कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइते भन्छन्- ‘रूखमा अड्किएर बाँचें’

कोचाकोचले दुर्घटना, ११ को मृत्यु, १०० घाइते
अनिश तिवारी

(सिन्धुपाल्चोक) — क्षमताभन्दा बढी यात्रु लिएर सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौं गइरहेको बस शुक्रबार इन्द्रावती गाउँपालिकाको तिर्खुमोडमा सडकबाट खस्दा ११ जनाको मृत्यु भएको छ । सय जना घाइते छन् । 

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइते भन्छन्- ‘रूखमा अड्किएर बाँचें’

हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस कच्ची सडकबाट डेढ सय मिटर तल खसेको थियो । मोडबाट पल्टेको बस तल्लो सडकमा बजारिँदै झरेको थियो । दसैं मनाएर फर्केका यात्रु लिएर बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस ९ बजेर ५५ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । ‘३४ सिटको बस ओभरलोडकै कारण पार्टपुर्जाले काम गर्न नसकेर कच्ची सडकको मोडबाट तल खसेको देखिन्छ,’ घटनास्थलबाट चौतारा फर्किएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले भने । दुर्घटनामा चालक केदार श्रेष्ठको पनि मृत्यु भएको छ ।


प्रहरीका अनुसार घटनास्थलमा ५ जना, अस्पताल लैजाने क्रममा बाटोमा १ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो । इन्द्रावती गाउँपालिका–९ का जुनादेवी लम्साल, विनोद लम्साल र हीरा श्रेष्ठ, इन्द्रावती–३ का सुवास तामाङ, इन्द्रावती–४ का अनुज तामाङ, इन्द्रावती–५ की मीना मगर, इन्द्रावती–६ का सुमित पुर्कोटी, इन्द्रावती–१० का रितेश आचार्य, बनेपा नगरपालिका–१० का केदार श्रेष्ठ, संगीता मिजार, बाह्रबिसे–९ की सुमिता श्रेष्ठको मृत्यु भएको छ ।


टायरको हावा फुस्किरहेको अवस्थामा चालकले बस मोड्न खोज्दा ब्रेक फेल भएर पल्टिएको प्रत्यक्षदर्शी सुवन गिरीले बताए ।


‘गाडीको छत, भित्र उभिएर, ढोकामा झुन्डिएर खचाखच यात्रु राजधानी आउँदै थिए । ठूलो आवाज आएपछि दौडदै हेर्न जाँदा त दुर्घटना भइसकेछ,’ उनले भने, ‘कोही कराइरहेका र कोही च्यापिएका थिए । सबै उद्धारमा जुट्यौं ।’ दुर्घटनास्थल अरनिको राजमार्ग पाँचखाल जिरो किलोबाट सिपाघाट बजार, इन्द्रावती पुल तरेर भीमटार हँ‘दै कच्ची बाटो जानुपर्छ ।


दुर्घटनामा घाइते भएकामध्ये ७५ जनालाई धुलिखेल अस्पताल लगिएको थियो । तीमध्ये ५ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते ७० मध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । ६७ जनाको उपचार भने भइरहेको छ । तीमध्ये ६ जना गम्भीर रहेको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. दीपक श्रेष्ठले बताए ।


बनेपाको शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा एक बालकसहित १७ जनाको उपचार भइरहेको छ । यसमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइतेमा १९ वर्षीया मञ्जु तामाङ, २२ वर्षीया अञ्जु लामा र उमेर नखुलेकी सल्फु श्रेष्ठ छन् । उनीहरूलाई घटनास्थलबाट शुक्रबार दिउँसो १ बजे हेलिकप्टरमार्फत ट्रमा सेन्टर लगिएको हो । घाइते २१ जनालाई नेपाल आर्मीको एमआई १७ ले १२ जना र एभरेस्ट एयरको हेलिकप्टरले ३ पटक गरी नौ जनालाई घटनास्थलबाट उद्धार गरेको थियो ।


दुर्घटना भएको सूचना पाएलगत्तै चौतारा, मेलम्ची, नवलपुर र भीमटारबाट प्रहरी उद्धारार्थ खटिएका थिए । दुर्घटना स्थलबाट चारवटा शव निकालेलगत्तै आत्तिएका स्थानीयले सुरक्षाकर्मीलाई उद्धारकार्यमा दिनभर सघाए । नेपाल आर्मीको एमआई १७ सँगै आएका प्रदेश नं. ३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलालसहित वडाध्यक्ष, सदस्य उद्धारका लागि पुगेका थिए । इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ भने आफ्नै खर्चमा एभरेस्ट एयरको हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए ।


ट्रमा सेन्टरमा रहेका घाइतेको टाउको, खुट्टा र मेरुदण्डमा गम्भीर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालले बताए । चिनियाँ राष्ट्रपतिको भ्रमणमा घटना हुन सक्ने सम्भावनालाई हेरेर ट्रमाका चारवटा आईसीयू चिनियाँ भीभीआईपीका लागि छुट्याइएका छन् । त्यसैले दुर्घटनाका घाइतेलाई शुक्रबार साँझसम्म आकस्मिक कक्षमै राखेर उपचार गरिएको छ ।


