मन्त्रिपरिषद्‌द्वारा २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।  

त्यस्तै बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार बैठकले ०७६/०७७ मा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ७ वटा आयोजनाका लागि ६० जना राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सहायक रथीद्वय अशोकराज सिग्देल, गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै नख्खु खोला-भैंसेपाटी-बुङ्गमति सडक स्तरोन्नती गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, नेपाल भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति संयुक्त कार्यसमूहको सातौं बैठकमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

प्रकाशित : आश्विन २३, २०७६ १७:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा : सरकारका प्रवक्ता बाँस्कोटा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

'हामीले महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा गरेका छौं' सञ्चारमन्त्री बाँस्कोटाले भने। उनले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको पनि बताए।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार नेपाल आउने कार्यक्रम छ।

सी भ्रमणका क्रमममा रेल्वे, सडक, फाइबर, विद्युत्‌का ट्रान्समिसन विस्तारको एजेन्डा रहने बताए। उनका अनुसार दुई देशका अधिकारीबीचअरनिको राजमार्ग स्तरोन्नति,रसुवागढी-छहरे-काठमाडौं टनेल, रेल्वे, उत्तर-दक्षिण करिडोर, सीमा व्यवस्थापनका विषयमा सकारात्मक छलफल चलिरहेको छ।

मन्त्री बाँस्कोटाले २३ वर्ष पछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल मात्रै नभइ ऐतिहासिक बनाउन सरकार लागि परेको बताए । उनले राष्ट्रपति सीको भ्रमण पूर्ण सफल पार्न नागरिक, विभिन्न राजनीतिक दलहरुबाट सहयोग हुने आशा र अपेक्षा राखेको पनि बताए ।

यो पनि

प्रकाशित : आश्विन २३, २०७६ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT