कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कागजमा जग्गैजग्गा, स्कुल चलाउनै हम्मे

झापाका अधिकांश विद्यालयको पर्याप्त जग्गा छ । एउटैमा नाममा सय बिघासम्म खेतीयोग्य जग्गा छ । तर, व्यवस्थापन गर्न नसक्दा कागजमा सम्पत्ति भएका विद्यालय पनि आर्थिक संकटमा छन् ।
अर्जुन राजवंशी

(बिर्तामोड) — झापा गाउँपालिकाको कुवाडीदेवी माविको अचल सम्पत्तिमा साढे १२ बिघा जग्गा थियो । बस्ती बसेर बसोबासीले आफूखुसी खेतीपाती थालेपछि ०५२ सालको नापीले डेढ बिघा जग्गालाई ‘गाउँ ब्लक’ भनेर उल्लेख गरिदियो । अहिले विद्यालयसँग बाँकी ११ बिघा छ ।

कागजमा जग्गैजग्गा, स्कुल चलाउनै हम्मे

खोसिएको जग्गा करिब डेढ दर्जन परिवारले जोतभोग गर्दै धनीपुर्जा पनि आफ्ना नाममा बनाइसकेका छन् ।


१२ कट्ठामा विद्यालय जेनतेन चलेको छ । बाँकी साढे १० बिघा जग्गामा पनि वर्षौंदेखि कुवाडी भनिने ठूलो बस्ती छ । बस्तीमा ५० भन्दा बढी घरपरिवारको बसोबास छ । केहीले खेतीपाती पनि गर्दै आएका छन् । बसोबास र खेती गर्दै आए पनि उनीहरूले विद्यालयलाई केही दिँदैनन्, न त उनीहरूलाई कडिकडाउ गर्न कसैले सकेको छ । आफ्ना नाममा भएको जग्गाबाट एक पैसा पनि आम्दानी लिन नपाएको विद्यालय आर्थिक संकटबाट गुज्रिरहेको छ ।


विद्यालयमा ५ सयजना विद्यार्थी छन् । जमिन्दार देवीप्रसाद उप्रेतीले दान दिएको उक्त जग्गाबाट २०६७/६८ सम्म वार्षिक ठेक्का उठ्ने गरेको प्रधानाध्यापक रामनारायण राजवंशीले बताए । ‘त्यसयता एक पैसा उठेको छैन । ठेक्का बुझाउन हामीले पटकपटक ताकेता गरिरहेका छौं । तर, कसैले टेरेका छैनन्,’ उनले भने । विद्यालयको जग्गामा २०३४ देखि बस्ती बस्न सुरु भएको थियो । प्रतिबिघा ८ मन धान बुझाउने सर्तमा वरपरका बासिन्दा आएर विद्यालयको जग्गामा बसोबास थालेका थिए ।


झापा गाउँपालिकाकै महेन्द्र आधारभूत विद्यालयको नाममा २९ बिघा १३ कट्ठा जग्गा छ । विद्यालय परिसरले एक बिघा ओगटेको छ । ३ बिघा नजिकैको विरिङ नदीको बाढीले बगर बनेको छ । ३ बिघा डाँडा क्षेत्रमा भएकाले कुनै आम्दानी छैन । बाँकी २२ बिघा जग्गा ‘ठेक्का’ बुझाउने गरी स्थानीयले जोतभोग गरिरहेका छन् । विद्यालय २०२० सालमा स्थापना भएको हो । प्रधानाध्यापक भीमप्रसाद गणेशका अनुसार विद्यालय सञ्चालन सुरुदेखि नै जग्गामा स्थानीयले जोतभोग गर्न थालेका हुन् । वार्षिक बिघाको ८ मन धान बुझाउने सर्तमा स्थानीयले जग्गा जोतभोग गर्दै आएका हुन् । ‘सुन्नेले २२ बिघा जग्गा ठेक्का लगाएको छ भन्छन् । तर, जग्गाको आम्दानीको कुरा गर्ने हो भने नियमित छैन,’ प्रअ गणेशले भने, ‘कुनै साल धान बुझाउँछन्, कुनै साल बुझाउँदैनन् ।’ ‘ठेक्का’ नबुझाउनेलाई पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि अटेर गर्ने गरेको उनले गुनासो गरे । ‘ठेक्का नबुझाउनेलाई कारबाहीका लागि हामीले मात्र नसकेपछि गाउँपालिकाको सहयोगसमेत माग्यौं,’ उनले भने, ‘तर, गाउँपालिकाबाट पनि कुनै पहल र कारबाही हुन सकेन ।’


