३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जानकी मन्दिर सोन्दर्यीकरण आयोजना : गुणस्तरीय काम भएको प्राविधिकको दाबी 

श्यामसुन्दर शशि

(जनकपुर) — जानकी मन्दिर सौन्दर्यीकरण आयोजना अन्तर्गत हालसम्म भएका काम गुणस्तरीय भएको दावी आयोजना सम्बद्ध पदाधिकारीहरुले गरेका छन् । आयोजनाको प्रगति तथा काम बारे जानकारी दिन शुक्रबार मन्दिर परिसर भित्रै आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख भगवान झाले प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दावी गरेका हुन् ।

जानकी मन्दिर सोन्दर्यीकरण आयोजना : गुणस्तरीय काम भएको प्राविधिकको दाबी 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत संचालित जानकी मन्दिर सौन्दर्यीकरण आयोजना निर्माणको क्रममा गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीय युवाहरुले विरोध गरेका थिए । उनिहरुले मन्दिर परिसरमा जडान गरिँदै गरेको मार्बल गुणस्तरहीन भएको तथा मन्दिर परिसरमा ढलनिकासको व्यवस्थापन गर्दा कमसल सामग्रीहरु प्रयोग गरेको एवं पुराना इँटहरुको प्रयोग गरेको आरोप लगाएका थिए । युवा अभियन्ताहरुको विरोध पछि मार्बलको गुणस्तरको ल्याब जाँच गरिएको हो ।


आयोजना प्रमुख झाले ‘क्वालिटी काउन्सिल अफ इण्डिया’सँग सम्बन्धन प्राप्त राजस्थानको राहुल इन्जिनियर्स ल्याब्रोटरीको रिपोर्ट सार्वजनिक गर्दै मन्दिर परिसरमा जडान भइरहेको मार्बलको मोटाई, भारवाहन क्षमता, पानी संग्रह गर्ने क्षमता नेपाल, भारत तथा अमेरिकाले निर्धारण गरेको मापदण्डभन्दा उत्तम रहेको बताए ।


‘भारतको विश्वसनीय ल्याब्रोटरीमा गरिएको टेस्ट हो । यसमा मैले हस्ताक्षर गरेको छु । दाबी साथ भन्न सक्छु, जानकी मन्दिरमा प्रयोग भई रहेको मार्बल उत्तम दर्जाको छ,’ उनले भने ।


तर युवा अभियन्ता सरोज मिश्र र सुशिल कर्णले ढल निकास तथा पिसीसी गर्ने क्रममा कमसल सामग्रीहरुको प्रयोग भए पनि जाँच रिपोर्टमा यी विषयहरु बारेलाई उल्लेख नगरिएको आरोप लगाए ।


‘माथि प्रयोग भएको मार्बल गुणस्तरीय हुनसक्छ तर पिसीसी गर्दा कमसल निर्माण सामग्रीको प्रयोग भएको छ । यसको पनि ल्याब टेस्ट हुनुपर्दछ,’ सरोज मिश्रले भने ।


आयोजना अन्तर्गत अचेल मन्दिरको बाहिरी प्रांगणमा ढल निकाससँगै सेता मार्बल जडान भइरहेको छ । यसका अतिरीक्त मन्दिर परिसरमा तीन स्टीलको प्रवेशद्वार, श्रद्धालु बस्ने बेञ्च तथा बाहिरी पर्खाल वरिपरि १ सय अशोकको रुख पनि रोप्ने योजना छ ।


हालै सम्पन्न एक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले जानकी मन्दिरलाई अझ बढि सफा, सुन्दर तथा आकर्षक बनाउन वर्षेनी बजेट विनियोजन गर्ने बताएका थिए ।


मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ठूलो तामझामका साथ मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए । अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिका लागी ८ करोडभन्दा बढि बजेट विनियोजन गरिएको छ । तर ठेक्का भने ६ करोड ७५ लाख ४६ हजार १ सय ५ रुपैयाँमा दिइएको छ ।


३ डिसेम्बर २०१८मा समझौता भएको उक्त आयोजनाको काम २ डिसेम्बर २०१९ भित्र सम्पन्न गर्नुपर्ने हो, तर निर्माण कार्यको प्रगति हेर्दा अझै केही महिना लाग्ने देखिन्छ ।


जानकी मन्दिरमा वर्ष भरी नै पूजा अर्चना तथा विशेष पर्व आयोजन हुँदै आएको छ । जसमा हजारौंको सहभागिता हुन्छन् । निर्माण सामग्रीहरु यत्र तत्र राखिएको कारण मन्दिर परिसर अस्तव्यस्त बनेको छ । समयमा निर्माण सम्पन्न भएन भने श्रद्धालुहरुलाई कठिनाई हुने छ ।


प्रकाशित : आश्विन २४, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?