कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

टोखा-छहरे सुरुङमार्ग बन्ने खबरले स्थानीयमा उत्साह

नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौं छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ

(काठमाडौं) र (नुवाकोट) — चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरूले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्नेर् जोड दिए । 

टोखा-छहरे सुरुङमार्ग बन्ने खबरले स्थानीयमा उत्साह

सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेमा शुक्रबार कान्तिपुर संवाददाता पुग्दा स्थानीयले सुखी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रूप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नगरपालिका वडा नं १, झोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । ‘यही ठाउँमा तीन पटक चिनियाँ र नेपाली टोलीले आएर हेरेका हुन्,’ उनले कान्तिपुरलाई भने, ‘चिनियाँ राष्ट्रपति आएका बेला सम्झौता भएर सुरुङ मार्ग बन्छ भन्नेमा हामी ढुक्क छौं ।’


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत भदौ २८ गते यही क्षेत्रमा बालमैत्री पार्क शिलान्यास गर्दा सुरुङ मार्ग निर्माण हुने बताएका थिए । त्यतिबेला प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वारबाट करिब ६ सय मिटर पश्चिममा पर्ने बौडेश्वर (टोखा) झरना नजिकै बालमैत्री पार्क शिलान्यास भएको थियो । ‘सुरुङ मार्ग जतिसक्दो छिटो बनोस् भन्ने चाहेका छौं,’ टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले भने, ‘यो हाम्रो गौरवको विषय हो, डीपीआर बनाएर छिटो निर्माण थाल्नुपर्छ ।’ नगर प्रमुख अधिकारीले केरुङ राजमार्गका लागि यो छोटो दूरी र ऐतिहासिक बाटो भएकाले पनि टोखा–छहरे सुरुङ मार्गको ठाउँ उपयुक्त भएको बताए । ‘अहिलेसम्म यहाँ खासै केही विवाद पनि देखिएको छैन,’ उनले भने ।


प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करिब साढे ७ किमि उत्तरमा छ । यो ठाउँ झोरस्थित बौडेश्वर माविबाट करिब आधा किमि उत्तर र टोखा–छहरे सडक खण्डबाट करिब आधा किमि दक्षिणमा पर्छ । स्थानीय व्यक्तिको जग्गा रहेको यो ठाउँमा अहिले खोल्सा, रूख, झाडी छ । आसपासमा खेत र पातलो संख्यामा घर छन् । ‘सुरुङ बनाउने भनेको ठाउँमा १०–१२ जनाको जग्गा पर्छ,’ स्थानीय बासिन्दा तथा बौडेश्वर माविका प्रधानाध्यापक उत्तम अधिकारीले भने, ‘टोखा–छहरे बाटो सुरु भएसँगै सुरुङ मार्ग बन्ने हल्ला थियो, अब साकार हुने आशामा छौं ।’


स्थानीय कपडा व्यवसायी प्रभुराम श्रेष्ठले ३ वर्ष पहिले नै आफूले यहाँ सुरुङ मार्ग निर्माण हुन्छ भन्ने सुन्दै आएको बताउँदै अब निर्माण हुन्छ भन्ने लागेको बताए । स्थानीय चिया पसले सानु अधिकारीले १५ वर्षअघि नै सुरुङ बनाउनेबारे सुनेको बताए । ‘अब त बन्ला नि,’ उनले भने ।


राजधानी छिट्टै

चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् । शिवपुरी गाउँपालिका–८ का खन्याचौरका स्थानीय किसान पशुपति न्यौपानेले भने, ‘सुरुङ मार्ग छिटो बने छोराछोरीलाई पढाउन कोठा लिएर काठमाडौंमा राख्नु पर्दैन । बिरामी भए छिट्टै अस्पताल पुगिन्छ । तरकारी काठमाडौंको बजारमा लान सजिलो हुन्छ ।’ सानो होटल र कपडा पसल चलाउँदै आएका लिखुगाउँपालिकाका ६ छहरेका राजाराम सिलवाल सुरुङ मार्ग निर्माणले व्यवसाय बढ्ने बताउँछन् । रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले व्यापार व्यवसाय र कलकारखाना खुल्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाको बुझाइ छ । ‘सुरुङ बन्ने हल्लाले आर्थिक कारोबार बढेको छ,’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सुरुङ मार्ग निर्माणपछि ग्रामीण पर्यटनको विकास हुने विश्वास व्यक्त गरे ।


चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको छ । घुम्ती धेरै छन् । सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ । चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमि छ ।


सुरुङमार्ग कति लामो ?

टोखा–छहरे सुरुङ मार्गको पूर्वसम्भाब्यता अध्ययनबाहेक अरू केही नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले जनाएका छन् । यसको दूरी कति हुने भन्ने पनि यकिन छैन । मन्त्रालय र विभागका अधिकारीहरूले अध्ययनकै क्रममा रहेकाले अहिले औपचारिक रूपमा भन्न नसकिने बताए । टोखा–छहरे सुरुङमार्गको दूरी ४ देखि ७ किमिसम्म हुन सक्ने मन्त्रालय र विभागका अधिकारीहरूको भनाइ छ । मन्त्रालयका एक अधिकारीले भने, ‘सुरुङ मार्ग आफैंमा जटिल संरचना हो, चौबिसै घण्टा बिजुली र स्वच्छ हावा चाहिन्छ । सुरक्षाको प्रबन्ध पनि उत्तिकै गर्नुपर्छ । यो सबै अध्ययन हुन बाँकी छ ।’


सडक विभागले निर्माण लागत बढे पनि दीर्घकालमा सुरुङ मार्ग सस्तो र समयको बचत हुन सक्ने भएकाले यसैमा जोड दिनुपर्ने जनाएको छ । विभागले विगतमा प्रारम्भिक अध्ययन गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा सम्भाब्यता अध्ययन गर्न कार्यक्रम र बजेट छुट्याएको जनाएको छ । छहरे–टोखा सुरुङ मार्गको निर्माण हुने विन्दु नुवाकोटको छहरेदेखि साढे ३ किमि दक्षिण पूर्व घट्टेखोलामा पर्छ । उक्त स्थान जंगलले ढाकेको छ । अलिमाथि २/३ घर छन् । त्योभन्दा माथि काफलडाँडा बस्ती छ । उक्त विन्दुमा चट्टानी खोल्सा छ । अलि तल खेत, बारी र बस्ती छन् । ३ किमि कटेपछि छहरे र थानसिङको मैदानी फाँट छ ।


विदुर सदरमुकामदेखि २० किमि दूरीमा प्रारम्भिक अध्ययन गरिएको उक्त विन्दुमा पुग्न सकिन्छ । छहरे–टोखा सुरुङ मार्गको नाम दिइए पनि सम्भाव्यता अध्ययन गरिएको ठाउँ शिवपुरी गाउँपालिका ८ नम्बर वडामा पर्छ ।

प्रकाशित : आश्विन २६, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?