महरा अस्पताल भर्ना, मुटु र स्वासप्रस्वासमा समस्या देखिएको चिकित्सकको भनाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए अनुसार नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्‍याइएका महराको स्वास्थ्य परिक्षण पश्चात अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था देखिएको छ।

'उपचारमा स‌ंलग्न चिकित्सकले नै भर्ना गर्नुपर्छ भनेपछि अस्पताल भर्ना गरिएको हो,' उनले भने।
महराको पक्राउ परेको दिनदेखि नै रक्तचाप अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा पनि केही समस्यादेखिएको थियो। त्यसपछि हिरासतमै उनलाई अक्सिजन दिने व्यवस्था प्रहरीले मिलाएको थियो।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो। यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो।

प्रहरीले गत शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

प्रकाशित : आश्विन २३, २०७६ १७:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद्‌द्वारा २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।  

त्यस्तै बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार बैठकले ०७६/०७७ मा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ७ वटा आयोजनाका लागि ६० जना राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सहायक रथीद्वय अशोकराज सिग्देल, गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै नख्खु खोला-भैंसेपाटी-बुङ्गमति सडक स्तरोन्नती गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, नेपाल भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति संयुक्त कार्यसमूहको सातौं बैठकमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

प्रकाशित : आश्विन २३, २०७६ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT