राष्ट्रपति सीको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले गरे सर्वदलीय बैठक, बैठकमा पराष्ट्रमन्त्रीले भने- ‘सुपुर्दगी सन्धीबारे छलफल मात्रै हुन्छ’

जगदीश्वर पाण्डे

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका दौरान सुपुर्दगी सन्धी बारे छलफल मात्र हुने भएको छ । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार र आइतबार नेपाल आउने कार्यक्रम तय भएको छ । 

राष्ट्रपति सीको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले गरे सर्वदलीय बैठक, बैठकमा पराष्ट्रमन्त्रीले भने- ‘सुपुर्दगी सन्धीबारे छलफल मात्रै हुन्छ’

सी भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले सीको भ्रमणमा दुई मुलुकबीच सुपुर्दगी सन्धी नहुने प्रष्ट पारेका हुन् । बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘भ्रमणको दौरानमा सुपुर्दगी सन्धीको बारेमा छलफल हुन्छ । र, साथै सीमा व्यवस्थापन र कानुनी सहायता सम्बन्धी सम्झौता हुनसक्छन् ।’


बैठकको सुरूआतमै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘चीनसँग सुपुर्दगी सन्धी के हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञावालीले सो कुरा बताएका हुन् ।


पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले पनि भारतसँग हुने भनिएको सुपुर्दगी सन्धीको बारेमा उल्लेख गर्दै तेस्रो मुलुकका नागरिकलाई पनि यस अन्तरगत ल्याउन पर्छ भन्दा हस्ताक्षर हुन नसकेको बताएका थिए ।


नेपालको अर्को छिमेकी भारतले पनि पटक–पटक सुपुर्दगी सन्धी गर्न नेपाललाई आग्रह गरे पनि हालसम्म हुन सकेको छैन ।


सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीको भ्रमण सबै मिलेर सफल बनाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणको विषयमा सबैलाई जानकारी गराउँदै भ्रमणलाई सफल बनाउन अनुरोध गरेका थिए ।


बालुवाटारमा भएको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।



प्रकाशित : आश्विन २३, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?