बनेन बागलुङ बसपार्क, स्थानीयले दिएको करोडौंको जग्गा अलपत्र

प्रकाश बराल

(बागलुङ) — बसपार्क बनाउने भनेर बागलुङ नगरपालिले वडा नं ४ का खड्गबहादुर जीसीको जग्गा लियो । बसपार्क बनेपछि उनलाई एउटा घडेरी दिने सर्तमा जग्गा लिइएको थियो । डेढ दशक बित्दा पनि त्यहाँ बसपार्क बन्न सेकेको छैन ।

यतिलामो समय न उनले खेती गर्न पाए न बसपार्क बन्यो । जसीको जग्गा त्यतिबेलादेखि बाँझै छ । जीसी जस्तै ५१ जनाले बसपार्कका लागि भनेर दिएको जग्गा बाँझै छ ।


बसपार्क व्यवस्थापन समितिले उनीहरू सबैलाई छेउमा एकएकवटा घडेरी मिलाइदिने कागजात गरेर २०५९ मा खेती लगाएको जग्गा लिएको थियो । उक्त स्थानमा गतवर्ष बसपार्क निर्माणका लागि ठेक्का लगाइयो । वर्षौंदेखिको बाँझो जग्गामा बसपार्क बन्ने भएपछि घडेरी पाउने आश गरेका उनीहरू फेरि निराश भएका छन् । घडेरी पाएमा व्यवसाय गरेर बस्ने सोच राखेका स्थानीय कोपिला केसी र विक्रम श्रेष्ठ पनि निराश भए । एक वर्षभित्रै बसपार्क बनाउन गरिएको सम्झौताको २० प्रतिशत पनि काम नभएको उनीहरूले गुनासो गरे । जग्गा बेच्न पनि नपाएको र कमाएर खान पनि नपाएको जिसीले गुनासो गरे । ‘छोराछोरी पढाउन ऋण लागेको छ, त्यही बेचेर तिर्न पाए पनि हुन्थ्यो,’ उनले भने, ‘सबै बाँझो जग्गा दैलामुनि देख्नुपरेको छ ।’ समितिले बेलाबेलामा जग्गावालालाई बोलाएर छलफल गराउने, निर्माणमा दबाब दिने काम समेत नगरेको उनले बताए ।


नगरविकास कोषको ऋण सहयोगमा निर्माण हुने बसपार्कका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले गत वर्षको भदौमा काम थालेको थियो । काम थाल्दा बाह्र महिनामा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका प्रबन्ध निर्देशक राजु पौडेलले अहिलेसम्म ३५ प्रतिशत काम गरेको दाबी गरेका छन् । तर, उपभोक्ता २० प्रतिशत मात्र काम भएको बताउँछन् । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँमा काम सक्ने भनिएको थियो । पौडेलले अहिलेसम्म २ करोड ६५ लाख भुक्तानी लगिसकेका छन् ।


कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ समेत बनाउने सम्झौतामा छ । तर, एक वर्षमा कामको प्रगति नदेखिएपछि बागलुङ नगरपालिकाले संशोधित लागत स्टिमेट गर्ने निर्णय गरेको छ । ‘पहिलाको स्टिमेटमा हात्तिपाइले पिलर राख्ने थिएन, अहिले राख्नुपर्ने भयो,’ नगरपालिकाका इन्जिनियर मनोज शर्माले भने, ‘पुरानो स्टिमेटभन्दा धेरै काम गर्नुपर्ने भएको छ, त्यसका लागि थप रकम पनि चाहिन्छ, त्यसैले लागत स्टिमेट संशोधन गर्नुपरेको हो ।’ थप डेढ करोड रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ । बिलिङ कन्सल्टेन्सीले बनाएको नक्सामा भवन बनाउँदा भूकम्पप्रतिरोधी हात्तीपाइलेको नक्सा समेत नकोरेको भेटियो । बसपार्क सम्याउने काम भने धेरै समय नलाग्ने उनले बताए ।


ठेकेदारमार्फत काम गरे पनि यो बसपार्कका लागि गत आर्थिक वर्ष नगरपालिकाले थप १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम जन श्रमदान लगायतको लागतमा खर्च भएको शर्माले बताए । हाल टर्मिनल भवनको भुइँतला मात्र बनेको बसपार्क निर्माणाधीन स्थललाई बसपार्कका रूपमा चिनिने अवस्था समेत नआएको स्थानीय सन्तोष जिसीले बताए । ‘अहिलेसम्म समितिका बैठक बसेको, खर्चको समीक्षा गरेको र जग्गादाताको गुनासो सुनेको थाहा छैन,’ उनले भने, ‘वडा कार्यालय, नगरपालिका र ठेकेदारपक्षले समेत सरोकार राख्दैन ।’ उपल्लाचौरका ५१ जग्गाधनीले नि:शुल्क ५९ रोपनी जमिन उपलब्ध गराएपछि बसपार्क निर्माणको काम थालिएको थियो ।


बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्रयाक १७ रोपनीमा बन्नेछ । बाँकी जमिनमा जग्गादाताका लागि कम्तीमा साढे २ आनादेखि ५ आनासम्मका १२७ वटा घडेरी बनाइनेछ । बसपार्कका लागि नि:शुल्क जग्गा दिएकालाई घडेरी उपलब्ध गराउन १६ वर्षअघि नगरपालिकाले सम्झौता गरेको थियो । तत्कालीन समयको तुलनामा यहाँको मूल्य धेरै आकासिएको छ । ‘हाल यो स्थानको जग्गा करोडौं मूल्यको भएको छ,’ बसपार्क उपभोक्ता समितिका सदस्य गुणनिधि शर्माले भने, ‘बसपार्क बनाएमा जिल्लाकै सान बढ्ने हो, तर ढिलाइ भएको छ ।’ ऋण बाहेक नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख केएफडब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण सहयोग गर्नेछ । यसरी नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बागलुङमा यसअघि चिप्लेटी बसपार्क छ । उक्त बसपार्कले मात्र क्षमता नपुगेपछि अर्को बनाउन लागिएको हो । एउटामा छोटो दुरी र निर्माणाधीनमा लामो दूरीको बस छुट्ने व्यवस्था गर्न लागिएको हो ।


नगरप्रमुख जनकराज पौडेलले प्राविधिक कारणले काम ढिला भए पनि नगरपालिकाको गौरवको योजना भएको दाबी गरे । ‘जनप्रतिनिधि आएपछि मात्र वर्षौंदेखिको काम थालिएको हो,’ पौडेलले भने, ‘छिटै समस्या सुल्झाएर काम सम्पन्न गरिनेछ ।’ मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर निर्माणाधीन भएकाले बागलुङमा लामो दूरीका सवारीको चाप बढी छ । निर्माणाधीन बसपार्कमा दमकल, एम्बुलेन्स र ट्याक्सी निर्वाध रूपमा चलन सक्ने बनाउन लागिएको हो ।


प्रकाशित : आश्विन २५, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?