चिनका राष्ट्रपतिको भव्य स्वागत

जगदीश्वर पाण्डे

काठमाडौँ — राष्ट्रपति सी चिनफिङ शनिबार पौने ५ बजे एयर चाइनाको विशेष विमानबाट काठमाडौं उत्रिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ–वेमै पुगेर विशेष स्वागत गरेकी थिइन् । अति विशिष्ट कक्षको प्रवेशद्वारमा पञ्चकन्याले फूलको माला दिएर स्वागत गर्दा सी निकै प्रफुल्लित देखिन्थे ।

चिनका राष्ट्रपतिको भव्य स्वागत

त्यसपछि नेपाली सेनाले सम्मानगारत (आर्ड अफ अनर) अर्पण गरेको थियो । उनको सम्मानमा २१ तोपको सलामी दिइयो । लगत्तै सीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरे । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङफे, सुरक्षा निकायका प्रमुखहरू, मुख्य–सचिव लोकदर्शन रेग्मीसहित सचिवहरू, संवैधानिक निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।



अति विशिष्ट कक्षबाहिरै नेपाल प्रहरीको टोलीले विभिन्न भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेको थियो, जसलाई सीले उत्साहपूर्वक हेरेका थिए । उनले झाँकीलाई इंगित गर्दै राष्ट्रपति भण्डारीलाई प्रतिक्रियासमेत दिएका थिए । स्कुले बालबालिकाले सीलाई चिनियाँ भाषामै बोलेर स्वागत गरेका थिए । प्रत्युत्तरमा सीले हात उठाउँदै धन्यवाद दिएका थिए । अति विशिष्ट कक्षमा छिरेलगत्तै सी सोल्टी होटलका लागि निस्किए । सडकका विभिन्न चोकमा नेपाली नागरिकले भव्य स्वागत गरेका थिए । झाँकीसमेत प्रस्तुत गरिएको थियो । सीको भ्रमण टोलीमा ९० भन्दा बढी प्रतिनिधि छन् । शनिबार सी नेतृत्वको टोली दुइटा विमानमा आएको हो । यसअघि नै अन्य प्रतिनिधि नेपाल आइसकेका थिए ।


चीनका राष्ट्रपतिबाट २३ वर्षको अन्तरालमा नेपाल भ्रमण भएको हो । यसअघि तत्कालीन राष्ट्रपति जियान जेमिनले सन् १९९६ डिसेम्बर ५–६ मा नेपाल भ्रमण गरेका थिए । त्यो बेला चीन सन् १९७९ बाट अंगालेको उदार अर्थतन्त्रलाई रोडम्याप बनाएर अघि बढेको थियो । एक्काईसौं शताब्दीको सुरुवातसँगै चीन विश्वको ठूलो आर्थिक शक्ति बन्ने होडमा दौडिरहेको छ । अहिले चीन त्यो सूचीमा अमेरिकापछि दोस्रो नम्बरमा छ ।


मेनुमा कुरिलो र क्वाँटी

राष्ट्रपति भण्डारीले शनिबार बेलुकी राष्ट्रपति सी बसेकै सोल्टी होटलमा राजकीय भोज (स्टेट ब्यांक्वेट) आयोजना गरिन् । भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको थियो । सीलाई सुरुआती खानाका रूपमा बारा, म:म: र लुक्लाको सिमीसँगै साँधेको भटमास राखिएको थियो । सुप मेनुमा कुरिलो र क्वाँटीको रस राखिएको थियो ।


मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको थियो । साथमा इलामको चिया र गुल्मीको कफी पनि राखिएको थियो । भोज सुरु हुनुअघि राष्ट्रपति भण्डारीले पहिलो सम्बोधन गरिन् । त्यसपछि चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरे । सम्बोधनका अन्त्यमा दुवैले ‘टोस्ट’ गरेका थिए । त्यसपछि भोज औपचारिक रूपमा सुरु भएको थियो ।


प्रकाशित : आश्विन २६, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?