शिक्षक बन्न अब विषयगत परीक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णांकको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो । 

शिक्षक बन्न अब विषयगत परीक्षा

एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावलीको संशोधनमा उल्लेख छ । यसअघि स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षामात्र लिइन्थ्यो ।

दुई चरणको परीक्षामा सफल उम्मेदवारले मात्र २५ पूर्णांकको अन्तर्वार्तामा सहभागी हुन पाउने शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । लोकसेवाले स्थायी कर्मचारी नियुक्ति गर्न विभिन्न चरणमा परीक्षा सञ्चालन गर्छ । सक्षम शिक्षक छनोटका लागि सामान्य र विषयगत गरी दुई चरणमा परीक्षा सञ्चालन गर्न लागिएको काप्रीले बताए ।


नियमावली स्वीकृत भइसकेकाले स्थायी शिक्षक छनोटका लागि लिइने आगामी परीक्षा २ सय पूर्णांकको हुने आयोगले जनाएको छ । नियमावली संशोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गरिएको छ । जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरूले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मूल्यांकन गर्दै आएका थिए । संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रबन्ध गरिएको छ । विभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ हुँदै आयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ ।


आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षासमेत विषयगत रूपमा सञ्चालन गर्न थालेको छ । यसअघि तहगत रूपमा परीक्षा हुँदै आएको थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा लिइने परीक्षालाई विशिष्टीकृत गरेर विषयअनुसार लाइसेन्स दिन लागिएको हो ।


लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि आयोगको परीक्षामा उम्मेदवार बन्न पाइने प्रावधान छ । अस्थायी र करारमा शिक्षक नियुक्ति गर्दा पनि लाइसेन्स अनिवार्य छ । लाइसेन्सका लागि प्रथम पत्र र दोस्रो पत्रमा गरी एक सय पूर्णांकको परीक्षा सञ्चालन गरिएको हो । पहिलो पत्रमा सम्बन्धित विषय र शिक्षण कला गरेर ६५ पूर्णांकमा परीक्षा सञ्चालन गर्ने पाठ्यक्रम स्वीकृत भएको थियो । दोस्रो पत्रमा भने पेसागत ज्ञानसम्बन्धी ३५ पूर्णांकको परीक्षा लिइएको हो । साढे २ लाख परीक्षार्थीले विषयगत लाइसेन्सका लागि परीक्षा दिएका छन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?