कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अर्गली दरबार अलपत्र

माधव अर्याल

(पाल्पा) — यहाँको तानसेन–रिडी सडक खण्डको अर्गलीदेखि सात सय मिटरको दूरीमा रहेको अर्गली दरबार खण्डहर बनेको छ । केही कोठामा त्रिभुवन माविले कक्षा सञ्चालन गरेको छ । बाँकी रहेको भव्य आलिसान भवन अलपत्र छ । यस्तो अवस्थाको भवनलाई ७५ वर्षदेखि यत्तिकै छोडिएको हो । 

अर्गली दरबारभित्र फलामका पाता ठोकिएका भित्तासहित ढुकुटी छ । विसं १९९७ मा बनेको दरबारभित्रै बाथरुम, भव्य बैठक कक्ष, पल्टन राख्ने स्थान, दरबारमा राजाका सुसारे कक्षलगायत छ । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले बस्नका लागि भवन निर्माण गर्न लगाएका हुन् । १९९७ मा सुरु गरेर २००१ मा निर्माण सम्पन्न भएको थियो । जुद्धशमशेर अर्गलीबाट हिंडेपछि दरबार र त्यसले चर्चेको जग्गाको संरक्षण हुन नसक्दा ऐतिहासिक भवन जीर्ण बन्दै गएको हो । नापी गर्ने समयमा काठमाडौंमा राणाकालीन घरहरूजस्तै अर्गली दरबार पनि व्यक्तिका नाममा गएपछि थप विवादित बनेको छ । जग्गा किनबेच हुन थालेपछि जुद्धशमशेरकी छोरी जनकराज्य लक्ष्मीदेवी शाहका नाममा अर्गली दरबार भएको तानसेन नगरपालिका–१४ का वडासचिव शंकर पाण्डेयले बताए ।


जुद्धशमशेरले ७५ वर्षअघि निर्माण गरेको दरबार वडाको स्वामित्वमा ल्याउने स्थानीयको माग पनि पूरा हुन सकेको छैन । यहाँबाट कालीगण्डकी नदी र धार्मिक तीर्थस्थल रुरु क्षेत्र नजिकमा छन् । संरक्षणका लागि वडा र समाजको मातहतमा ल्याउन माग गर्दै आएको स्थानीय परशुराम भट्टराईले बताए । ‘वर्षौंदेखि बेवारिसे अवस्थामा रहेकाले दरबारको संरक्षण हुन सकेको छैन,’ उनले भने, ‘हामीले समाजको मातहतमा ल्याउन खोज्दा पनि सकिएको छैन ।’


दरबारका इँटा, झ्याल, कोठाका भाग हराउँदै गएका छन् । भव्य दरबारको संरक्षण नभएपछि रुख, झार उम्रिएर कुरूप बन्दै गएको छ । दिसापिसाब र फोहरका कारण दरबारभित्र पस्न नसक्ने अवस्था छ । दरबार खण्डहर बनेको छ । युवकयुवतीको भेट्ने थलो, लागूऔषध प्रयोगकर्ताको सुरक्षित स्थल बन्दै गएको स्थानीयले बताए । खण्डहर बनेर बस्नुभन्दा जनताको श्रम र पसिना बगाएर बनाएको दरबार जनताकै स्वामित्वमा हुनुपर्ने माग स्थानीयले गर्दै आएको सञ्जय भट्टराईले बताए । ‘यस क्षेत्रकै विशाल दरबार खण्डहरमा परिणत हुन थालेको छ,’ उनले भने, ‘यसलाई धार्मिक पर्यटकीय थलोका रूपमा विकास गर्न जरुरी छ ।’


स्वामित्व विवाद

साविकको अर्गली गाविस–६, कित्ता नं. ३४१ मा ११ रोपनी १२ आना २ पैसा १ दाम क्षेत्रफल समेटिएको छ । तर, यस दरबारको स्वामित्वबारे पछिल्लो समय तीव्र विवाद छ । मालपोत कार्यालयका अनुसार जग्गा जुद्धशमशेरकी छोरी जनक राज्यलक्ष्मीले ०५८ जेठ १ गते अधिकृत वारेसनामा गरी आफ्ना नाति सञ्जयविक्रम शाहका नाममा पास गरिदिएकी छन् ।


