३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चीन पर्यटनमा दोस्रो, हवाईमा पहिलो

दक्षिण एसियाका अधिकांश मुलुकमा चिनियाँ पर्यटकको संख्या पहिलो स्थानमा छ । नेपालमा भने भारतीयको संख्या बढी छ ।
सुरज कुँवर

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले डेढ महिनापछि सुरु हुन लागेको ‘नेपाल भम्रण वर्ष २०२०’ लाई मद्दत गर्ने उद्देश्यले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताएपछि सरोकारवालाहरू उत्साहित भएका छन् ।

चीन पर्यटनमा दोस्रो, हवाईमा पहिलो

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको राजकीय रात्रिभोजमा सीले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउने प्रतिबद्धता जनाएपछि उनको भम्रण पर्यटन क्षेत्रका लागि झन् महत्त्वपूर्ण भएको पर्यटनमन्त्री योगेश भट्टराईले कान्तिपुरसँग बताए । ‘भम्रण वर्ष मनाउने तयारीमा रहेका बेला उहाँले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताउनुले ठूलो महत्त्व राख्छ,’ भट्टराईले भने । सीले शीतलनिवासमा आयोजित द्विपक्षीय वार्तामा पनि यस्तै प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।


उनका अनुसार चिनियाँ राष्ट्रपतिले गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई प्रवर्द्धन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिबद्धता जनाएका छन् । दक्षिण एसियाका अधिकांश मुलुकमा चिनियाँ पर्यटकको संख्या पहिलो स्थानमा छ । चिनियाँ राष्ट्रपति सीले आफ्नो विशेष आलेखमार्फत ‘दक्षिण एसियामा चिनियाँ नागरिकको छनोटको पहिलो गन्तव्य नेपाल भएको’ बताइसकेका छन् ।


आगामी वर्ष चिनियाँ पर्यटकको संख्या ५ लाख पुग्ने प्रक्षेपण पर्यटनमन्त्री भट्टराईले गरेका छन् । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी आएका थिए । यीमध्ये सबैभन्दा धेरै भारतबाट २ लाख आएका थिए भने दोस्रो स्थानमा परेको चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ५३ हजार थियो । सन् २०१७ मा पनि चीन दोस्रो स्थानमै थियो । पर्यटनमन्त्री भट्टराईले केही महिनामै नेपाल र चीनबीच हवाई सञ्जाल वृद्धि हुन गइरहेकाले चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) का महासचिव सरिता लामाका अनुसार नेपाल आउने चिनियाँमध्ये अधिकांशले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवन घुम्न रुचि राख्ने गरेका छन् । ‘चिनियाँहरू समूहमा सिटी टुर गर्न रुचाउँछन्,’ उनले भनिन्, ‘पदयात्रामा उनीहरूले खासै रुचि नदेखाए पनि पुनहिलसम्म पुग्ने गरेका छन् ।’


नेपाल पर्वतारोहण संघका महासचिव टीकाराम गुरुङका अनुसार पछिल्ला दिन चिनियाँ नागरिकले नेपालका उच्च हिमाल आरोहणमा धेरै रुचि राख्न थालेका छन् । ‘सगरमाथा उनीहरूको मुलुकबाट पनि चढ्न सकिन्छ तर नेपालबाट आरोहण गर्नुमा बढी आकर्षण मानिन्छ,’ गुरुङले भने ।

उनका अनुसार चिनियाँहरू सगरमाथा, ल्होत्से, नुप्से, मकालु, कञ्चनजंघा र मनास्लु आरोहणमा धेरै रुचि राख्छन् । पर्यटन विभागका अनुसार हालै सम्पन्न वसन्तकालीन हिमाल आरोहणका बेला ६० चिनियाँले सगरमाथा आरोहणको अनुमति लिएका थिए भने ५४ जनाले आरोहण गरेका थिए ।


हवाईतर्फ चीनबाट सातामा कम्तीमा ६० वटा उडान हुने गरेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै उडान गर्नेमा चीन पहिलो स्थानमा छ । चीनका ५ वटा र हङकङको क्याथे ड्र्यागनसहित ६ वटा एयरलाइन्सले सातामा ५४ वटा उडान गर्दै आएका छन् । चीनपछि भारत दोस्रो स्थानमा छ ।

भारतका दुइटा एयरलाइन्सले भारतको दिल्ली, मुम्बई र कोलकाताबाट काठमाडौंमा सातामा ३६ वटा उडान गर्छन् । हाल काठमाडौंमा २५ वटा विदेशी र तीनवटा नेपाली एयरलाइन्ससहित २८ वटा कम्पनीले सेवा दिइरहेका छन् । यी एयरलाइन्सले दैनिक ४५ हाराहारी उडान गर्छन् ।


चीनले साउन ११ गते बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकमा नेपाली एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुन्मिङ, छेन्दु र सिआनमा उडान भर्नुका साथै अन्य आठवटा गन्तव्य आफैं रोज्ने स्वतन्त्रता दिइसकेको छ ।

चाँडै नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडान गर्ने घोषणा गरिसकेका छन् । पर्यटनमन्त्री भट्टराईले नेपाली वायुसेवाले उडान थालेपछि पर्यटकको संख्या बढ्ने कान्तिपुरसँग बताए ।

प्रकाशित : आश्विन २६, २०७६ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?