२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विश्वभरिका तमू काठमाडौंमा

गणेश राई

काठमाडौँ — ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनका निम्ति विश्वभरका तमू (गुरुङ) जातिका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । ‘विश्वभरका तमू (गुरुङ) एकजुट होऔं, सम्पूर्ण तमू (गुरुङ)को आह्वान– एकता, अस्तित्व र पहिचानका लागि अन्तर्राष्ट्रिय तमू सम्मेलन’ नारासहित दुई दिने सम्मेलनमा जुटेका हुन् । सम्मेलनमा ३७ मुलुकका सात सयजना भन्दा बढी प्रतिनिधि सहभागी छन् । 

विश्वभरिका तमू काठमाडौंमा

पूर्वराष्ट्रपति डा.रामवरण यादवले सम्मेलनको उद्घाटन गर्दै स्वदेश र विदेशमा रहेका सबैले देशलाई माग गर्न आग्रह गरे । ‘विभिन्न जाति, भाषा, संस्कृति भएर विविधता हुनु नै नेपाली पहिचान हो,’ यादवले भने, ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियशी भन्दैआएका छौं । तपाई देशलाई माया गरिदिनुहोस् । समावेशी राष्ट्र निर्माणका निम्ति मेरै कार्यकालमा संविधान जारी भएको छ । यदि यो संविधान अपूरो भएमा राजनीतिक दल र सरकारले सच्याएर अघि बढ्न सक्छ ।’


पूर्वराष्ट्रपति यादवले नेपालको इतिहासदेखि वर्तमानसम्म गुरुङ जातिको योगदान अतुलनीय रहेको बताए । ‘गुरुङ समुदायको परम्परामा महिला र पुरुषको स्थान समान छ,’ एउटा पाँग्राले मात्र बयलगाडा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘त्यसैले गुरुङ समाजले महिला दिदीबहिनीलाई सँगसँगै अघि बढाउन शिक्षालाई विशेष जोड दिनुहोस् । आधुनिक समाजसित जोड्न सफल हुनोस् ।’


प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन २०१९ मूल आयोजक समितिका संयोजक तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले ‘एकता, अस्तित्व र पहिचान’ सम्मेलनको मूल सार रहेको बताए ।


गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले संसारका गुरुङहरू एकतावद्ध हुनुपर्ने बताए । ‘हामी संसारभरिका तमूहरू एकतावद्ध हुनसके जुनसुकै मुलुकमा हाम्रो उपस्थिति संख्यात्मकभन्दा गुणात्मक महत्व राख्ने छ,’ गुरुङ समाज तथा परिवारको आधा हिस्सा महिलाको हुने उल्लेख गर्दै उनले भने, ‘संस्कृति परम्पराप्रति हाम्रो घमण्डको पक्ष भनेको हाम्रो परिवार ५० प्रतिशत महिला र ५० प्रतिशतमात्र पुरुष हो । त्यसैले हामी एकतावद्ध भएर यो परम्परा कायम राख्यौं भने हाम्रो पहिचानमा सहयोग पुग्नेछ ।’


सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङले तमू संस्कृति, भाषा र खेमा लिपि पुस्तान्तरणका निम्ति कक्षा १२ सम्म पठनपाठन गराउँदैआएको बताए । ‘हजारौं वर्ष नेपाली भनेरमात्र चिनियौं,’ तमू भूमिमा रहेका दाजुभाइसित भेट्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘अब हामी तमू जातिको भाषा, लिपि, संस्कृतिलाई हिमाली राज्य सिक्किमको एक पहिचान कडीका रूपमा विकास गर्दैछौं ।’ सिक्किम विश्वविद्यालयसितको सहकार्यमा शब्दकोश निर्माण भएको र स्नातक तहमा पठनपाठन तयारी रहेको बताए ।


पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले तमू भाषा, संस्कृति, धार्मिक परम्परा, धर्मग्रन्थ निर्माण महत्वपूर्ण रहेको बताइन् । ‘तमू भाषा, संस्कृति, तमूवेद निर्माण कार्यको प्रवर्द्धन गर्दै युवा पुस्तालाई हस्तान्तरण गर्न जरुरी छ,’ ८० वर्षीया घलेले भनिन्, ‘यो अन्तर्राष्ट्रिय सम्मेलनले तमू पहिचान हराउन नदिने उपाय पहिल्याउनेमा विश्वस्त छु ।’

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विद्यमान संविधानले आदिवासी जनजाति, उत्पीडित समुदायका निम्ति विभेदकारी रहेको बताए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले सूचिकृत ५९ आदिवासी जनजातिलाई सरकारले प्राथमिकता दिन नसकेको बताए ।

त्यस अवसरमा समाजलाई विशेष योगदान पुर्‍याएका लालकाजी गुरुङ र शेष घलेलाई कदरपत्र प्रदान गरिएको थियो । साथै, खेमा लिपिका अभियन्ता भीम गुरुङ लिखित ‘तमु ताँ पोंले’ (गुरुङ कुरा बोलौं) पुस्तक सार्वजनिक गरिएको थियो । सम्मेलनको पहिलो दिन प्रत्येक देशका प्रतिनिधिले संस्थागत परिचय प्रस्तुत गरेका थिए । त्यसैगरी टेकबहादुर गुरुङले ‘तमू जातिको उत्पत्तिको इतिहास’, छाम्पामेघी लामा गुरुङले ‘तमू जातिको संस्कार तथा संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रकाशित : आश्विन २४, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?