त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने

चिनियाँ विद्यार्थी नेपाली भाषा सिक्न नेपाल आउने छन् भने नेपाली विद्यार्थीले कन्फ्युसियस इन्स्टिच्युटअन्तर्गत दुई वर्ष नेपालमै र एक वर्ष चीन गएर चिनियाँ भाषा पढ्न पाउने छन् ।
गणेश राई

काठमाडौँ — नेपाल र चीनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणक्रममा आइतबार त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले चिनियाँ भाषा प्रवर्द्धन, अध्ययन, अनुसन्धानका निम्ति कन्फ्युसियस हेडक्वार्टरसित सम्झौता भएको जानकारी दिए । ‘एक वर्षभित्र कन्फ्युसियस इन्स्टिच्युट स्थापना भइसक्ने छ,’ उनले भने, ‘इन्स्टिच्युटअन्तर्गत चिनियाँ भाषा पढाउने, अध्ययन, अनुसन्धान गराउने र त्यसलाई प्राज्ञिक कोर्सका रूपमा अघि बढाउने सहमति भएको छ ।’


समझदारीअनुसार चिनियाँ विद्यार्थी नेपाली भाषा सिक्न नेपाल आउने छन् । त्यसैगरी नेपाली विद्यार्थीले कन्फ्युसियस इन्स्टिच्युटअन्तर्गत दुई वर्ष नेपालमै चिनियाँ भाषा पढ्ने छन् भने एक वर्ष चीनमा गएर पढ्न पाउने छन् । त्यसबापत लाग्ने सबै शुल्क चिनियाँ सरकारले व्यहोर्नेछ ।


नेपालमा औपचारिक रूपमा सन् १९६१ मा विश्व भाषा विद्यालय स्थापना भई चिनियाँ भाषा पठनपाठन सुरु भएको हो । विद्यालयलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गरी विश्वभाषा क्याम्पसका रूपमा सञ्चालन भइरहेको छ । विश्व भाषा क्याम्पसमा सुरुवाती कालमा कूटनीतिज्ञ, दूतावासका कर्मचारी, सैनिकलगायतलाई चिनियाँ भाषा सिकाउने गरिन्थ्यो । विश्वभाषा त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत आंगिक क्याम्पसका रूपमा रहेको छ ।


सन् २०१६ देखि काठमाडौं युनिभर्सिटी (केयू) मा पनि चिनियाँ भाषा पठनपाठन भइरहेको छ । केयू स्कुल अफ एजुकेसन र कन्फुसियस इन्स्टिच्युटको पहलमा ‘बीएड इन चाइनिज ल्याङग्वेज टिचिङ’ कार्यक्रम सुचारु छ ।


नेपाल र चीनबीचको प्राज्ञिक अध्ययन अनुसन्धान कार्य पछिल्लो दशकमा ह्वात्तै बढेको विज्ञले बताएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले चीनका विभिन्न विश्वविद्यालयसित प्राज्ञिक सहकार्य गरेसँगै गतिविधि बढेको हो ।


२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल र चीनबीच प्राज्ञिक अध्ययन अनुसन्धान कार्य शून्यप्रायः थियो । सन् १९८४–८९ सम्म तत्कालीन राजा महेन्द्रका ज्वाइँ कुमार खड्गविक्रम शाह सिनासको कार्यकारी निर्देशक थिए । उनैले सन् १९८५ मा सिनासअन्तर्गत सार्क डेस्क (विभाग), चाइना डेस्क, जापान डेस्क स्थापना गरेका थिए ।


पञ्चायती व्यवस्था ढलेसँगै ती डेस्क निष्क्रिय बने । ‘सुरुमा चाइना डेस्क प्रमुखको जिम्मेवारी प्राध्यापक ध्रुवकुमारले लिनुभएको थियो,’ सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की भन्छन्, ‘उहाँको अनुसन्धानमा ‘माओ एन्ड चाइनाज् फरेन फोलिसी प्रस्पेक्टिभ’ पुस्तक सन् १९८९ मा प्रकाशित छ । त्यसयता झन्डै २७ वर्ष सिनासले चीनबारे कुनै काम गर्न सकेन ।’


कार्कीले आफू सिनासको नेतृत्वमा आएपछि सन् २०१७ मा इन्डिया, जापान र चाइना डेस्क पुनः सक्रिय गराएको कार्कीले बताए । ‘सिनासको जर्नलमा इन्डिया, चाइना र जापानका प्रोफेसरलाई सल्लाहकार सदस्य बनाएर क्रियाशील भएका छौं,’ उनले भने, ‘चाइना डेस्क निर्माणपछि चीन र नेपालमा भएका कार्यशालामा नेपालको विषयमा आठवटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिएका छन् । ती छापिने क्रममा छन् ।’ सिनासले आउँदो वर्ष नेपाल–चीन सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको जानकारी कार्कीले दिए ।