झापा गाउँपालिका–६ को जनता माविको नाममा २७ बिघा जग्गा छ । साबिक शरणामती ६ र ७ मा १०/१० तथा ५ नम्बरमा ७ बिघा जग्गा छ । ६ नम्बरको १० बिघामा विरिङ नदीको बाढीले बगर बनाएको छ । उर्वर रहेको ७ नम्बरको १० बिघाबाट भने नियमित आम्दानी आउने गरेको प्रअ तारानाथ रिजालले बताए । ५ नम्बरको ७ बिघामा ठूलो बस्ती छ । ‘बालुबथान’ गाउँको नामले चिनिने उक्त बस्तीमा करिब सय घरपरिवारको बसोबास छ । उनीहरूले बिघाको ८ मन धानका दरले ‘ठेक्का’ बुझाउने गरेका छन् । जग्गा धेरै भए पनि विद्यालयले वार्षिक डेढ लाख मात्र आम्दानी गर्ने गरेको प्रअ रिजालले बताए । ‘बिघाको ८ मन धेरै वर्ष पहिलाको रेट हो,’ उनले भने, ‘अहिलेको समयअनुसार नयाँ रेट तय गर्न नसक्दा आम्दानी धेरै लिन सकिरहेका छैनौं ।’ दुई जनाले २० वर्ष अघिदेखि विद्यालयको ३ बिघा जग्गा जोतभोग गर्दै आए पनि ठेक्का बुझाउने गरेका छैनन् । ०७० साल अघिसम्म जग्गा जोतभोग गर्ने कसैले पनि विद्यालयलाई ठेक्का बुझाएका थिएनन् ।


जिल्लाकै पुरानोमध्येको भद्रपुर माविको नाममा २४ बिघा जग्गा छ । भद्रपुर नगरपालिका–५ मा करिब ७ बिघा जग्गामा विद्यालय परिसर छ । बाँकी १७ बिघा जग्गा बिर्तामोड नगरपालिका ६ मा छ । उक्त जग्गाको आम्दानी गत वर्ष विद्यालयले ९३ हजार रुपैयाँ मात्र प्राप्त गरेको लेखापाल जयदेव घोषले बताए । आम्दानी लिनेभन्दा पनि विद्यालय परिवार यतिबेला जग्गा जोगाउन दौडधूप गरिरहेको छ । विद्यालयले मोहीसँग मुद्दा खेपिरहेको छ । उक्त जग्गामध्ये ३ बिघा १० कट्ठामा सानु शमशेर गिरी मोही छन् । १७ बिघामा तीन सयभन्दा बढी घरपरिवारको बसोबास छ । मोही रहेको ३ बिघामा मात्र ५० बढी परिवारको बसोबास रहेको सहायक प्रअ हेमप्रसाद ढुंगानाले बताए ।

विद्यालय परिसरको जग्गामा पनि नगरपालिकाका जनप्रतिनिधिले सुकुम्बासी ल्याएर बसाउन थालेका छन् । गत वर्ष मेयर जीवनकुमार श्रेष्ठ र वडाध्यक्ष बन्धु कार्कीको अगुवाइमा १२ घरपरिवारलाई विद्यालयको जग्गामा बसोबास गर्न दिएको ढुंगानाले बताए । ‘विद्यालयको नाममा रहेको जग्गामा मेयर र वडाध्यक्षले नै सुकुम्बासी ल्याएर बसोबास गर्न दिनुभयो,’ उनले भने, ‘त्यो विषयमा विद्यालय परिवारसँग एकपटक सल्लाह पनि गर्नु भएन । हामीले विरोध गर्‍यौं । तर, उहाँहरूले वास्ता गर्नु भएन ।’


कनकाई नगरपालिका ९ घैलाडुब्बाको आदर्श विद्या मन्दिर माविको नाममा झन्डै सय बिघा जग्गा छ । घैलाडुब्बा, सुरुंगा, शरणामती र डाँगीबारीमा रहेका जग्गाबाट विद्यालयले पर्याप्त आम्दानी लिन सकिरहेको छैन । विद्यालय परिसर करिब ६ बिघा जग्गामा फैलिएको छ । बाँकी जग्गा वार्षिक ठेक्कामा जोतभोग गर्न दिइएको छ । ‘जग्गा सबै ठेक्कामा लागेको छ । तर, ठेक्का नियमित उठ्दैन,’ प्रधानाध्यापक धर्मानन्द निरौलाले भने । विद्यालयको नाममा रहेकोमध्ये ४ बिघा जग्गामा घैलाडुब्बा बजार छ । गत वर्षदेखि बजार क्षेत्रको जग्गाको वार्षिक ४ लाख रुपैयाँ नगरपालिकाले विद्यालयलाई बुझाउन थालेको छ । अन्य जग्गामा प्रतिबिघा ८ मन धानको दरले ठेक्कामा लगाएको प्रअ निरौलाले बताए । विद्यालयको नामको ७० बिघाभन्दा बढी जग्गा शरणामतीमा छ । विद्यालय ०१४ सालमा स्थापना भएको हो ।


विद्यालयको जग्गा जोतभोग गर्दै आएकामध्ये केहीले वर्षौंदेखि ठेक्का बुझाएका छैनन् । ‘जग्गा जोतभोग गर्नेहरू निकै पुराना छन् । उनीहरूका छोरानातिहरू हुर्किसके,’ प्रअ निरौलाले भने, ‘उनीहरूमध्ये केहीसँग कैयौं पटक ताकेता गर्दा पनि ठेक्का उठाउन सकिरहेका छैनौं ।’ गौरीगञ्ज गाउँपालिकाको गौरीगञ्ज माविको नाममा ७२ बिघा जग्गा छ । बैगुन्धुरामा ५४ बिघा, जुरोपानीमा १ बिघा १५ कट्ठा, तोपगाछीमा ८ बिघा १८ कट्ठा, गौरीगञ्जमा २ बिघा ८ कट्ठा छ भने विद्यालय परिसरमा ४ बिघा १० कट्ठामा छ । त्यसमध्ये ६५ बिघा जग्गा वार्षिक ठेक्का लागेको छ । ३३ जनाबाट ठेक्काबापतको बक्यौता उठाउनुपर्ने विद्यालयको सूचीमा छ । प्रतिबिघा ११ मनका दरले वार्षिक ७ सय मन धान ठेक्का उठ्छ । उक्त धान बिक्रीबाट वार्षिक साढे ६ लाख रुपैयाँ संकलन हुन्छ । ‘ठेक्का नियमित उठ्दैन । केहीले अझैसम्म ठेक्का बुझाएका छैनन्,’ प्रधानाध्यापक गोविन्द घिमिरेले भने, ‘१४ बिघामा मोही छ । २५ घरपरिवारको बसोबास छ । दुई वर्षदेखि विद्यालयले मोहीसँग मुद्दा खेपिरहेको छ ।’


पर्याप्त आम्दानी नहुँदा सञ्चालन कठिन

कुवाडीदेवीमा मावि तहका शिक्षक छैन । गत वर्षदेखि एकजना अनुदानको शिक्षक विद्यालयले पाएको छ । ५ जना आधारभूत तहका शिक्षकमार्फत नै मावि कक्षा सञ्चालन गर्दै आएको प्रअ राजवंशीले बताए । ‘माविको कक्षा पढाएबापत आधारभूतका शिक्षकलाई अतिरिक्त पारि श्रमिक दिनुपर्छ । एकजना निजी स्रोतका शिक्षक पनि राखेका छौं,’ उनले भने, ‘उनीहरूको सेवा सुविधाको जोहो विद्यालयले नै गर्नुपर्छ । पर्याप्त आम्दानी नभएर चलाउन कठिन भइरहेको छ ।’ कक्षाकोठा पनि अभाव रहेको उनले बताए ।


सम्पत्तिको हिसाबले सम्पन्न भए पनि आम्दानीका दृष्टिले विपन्न महेन्द्र आधारभूत विद्यालय हो । प्रअ गणेश भन्छन्, ‘ठेक्का लागेअनुसार नियमित आम्दानी हुने भए स्कुलका धेरै समस्याहरू समाधान गर्न सकिन्थ्यो ।’ वैकल्पिक कोठाको अभावमा जीर्ण कोठाहरूमा मर्मत गरेर पठनपाठन गराउँदै आएको उनले बताए । विद्यालयको जग्गामा २२ परिवारको बसोबास छ ।


पर्याप्त आम्दानी नहुँदा घैलाडुब्बास्थित आदर्श विद्या मन्दिरले गत वर्ष ११ जना शिक्षकलाई पाँच महिनासम्म तलब खुवाउन सकेको थिएन । यो वर्ष पनि विद्यालयलाई करिब ५ लाख रुपैयाँ ऋण लागेको छ ।

प्रकाशित : आश्विन २५, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?