आफ्नो स्वामित्वमा आएको दरबार सञ्जयले ०६२ साउन ५ गते आफ्नी श्रीमती पुनमका नाममा नामसारी गरिदिए । ०६२ कै माघ १८ गते तत्कालीन नेकपा माओवादीको आक्रमणबाट पाल्पा दरबारमा रहेका मालपोतसम्बन्धी सम्पूर्ण कागजात जलेर नष्ट भए । त्यसैको मौका छोपेर पुन: जनक राज्यलक्ष्मीले अधिकृत वारेसनामा बदर गराएको प्रमाण ल्याएर ०६३ माघ १४ गते पुन: दरबार आफ्नो नाममा फिर्ता भयो भन्दै श्रेस्ता कायम गराएकी छन् । उनी आफैंले तिरो तिरेर ०६४ पुस ९ गते जिटी टेडर्स एन्ड हाउजिङ कम्पनी प्रालि पुल्चोक ललितपुरलाई १५ लाख रुपैयाँमा बिक्री गरेको मालपोतबाट देखिएको छ ।


दरबारको स्वामित्वलाई लिएर अहिले पनि पुनम शाह र हाउजिङ कम्पनीबीच विवाद देखिएको मालपोतले जनाएको छ । पाल्पा आक्रमणका बेला सबै श्रेस्ता जलेकाले झुक्याएर जनक राज्यलक्ष्मीले दोहोरो पास गराएकी छन् । एकपटक सञ्जयलाई दिइसकेको जग्गा सञ्जयले पुन: पुनमका नाममा बिक्री गरिसकेपछि मात्रै अधिकृत वारेसनामा बदर गरी बिक्री गर्नु गैरकानुनी भएको मालपोतको भनाइ छ । अहिले यसअघि नै त्रिभुवन माविले खरिद गरेको जग्गामा १३ वटा कोठा प्रयोगमा छन् । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालका अनुसार स्कुलले किनेर प्रयोग गरेको हो । दरबारको झन्डै ११ रोपनी क्षेत्रफल खरिद गरेको हो । दरबारमा बचेको झन्डै त्यत्ति नै भाग खण्डहर बनेको छ ।


पवित्र तीर्थस्थल रुरुक्षेत्रमा तीर्थव्रत गर्न जानका लागि जुद्धशमशेरले अर्गली दरबार बनाएका हुन् । अर्गलीका वयोवृद्ध र त्यसमा श्रमदान गर्नेहरू अझै पनि छन् । जुद्धशमशेर राज श्री महाराज भएर बस्ने योजनाका साथ दरबार निर्माण गरेका थिए । दरबार निर्माणपछि झन्डै पाँच वर्षर्सम्म जुद्धशमशेर यहीं बसेका हुन् । राणा शासनविरुद्ध चर्किएको आन्दोलनसँगै उनले दरबारको स्वामित्व आफ्नी छोरी जनकराज्यलक्ष्मी शाहलाई हस्तान्तरण गरेका थिए । उनी भारतको देहरादुन पलायन भए । जनकराज्यलक्ष्मीले समेत साविकको अर्गली गाविसलाई पहिले नै दरबार बिक्री वितरण गर्न चाहेकी थिइन् । जग्गा विवाद र दोहोरो रजिस्ट्रेसन भएकाले समस्या आएको हो । जग्गाको विषयमा अदालतमा उजुरी परेको छ ।


वि.सं. २००२ मंसिर १४ गते जुद्धशमशेर गेरुवस्त्र धारण गरी कान्छी श्रीमती गम्भीरकुमारीका साथ अर्गली दरबारमा आएका थिए । रिडी घाटको नित्य स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित ००७ सालसम्म उनी अर्गली दरबारमै बसेका थिए ।


प्रकाशित : आश्विन २५, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?