सहअस्तित्वमा तमु सम्मेलनको जोड

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलो अन्तर्राष्ट्रिय तमु सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले विभिन्न मुलुकमा रहेका तमु (गुरुङ) हरूबीच भावनात्मक एकता, सहअस्तित्व, पहिचान र आर्थिक समृद्धिमा जोड दिएको छ । 

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को संयोजनमा काठमाडौंमा सम्पन्न दुईदिने सम्मेलनबाट जारी घोषणापत्रमा तमु समुदायको आदिम भूमिको रक्षा र अधिकारका लागि एकताबद्ध हुने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

सम्मेलनले तमु समुदायको इतिहास, भाषा, धर्म, संस्कृति, परम्परागत मूल्यमान्यता, भौतिक, अभौतिक, पुरातात्त्विक सम्पदाको खोज अनुसन्धान, परम्परागत ज्ञान, सीप र पेसाको संरक्षण, संवर्द्धन र विकासमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


तमुको खेगी लामा, पच्यु, घेब्रीद्वारा पालना भइआएका मौलिक संस्कार तथा संस्कृतिमा सुधार गर्दै एकरूपता ल्याउने, कला, साहित्य, शिक्षाको विकासमा युवापुस्तालाई पुस्तान्तरण गर्ने घोषणापत्रमा उल्लेख छ ।


संरक्षण र विकासका साथै पहिचानका लागि विश्वमा रहेका तमु संस्थाहरू निरन्तर क्रियाशील हुनुपर्ने भनिएको छ । सम्मेलनले अन्तर्राष्ट्रिय तमु परिषद् गठन गर्दै प्रत्येक तीन वर्षमा तमु सम्मेलन गर्ने घोषणा गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?