३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिनियाँ 'फस्ट लेडी' को सगरमाथा साइनो

लक्ष्मी लम्साल

बेइजिङ — विश्वको सर्वोच्च शिखर सगरमाथाप्रति अनुराग प्रदर्शन गर्न र सगरमाथाको मैत्री, करूणा र साहसिक मुद्रा प्रस्फुटन गर्न यो चिनियाँ गीत काफी छ।

चिनियाँ 'फस्ट लेडी' को सगरमाथा साइनो

तिमी मानिसको हृदयमा धुरी बनेर रहन्छौ

तिमी नीलो आकाश मुन्तिर उभिएर रहेका छौ

तिमी न्यानो किरणले ‘कशाङ’ फूल सुसार्दछौ

तिमी हिमालयहरूमा चम्किलो चाँदनी छरिदिन्छौ

सगरमाथा (चुमुलाङ्मा)

सगरमाथा (चुमुलाङ्मा)

पठारभूमिमा रहेको सगरमाथा प्रियजनका सपनामा बसेको छ भने कतिलाई मातृवात्सल्यको न्यानो पनि दर्शाएको छ। विशेषगरी सगरमाथाले नेपाल र चीनबीच कहिल्यै नहल्लिने मैत्री पिल्लरको काम गरिरहेको छ। यसको अटल स्वभावले नेपाल र चीनबीचको युगौंदेखिको मैत्री सम्बन्धलाई प्रतिविम्वित गरिरहेको छ।


विश्वका ६ दर्जनजति भाषामा प्रसारण हुने सबैभन्दा ठूलो रेडियो स्टेसन चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को बेइजिङस्थित स्टुडियोहरूमा यो गीत प्रायः घन्किरहेको हुन्छ। विभिन्न भाषाका रेडियो सेवा समापनको संकेत स्वरूप यो गीत ‘सिग्नेचर ट्युन’को रूपमा गुञ्जिन्छ। यो त्यही गीत हो जो चिनियाँ प्रथम महिला अर्थात् सी चिनफिङकी अर्धाङ्गिनी फङ् ली युआनले गाएकी हुन्।


चिनियाँ राष्ट्रपति सी जो यतिखेर विश्वस्तरीय नेताका रूपमा आफ्नो छवि बनाइरहेका छन्, उनकी अर्धाङ्गिनी भएर मात्रै होइन, फङ् ली युआन बाह्य तथा भित्री सुन्दरताका कारण विश्वका प्रथम लेडीहरूमध्ये निकै ‘चार्मिङ’ देखिन्छिन्। कुनै पनि महिलाको सौन्दर्य यथार्थ हो/होइन भन्ने छुट्याउन चीनमा एउटा परम्परागत पोशाक पहिरिनुलाई महत्वपूर्ण मानिन्छ।

‘छि फाउ’ नाम गरेको पोशाकबाट चिनियाँ महिलाको वास्तविक सुन्दरता झल्किने बताइन्छ। निकै पुरानो पोशाक भएतापनि वर्तमान युगका अझै पनि कतिपय परिवारले केटी हेर्न जाँदा छिफाउ पोशाकको माग गर्दछन्। नयाँ पुस्ताका केटाकेहीको प्रथम ‘डेट’मा पनि कतिपयले छिफाउ प्रयोग गर्दछन्। सन् १९८७ सेप्टेम्बरमा ब्लाइण्ड टेटिङ मार्फत् सी चिनफिङसँग विवाह गरेकी फस्ट लेडी अझै पनि परम्पराग पोशाकको प्रचार गर्छिन् र आफ्नो बाह्य सुन्दरता पुष्टि गर्न छिफाउ लगाएर राजकीय भ्रमणहरूमा सामेल हुने गरेको देखिन्छ।


मानिसले झट्ट हेर्दा बाह्य सुन्दरतालाई महत्व दिए तापनि चिनियाँ प्रथम लेडीभित्रको भित्री सौन्दर्य पनि अथाह छ। सन् १९४९ मा नयाँ चीन स्थापना भए यता कुनै पनि प्रथम महिलाले राष्ट्रपतिसँगै खुल्ने र यत्तिको पहिचान स्थापित गर्ने मौका पाएका थिएनन्। कम्युनिष्ट मुलुक चीनमा महिलाको फेसन र आधुनिकताको समर्थन गर्ने तथा बाह्य दुनियाँसँग सम्पर्क राख्न रूचाउने फस्ट लेडी नै फङ ली युआन हुन्।


सन् २०११ मा एचआईभी/एड्स तथा क्षयरोगबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य संगठनको सद्रभावना दूत भए यता फङ ली युआन निरन्तर यसमा लागिपरेकी देखिन्छिन्। चीनभित्र पनि उनी क्षयरोग रोगथाम तथा नियन्त्रणाका लागि राष्ट्रिय दूत छन् भने विद्यालय तथा महिला सम्बन्धित संघसंस्थाका कार्यक्रमहरूमा सक्रिय भइरहन्छिन्।

एघारौ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति सदस्य भएकी उनी राजनीतिक रूपमा पनि सक्रिय महिला हुन्। यसअघि चीनको सांस्कृतिक क्रान्ति सफल पार्न सैन्य क्षेत्र र लोक गायिकाका माध्यमबाट योगदान गरेकी उनी समाजसेवी र हाल ‘छिफाउ डिप्लोमेसी’ प्रवर्द्धकका रूपमा चर्चामा आउने गर्छिन्।

चीनमा अध्ययनरत विदेशी छात्राहरू तथा महिलासँगका गतिविधिमा पनि उनको हेलमेल चलिरहेको हुन्छ। नजीकको छिमेकी मुलुक नेपालप्रतिको उनको ममता वा सद्भाव के कस्तो छ, खासै प्रकाशमा आएको छैन। तर उनले सगरमाथालाई केन्द्र बनाएर गाएको गीत अधिकांश चिनियाँको हृदयमा गुञ्जिएको छ र चिनियाँ संगीतप्रति चासो राख्ने जो कोही नेपालीको पनि आत्मीयताको सेतु हो।


गायन पेशाका साथै राजनीतिक जीवनलाई पनि सँगसँगै लगेकी फङ ली युआन अध्ययनशील भएकैले बौद्धिक उचाइ पनि राख्दछिन्। सी चिनफिङ राजनीतिक शक्तिमा आएसँगै सहयात्रीका रूपमा अघि बढेकी उनले हाल मञ्चमा पाइला नराखेपनि उनका दर्जनौं गीतहरू लोकप्रिय र अझै पनि ताजा जस्ता लाग्छन्।

तिनै गीतले चिनियाँ जीवन, मातृभूमिप्रतिको प्रेम र कर्मनिष्ठाको वकालत गरेका छन्। उच्च बिटमा गीत गाउन सक्ने उनको स्वर निकै सुरिलो छ। सगरमाथाजस्तै उच्च स्वरमा गाइएको चुमुलाङ्मा बोलको गीत सुन्ने चिनियाँ र नेपालीका लागि यो मैत्री गीत हो। सन् २००६ साल फेब्रुअरी मध्यतिर यो गीत रेकर्ड भएको हो।

नेपाल र चीनको मितेरी पुलको भूमिकामा यस गीतले सगरमाथा भन्ने बित्तिकै नेपालीहरूको छाती गर्वले फुलाउँछ भने चुमुलाङ्मा भन्ने बित्तिकै चिनियाँहरूको धड्कन बढाउँछ। उनकै गीतले भन्छ-


‘तिमीलाई सेतो खादा पहिराइदिन चाहन्छु, प्रिय सगरमाथा!’

प्रकाशित : आश्विन २५, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?