शोकमग्न बन्यो इन्द्रावती


दुर्घटनामा मृत्यु भएकामा अधिकांश इन्द्रावती गाउँपालिकाका छन् । इन्द्रावती गाउँपालिका–९ का ३ र १० नम्बरका ४ जनाको दुर्घटनामा ज्यान गएको छ । आफू सम्हालिएर परिवारलाई सम्झाइरहेको विदुर लम्सालले बताए । दुर्घटना हुँदा घटनास्थलमै उनका भाइ विनोदको मृत्यु भएको छ । ‘कसरी चित्त बुझाउनु ? बिहान हाँसेर गएको मान्छे एकछिनमै मृत्यु भएको देख्दा कसको मन रुँदैन ?,’ उनले भावुक हुँदै भने । घाइते पनि सबै भोटसिपाकै छन् । गाउँका सबैजसो अस्पतालमा गइसकेको स्थानीय जयभक्त आचार्यले बताए । ‘यहाँ बसेका कसैको मन शान्त छैन,’ नाति रितेश आचार्य गुमाएपछि विरक्तिएका उनले भने, ‘दसैं मनाएर काठमाडौं फर्केका नाति कहिल्यै नफर्कने गरी गए ।’


गाउँपालिकाद्वारा २५ हजार राहत

गाउँपालिकाले मृतकको परिवारलाई तत्काल २५ हजारको दरले सहयोग उपलब्ध गराउने भएको छ । बस दुर्घटनामा मृत्यु भएका परिवारप्रति सहानुभूति जनाउँदै गाउँपालिकाले सहयोग उपलब्ध गराउने विज्ञप्ति जारी गरेको छ ।


‘रूखमा अड्किएर बाँचें’

छविलाल भट्टराई, घाइते (टेकनडाँडा, सिन्धुपाल्चोक)


काठमाडौंमा डेरा गरी बस्दै आएको म दसैं मान्न गाउँ गएको थिएँ । शुक्रबार काठमाडौं फर्किन बिहान ६ बजेदेखि गाडी कुरेँ । निकै बेरपछि बस आयो । छतसमेत भरिभराउ थियो । ढोकामा पनि मान्छे झुन्डिएका थिए ।


म एक्लै भए त ढोकामै झुन्डिन्थें । साथमा दिदी, दुइटी भान्जी, मीत छोरा पनि थिए । दिदी कोच्चिएर बसभित्र पस्नु भो । म भान्जी लिएर छतमा चढें । छतमा पनि लगभग ५० जना थिए । कोच्चिएर बसेका थियौं । कच्ची बाटोले हो या मान्छे धेरै भएर हो, बस ढलमल गरेर गुडिरहेको थियो । अब मान्छे नहाल भन्दै ड्राइभरलाई गाली पनि गर्‍यौं । हामी चढेको ठाउँबाट बस एक किलोमिटर पर पुगेको मात्रै थियो, केही पड्किएजस्तो आवाज आयो । खलासी ‘टायर पन्चर भयो’ भन्दै ओर्लियो, बस भने गुडिरह्यो । एकछिनपछि ड्राइभरले ‘गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हाम्फल्नुस्’ भन्यो । सबै जना रुन–कराउन थाले । म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले ।

मैले भान्जीलाई ‘केही हुन्न हामी पनि हाम फालौं’ भनें । हामफाल्यौं । म कोइरालोको रूखमा अड्किएँ । बस भीरैभीर खस्यो । धेरै तल रूखमा गएर अड्कियो । रूखबाट ओर्लिएँ । दिदी र भान्जी खोज्न थालें । मेरो छाती र खुट्टा बेस्सरी दुखिरहेको थियो । बस नजिकै जाँदा कोही रूखले थिचिएका थिए, कोही रगताम्य भएर केही नबोल्ने भइसकेका थिए । कसलाई उठाउँ, कसलाई छोडौं जस्तो भयो । अत्तालिएँ । बोल्नै नसक्ने भएँ । रिंगटा लाग्यो । दिदी बस अगाडि पछारिएकी थिइन् । घाइतेहरू छट्पटाइरहेका थिए । एकैछिनमा उद्धारकर्मी आएर उठाउन थाले । दिदीको करङ र खुट्टा भाँचिएको छ । मीत छोरा बितेछन् । मलाई भतिजले मोटरसाइकलमा हालेर ट्रमा सेन्टरमा ल्याए । छाती र कम्मर मुनिको भाग दुखेको छ । धन्न दैवले बचाए ।


(ट्रमा सेन्टरमा उपचाररत भट्टराईसँग फातिमा बानुको कुराकानी)


छानबिन गर्न कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी कांग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल छानबिन कार्यदल गठन गरी त्यस्ता घटनाको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसले बसमा क्षमताभन्दा बढी यात्रु चढ्न दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारीसाधन सञ्चालन गर्नुभन्दा अगाडि जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन यथाशीघ्र आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ । देउवाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेसले घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : आश्विन २५, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?