सिनासले यो वर्ष आह्वान गरेको अनुसन्धान प्रस्तावमा चीनसँग जोडिएको दुईवटा विषय प्रस्ताव परेको छ । ‘दुई देश बीचको सम्बन्ध अध्ययन, अनुसन्धानको पक्षबाट पुनःजीवित राख्ने प्रयासमा छौं,’ कार्कीले भने । चीनका विभिन्न विश्वविद्यालयले त्रिविका विभिन्न अनुसन्धान केन्द्र र केन्द्रीय विभागहरूसँग समन्वय गरेर अध्ययन, अनुसन्धान, विद्यार्थी आदानप्रदान कार्यलाई अघि बढाएको छ । विद्यार्थी, शिक्षक/प्राध्यापक, कर्मचारीलाई चीन भ्रमण अवलोकन तथा कार्यशालामा सहभागी गराउने गरेको छ ।


नेपाल र चीन सम्बन्धबारे विद्यावारिधि गरेकी पूर्वसभासद लीला न्याइँच्याइँ नेपालमा चीनको उपस्थिति तीव्रगतिमा बढेको बताउँछिन् । ‘त्रिभुवन विश्वविद्यालय र चीनका विभिन्न विश्वविद्यालयले गरेका समन्वय सम्बन्धमात्र केलाउँदा चीनको उपस्थिति बढ्दो छ,’ उनले भनिन्, ‘चीनका विश्वविद्यालय सबैभन्दा सक्रिय देखिन्छन् । नेपालको चासो चीनमा भन्दा चीनको चासो नेपालमा रहेको देखिन्छ ।’ उनका अनुसार त्रिविअन्तर्गत नेपाल–चीनबीच प्राज्ञिक अनुसन्धान कार्य सन् १९८८ देखि ९७ सम्म शून्य रह्यो । १९९८ देखि २००७ सम्म ७ प्रतिशत थियो भने २००८ देखि २०१७ सम्म ह्वात्तै आँकडा बढेर १६ दशमलव ३१ प्रतिशत पुगेको उनले बताइन् ।


न्याइँच्याइँका अनुसार त्रिविसित विज्ञान, मौसम विज्ञान, भूगोललगायत विषयमा संयुक्त अध्ययन, अनुसन्धान हुने गरेको छ । चीनमै वनस्पति, च्याउ, केरा, कफी, लप्सी खेतीबारे अनुसन्धान कार्यमा नेपाली संलग्न छन् ।


‘चीनले बीआरआई रणनीति अघि सारेपछि विकासोन्मुख मुलुकमा सुरक्षा सूचनासम्बन्धी ल्याब स्थापना गर्ने कार्ययोजनामा छ,’ न्याइँच्याइँले भनिन्, ‘त्यसबाट नेपालले चीनबाट प्रत्यक्ष लाभ लिन सक्छ ।’ चीनले युनानको मिन्चोन युनिभर्सिटीमा नेपाल स्टडी सेन्टर र अन्य विश्वविद्यालयमा अन्तर्राष्ट्रिय भाषा केन्द्र स्थापना गरेको छ ।


चिनियाँ भाषा सिकाइका अलावा संस्कृति प्रचारप्रसार गतिविधिलाई जोड दिने गरिएको छ । अनुसन्धानमा संलग्न नयाँ पुस्ताका विद्यार्थीलाई चीनको सहयोगमा बनेका विकास निर्माण भएका कार्यको स्थलगत अवलोकन गराउने गरिएको न्याइँच्याइँले बताइन् । प्रकाशित : आश्विन २६, २०७६ २१:२४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विश्वभरिका तमू काठमाडौंमा

गणेश राई

काठमाडौँ — ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनका निम्ति विश्वभरका तमू (गुरुङ) जातिका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । ‘विश्वभरका तमू (गुरुङ) एकजुट होऔं, सम्पूर्ण तमू (गुरुङ)को आह्वान– एकता, अस्तित्व र पहिचानका लागि अन्तर्राष्ट्रिय तमू सम्मेलन’ नारासहित दुई दिने सम्मेलनमा जुटेका हुन् । सम्मेलनमा ३७ मुलुकका सात सयजना भन्दा बढी प्रतिनिधि सहभागी छन् । 

