राष्ट्रपति सीको कारकेड सवारीमा सडक पेटीबाट आवतजावत गर्न रोक

मातृका दाहाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका बेला सर्वसाधारणले दायाँ–बायाँ सडक पेटी समेत प्रयोग गर्न नपाउने भएका छन् ।

राष्ट्रपति सीको कारकेड सवारीमा सडक पेटीबाट आवतजावत गर्न रोक

राष्ट्रपति सीको सुरक्षा व्यवस्थापका लागि भन्दै प्रहरीले ‘कारकेड सवारी’ अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै कार्यक्रमस्थल सोल्टी होटलको सडक पेटी प्रयोगमा रोक लगाइएको हो ।


त्यस्तै सोल्टीबाट नेपालका समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास जाँदा र कार्यक्रमस्थल फर्किदा समेत सडक पेटीमा सुरक्षाकर्मी बाहेक अरुलाई प्रवेश दिइने छैन । कारकेड सवारीका बेला यी रुटका सडक दायाँ–बायाँ सडक पेटी तथा किनारमा नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकायका जनशक्ति परिचालन भइसकेका छन् ।


कारकेड सवारी रुटमा पर्ने अग्ला भवन, पुल, घुम्ती लगायतमा पनि विशेष सुरक्षा तैनाथी गरिएको छ । राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका क्रममा आजै साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदै छन् ।

भारतको राजकीय भ्रमण सकेर राष्ट्रपति सी नेपाल आउन लागेका हुन् । सी एयर चाइनाको जहाजबाट नेपालको राजकीय भ्रमणका लागि चेन्नईबाट नेपाल आउने क्रममा छन् । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कारकेड सवारी अवधिभर तोकिएको ठाउँमा बसेर स्वागत गर्न बाहेकलाई आफूखुसी ओहोरदोहोर गर्न नपाइने बताए ।


‘राष्ट्रपति सीको कारकेड सवारीका बेला तोकिएको निश्चित स्थानमा बसेर स्वागत गर्ने बाहेकलाई निश्चित समयका लागि सडकपेटीबाट आवातजावत गर्न नपाइनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ,’ एसएसपी ढकालले भने, ‘सवारी सकिएपछि भने आवातजावतमा कुनै रोकतोक हुने छैन ।’

सडक पेटी सुरक्षा व्यवस्थापनका लागि काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सुरक्षा जनशक्ति तैनाथ भएको छ ।

प्रकाशित : आश्विन २५, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?