कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यावारिधिपछि जागिरबाट बर्खास्त

अब्दुल्लाह मियाँ

काठमाडौँ — आफैंले विद्यावारिधि गर्न पठाएका एक जना वन्यजन्तु विशेषज्ञलाई फर्केर आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले जागिरबाट बर्खास्त गरेको छ । नर्वे सरकारको कोटामा नेपालका हिउँचितुवाको घनत्वबारे विद्यावारिधि गरेर फर्केका मधु क्षत्रीलाई कोषले असोज पहिलो साता जागिरबाट हटाएको हो । 

विद्यावारिधिपछि जागिरबाट बर्खास्त

कोष पूर्वस्वीकृत लिएर गएको तीनवर्षे अध्ययन बिदाको अवधिमा विद्यावारिधि नसकिएपछि क्षत्रीले थप समय मागेका थिए । बिरामी परेपछि त्यसको जानकारी कोषलाई गराएको उनको भनाइ छ । कोषका अधिकारीहरूले तीन वर्षभन्दा बढीको बिदा स्वीकृति नभएको कारण देखाउँदै जागिरलाई निरन्तरता दिन नसक्ने जानकारी क्षत्रीलाई गराएका छन् । क्षत्री पूर्वस्वीकृत अवधिभन्दा ६ महिना बढी विदेशमा बसेका थिए ।


कोषले संस्थागत रूपमा सम्झौता गरेर नर्वेस्थित इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सेजमा विद्यावारिधि गर्न सन् २०१५ मा उनलाई सहमति दिएको थियो । यो अवधिमा उनले अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रमा हिउँचितुवाको घनत्वलाई मूल विषय बनाएर विद्यावारिधि पूरा गरे । उक्त विषयमा विद्यावारिधि गर्ने उनी पहिलो नेपाली हुन् । हिउँचितुवाबारे मात्र विद्यावारिधि गरेका सोम आले अमेरिका बसेर काम गर्छन् । क्षत्री नर्वेमा अध्ययनरत रहँदा कोषका सदस्यसचिव गोविन्द गजुरेलको ५ वर्षे कार्यकाल सकिएपछि कोष नेतृत्वविहीन थियो ।


अर्का सदस्यसचिवको नियुक्तिपछि उनको थप बिदा मिलान गरिने सहमतिअनुसार उनले नर्वेमा अध्ययनलाई निरन्तरता दिएका थिए । क्षत्रीका अनुसार कोषका अधिकारीले बिदा मिलान हुने आश्वासन दिएपछि उनी ढुक्क थिए । फर्किएपछि भने लिखित सहमति नभएकाले जागिरलाई निरन्तरता दिन नसक्ने कोषले जिकिर गरेको छ । क्षत्री सन् २०१८ को डिसेम्बरमा विद्यावारिधि सकेर नर्वेबाट काठमाडौं आए । काठमाडौं आएर खुमलटारस्थित कोषको कार्यालयमा फर्किंदा भने उनी चकित परे । उनलाई प्रशासनले हाजिर गर्न दिएन । ‘कार्यालयलाई जानकारी नदिई धेरै समय विदेश बसेको आरोप लगाएर मलाई हाजिर गर्नबाट रोक लगाइयो,’ उनले बुधबार कान्तिपुरसित भने, ‘अस्ति असोज १ गतेदेखि त जागिरबाटै हटाइएको जानकारी पाएको छु ।’ क्षत्रीसँग कोषले स्पष्टीकरण सोधेको थियो । उनले त्यसको जवाफ पनि दिए । विद्यावारिधि गरिसकेपछि कोषमै आएर काम गर्नुपर्ने सम्झौताअनुसार उनी पढ्न गएका थिए । त्यही सम्झौताअनुसार नै काममा फर्किएका पनि थिए ।


कोषका कार्यकारी निर्देशकसमेत रहेका प्रशासन प्रमुख दीपक सिंहले क्षत्रीलाई हटाइएको बारे प्रतिक्रिया दिन मानेनन् । ‘त्यो विषयमा उहाँ (क्षत्री) लाई नै सोध्नुस्,’ उनले भने, ‘त्यसबारे म केही बोल्दिन ।’ क्षत्री भने दसैंपछि कानुनी उपचारमा जाने योजनामा छन् । यसअघि कोषमा कार्यरत रवीन कडरिया, पारसविक्रम सिंह र बाबुराम लामिछानेलगायतले पनि कोषकै नियमअनुसारको बिदामा बसेर विद्यावारिधि गरेका थिए । उनीहरू काममा फर्किसकेका छन् । अशोक सुवेदीले पनि हिउँचितुवामै विद्यावारिधि गरिरहेका छन् । उनले भने पढाइका लागि बिदा लिएका छन् । कोषमा करार सेवामै रहेका मोहनराज पन्तलाई भने ६ महिनाभन्दा बढी अध्ययन बिदा दिइएको थिएन । बिदा नपाएपछि उनले कोषबाट राजीनामा दिएका थिए ।



प्रकाशित : आश्विन २५, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?