पूर्वराष्ट्रपति डा.रामवरण यादवले सम्मेलनको उद्घाटन गर्दै स्वदेश र विदेशमा रहेका सबैले देशलाई माग गर्न आग्रह गरे । ‘विभिन्न जाति, भाषा, संस्कृति भएर विविधता हुनु नै नेपाली पहिचान हो,’ यादवले भने, ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियशी भन्दैआएका छौं । तपाई देशलाई माया गरिदिनुहोस् । समावेशी राष्ट्र निर्माणका निम्ति मेरै कार्यकालमा संविधान जारी भएको छ । यदि यो संविधान अपूरो भएमा राजनीतिक दल र सरकारले सच्याएर अघि बढ्न सक्छ ।’

पूर्वराष्ट्रपति यादवले नेपालको इतिहासदेखि वर्तमानसम्म गुरुङ जातिको योगदान अतुलनीय रहेको बताए । ‘गुरुङ समुदायको परम्परामा महिला र पुरुषको स्थान समान छ,’ एउटा पाँग्राले मात्र बयलगाडा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘त्यसैले गुरुङ समाजले महिला दिदीबहिनीलाई सँगसँगै अघि बढाउन शिक्षालाई विशेष जोड दिनुहोस् । आधुनिक समाजसित जोड्न सफल हुनोस् ।’

प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन २०१९ मूल आयोजक समितिका संयोजक तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले ‘एकता, अस्तित्व र पहिचान’ सम्मेलनको मूल सार रहेको बताए ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले संसारका गुरुङहरू एकतावद्ध हुनुपर्ने बताए । ‘हामी संसारभरिका तमूहरू एकतावद्ध हुनसके जुनसुकै मुलुकमा हाम्रो उपस्थिति संख्यात्मकभन्दा गुणात्मक महत्व राख्ने छ,’ गुरुङ समाज तथा परिवारको आधा हिस्सा महिलाको हुने उल्लेख गर्दै उनले भने, ‘संस्कृति परम्पराप्रति हाम्रो घमण्डको पक्ष भनेको हाम्रो परिवार ५० प्रतिशत महिला र ५० प्रतिशतमात्र पुरुष हो । त्यसैले हामी एकतावद्ध भएर यो परम्परा कायम राख्यौं भने हाम्रो पहिचानमा सहयोग पुग्नेछ ।’

सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङले तमू संस्कृति, भाषा र खेमा लिपि पुस्तान्तरणका निम्ति कक्षा १२ सम्म पठनपाठन गराउँदैआएको बताए । ‘हजारौं वर्ष नेपाली भनेरमात्र चिनियौं,’ तमू भूमिमा रहेका दाजुभाइसित भेट्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘अब हामी तमू जातिको भाषा, लिपि, संस्कृतिलाई हिमाली राज्य सिक्किमको एक पहिचान कडीका रूपमा विकास गर्दैछौं ।’ सिक्किम विश्वविद्यालयसितको सहकार्यमा शब्दकोश निर्माण भएको र स्नातक तहमा पठनपाठन तयारी रहेको बताए ।

पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले तमू भाषा, संस्कृति, धार्मिक परम्परा, धर्मग्रन्थ निर्माण महत्वपूर्ण रहेको बताइन् । ‘तमू भाषा, संस्कृति, तमूवेद निर्माण कार्यको प्रवर्द्धन गर्दै युवा पुस्तालाई हस्तान्तरण गर्न जरुरी छ,’ ८० वर्षीया घलेले भनिन्, ‘यो अन्तर्राष्ट्रिय सम्मेलनले तमू पहिचान हराउन नदिने उपाय पहिल्याउनेमा विश्वस्त छु ।’
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विद्यमान संविधानले आदिवासी जनजाति, उत्पीडित समुदायका निम्ति विभेदकारी रहेको बताए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले सूचिकृत ५९ आदिवासी जनजातिलाई सरकारले प्राथमिकता दिन नसकेको बताए ।
त्यस अवसरमा समाजलाई विशेष योगदान पुर्‍याएका लालकाजी गुरुङ र शेष घलेलाई कदरपत्र प्रदान गरिएको थियो । साथै, खेमा लिपिका अभियन्ता भीम गुरुङ लिखित ‘तमु ताँ पोंले’ (गुरुङ कुरा बोलौं) पुस्तक सार्वजनिक गरिएको थियो । सम्मेलनको पहिलो दिन प्रत्येक देशका प्रतिनिधिले संस्थागत परिचय प्रस्तुत गरेका थिए । त्यसैगरी टेकबहादुर गुरुङले ‘तमू जातिको उत्पत्तिको इतिहास’, छाम्पामेघी लामा गुरुङले ‘तमू जातिको संस्कार तथा संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : आश्विन २४, २०७६ १७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×