१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपालको हितमा साझेदारी : प्रधानमन्त्री [सीको भ्रमण तालिकासहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् ।

नेपालको हितमा साझेदारी : प्रधानमन्त्री [सीको भ्रमण तालिकासहित]

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा उनले भ्रमणमा तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्त्व दिने बताए ।


छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेपाल र चीनबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानीको ढाँचाबारे पनि छलफल गरिने जानकारी गराएका छन् । ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं,’ ओलीले छलफलमा भनेका थिए ।


पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठका अनुसार चीनसँग सडक र पूर्वाधार निर्माणका विषयमा मुख्य छलफल हुने जनाउँदै प्रधानमन्त्री ओलीले किमाथांका र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषयमा चीनसँग वार्ता हुने बताएका छन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको भ्रमणपछि २३ वर्ष अन्तरमा हुन लागेको राष्ट्रपति सीको भ्रमणलाई ‘आपसी विश्वास र आत्मीयताको कडी’ का रूपमा लिइएको उल्लेख गर्दै श्रेष्ठले अब दुई देशको आर्थिक सहकार्य स्पष्ट रूपमा देखापर्ने विश्वास व्यक्त गरे ।


‘राष्ट्रपति सीको भ्रमण अवसरमा केरुङ–काठमाडौं रेल्वेको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारे समझदारी हुँदै छ,’ उनले कान्तिपुरसँग भने, ‘पाँचखालको विशेष आर्थिक क्षेत्रको प्रस्ताव पनि अघि बढ्ने भएको छ । यो द्विदेशीय आर्थिक सहकार्यको संकेत हो ।’


करिब ४ घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणको तयारीबारे जानकारी गराएका थिए । छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । छलफलका सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको भ्रमणमा मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), इन्डो–प्यासिफिक जस्ता रणनीतिबारे अनेक व्याख्या–अपव्याख्याका कारण भ्रम फैलिएको उल्लेख गर्दै कूटनीतिक मामिलामा मुलुकले सधैं एउटै ‘अडान’ राख्न जरुरी रहेको बताए । ‘हामीले नेपाल–भारत सम्बन्धको कुरामा १९५० को सन्धि परिमार्जनसहितमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गर्‍यौं,’ भट्टराईले कान्तिपुरसित भने, ‘सन् १९६० को नेपाल–चीन शान्ति सम्झौता परिमार्जनका लागि चीनले पनि प्रस्ताव गर्दै आएको धेरै भइसकेको छ । यसलाई पनि अद्यावधिक गर्नेतर्फ नेपाल सकारात्मक बन्न सक्नुपर्छ ।’ उनले लिपुलेकको नेपाल–भारत–चीन त्रिपक्षीय विन्दुलाई भारत र चीनले आफूखुसी ‘द्विपक्षीय विन्दु’ बनाएको उल्लेख गर्दै यस्तो गम्भीर विषयमा चिनियाँ राष्ट्रपति तहको भ्रमणमा ध्यानाकृष्ट हुन जरुरी रहेको बताए ।


आफूहरू नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘ऋण लिएर रेलजस्ता ठूला आयोजना हतारोमा सुरु नगर्न ध्यानाकर्षण गराएका छौं ।’ नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि उनले सरकारसँग आग्रह गरे ।

यस्तो छ सीको भ्रमण तालिका


शनिबार

बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने

करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने

करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने


आइतबार

करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने

करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

प्रकाशित : आश्विन २४, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?