भइरहेका अनौपचारिक कुराकानीले दुई मुलुकलाई सकारात्मक परिणाम दिइरहेको राष्ट्रपति सीले उल्लेख गरेका थिए । चीन र भारत यो क्षेत्रमा ठूला देश भएकाले उनीहरूबीच कायम हुने स्थायित्वले शान्ति र विकासका लागि भूमिका खेल्ने उनको धारणा थियो ।


प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले विकास, शान्तिलगायतका विषयहरूमा नेपालले सबै मुलुकहरूसँग उत्तिकै मजुबत सम्बन्ध र मित्रता कायम गरेर अघि बढ्न चाहेको बताएका थिए । उनले चीनले पछिल्लो समय प्रविधि, पूर्वाधार विकासलगायत क्षेत्रमा गरेको प्रगति उल्लेखनीय भएकाले नेपालले केही बढी अपेक्षा गरेको राष्ट्रपति सीलाई सुनाए ।


तिब्बत र ताइवानमा कठोर

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको द्विपक्षीय वार्तामा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएका थिए । ‘हामी नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन दिँदैनौं,’ उनले थपे ।


यस्तो धारणा राख्दा चिनियाँ अधिकारीले सामान्यत: ‘धन्यवाद’ भनेर कुरा टुंग्याउने गर्थे । एक वर्षअघि प्रधानमन्त्री ओलीले बेइजिङमा यस्तै धारणा राख्दा राष्ट्रपति सीले धन्यवाद मात्र भनेका थिए ।


‘तर यसपटक सीको प्रतिक्रिया अनपेक्षित रह्यो,’ वार्तामा सहभागी एक मन्त्रीले भने, ‘चिनियाँ राष्ट्रपतिले पहिले यसका लागि धन्यवाद छ भन्नुभयो । अनि लिखित भाषण पढ्नुअघि मौखिकै रूपमा हात हल्लाई-हल्लाई कडा कुरा गर्नुभयो ।’


ती मन्त्रीका अनुसार,त्यस क्रममा सीले भने, ‘तिब्बत हिजो पनि चीनको अंग थियो, आज पनि चीनकै अंग हो । तिब्बत बौद्ध धर्मको एउटा केन्द्र हो र त्यहाँ जीवित बुद्ध रहन्छन् भन्ने विश्वास गरिन्छ । दलाई लामा जीवित बुद्धका प्रतीक हुन् । तर अहिलेका दलाई लामाले राजनीति गर्दै हिँडे । उनले जस्तो स्वायत्तताको कुरो गर्छन्, त्यो सम्भव छैन, स्वीकार्य पनि छैन ।’


त्यसपछि सीले ताइवानको प्रसंग झिके । भने, ‘ताइवान हिजो चीनको अंग थियो, आज पनि हो । केही शक्तिहरूले त्यसलाई स्वतन्त्र भन्न खोज्छन्, त्यो सम्भवै छैन । हामी आवश्यक पर्‍यो भने ताइवानमा बल प्रयोग गर्न पनि सक्छौं ।’


चीनको सरकारी समाचार संस्था ‘सिन्ह्वा’ले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याइरहेका बाह्य शक्तिलाई चिनियाँ जनताले निस्तेज पारिदिने धारणा राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसमक्ष राखेको जनाएको छ । सीले उक्त प्रतिक्रिया ताइवान र सम्भवत: हङकङका सन्दर्भमा दिएजस्तो देखिन्छ ।


सीले ताइवानपछि हङकङमा जारी आन्दोलनबारे अझ कठोर टिप्पणी गरेका थिए । ‘हङकङमा जुन अवाञ्छित कार्य भइरहेको छ, त्यसमा पश्चिमाहरूले पैसा सहयोग गरेका छन् । राजनीतिक तालिम दिएका छन् । र, त्यहाँ चीनको विरुद्धमा आन्दोलन गराएका छन्,’ उनले ‘पश्चिमा’ भन्ने शब्द स्पष्टसँग उल्लेख गर्दै भनेका थिए, ‘हुँदाहुँदा अहिले हङकङको स्वतन्त्रताको कुरासमेत गर्न थालेका छन्, त्यो हामीलाई कुनै हालतमा सह्य हुँदैन ।’

प्रकाशित : आश्विन २७, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?