चितुवाको आक्रमणबाट बालकको मृत्यु

प्रताप रानामगर

(दमौली) — पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ छ ।दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्रा चार वर्षीय आशिष बानिया“को ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

चितुवाको आक्रमणबाट घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । घटनापछि चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् ।

प्रकाशित : आश्विन २२, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भुमेकोटको सामुहीक टीका (तस्बिरहरु)

लालप्रसाद शर्मा

खौलालाँकुरी (पर्वत) — मंगलबार बडा दसैंको दशमीको दिन बिहान १० बजेतिरै स्थानीय र छिमेकी गाउँबाट फूल अक्षता र दहीसाथ मानिसहरु भुमेकोटमा जम्मा भइसकेको थिए । टीकाको साइत थियो १०:३५ बजे । पुजारीहरु साढे १० बजे मूलकोतको अगाडि रहेको मौलोमा फूलपाती लिएर बेद र चण्डीको मुलमन्त्र पढ्न थाले ।

पढिसकेपछि मुल मौलो र कोटको चारकुनामा रहेका थानमा फुलअक्षता र दही खन्याइयो । स्थानीय दमाई जातिले कर्नाल, सनई र दमाहा बजाएर नगरा लगाए । लगत्तै एकापसमा टीका लगाउन शुरु भयो ।

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी भूमेकोतमा दसैंमा सामुहिक टीका लगाउने चलन छ । नेपाल एकिकरण पूर्वका भूरेटाकुरे राजारजौटाको पालादेखिको संस्कृतिलाई स्थानीयले निरन्तरता दिँदै आएका हुन् ।

‘यो गाउँको एक संस्कृति हो । सामुहिक टीका ग्रहणले गाउँलेबीच एकता गराउँछ,’ कोट व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर केसी भन्छन्, ‘सामुहिक टीका लगाउँदा कसैको निधार खाली हुँदैन ।’ कोटमा टीका लगाएर घर पुगेपछि कोटबाट लगेका अक्षता दैलो, बाकस र दलानको मुड्कोमा लगाइन्छ । त्यसपछि बल्ल घरमा लगाउने चलन छ ।

दसैंमा आफुभन्दा जेठोबाट टीका थापेर आशिस लिने परम्परा छ । तर कोटमा भने बाबुछोरा र हजुरबा नातीबीच पनि टीका लगाउने चलन छ । धेरै भन्दा धेरै ब्यक्तिको हातबाट टिका लगाएमा मोक्ष प्राप्त हुने विश्वास गर्छन, पुजारी भुवानीप्रसाद पौडेल ।

‘सामुहिक टीका लगाउने यो पुरानो चलनलाई हामीले निरन्तरता दिएका हौं । यसले बुढापाकाको निधार खाली राख्नु परेन,’ उनी भन्छन, ‘कोतमा आउने सबैले टीका लगाउने र लगाइदिने अधिकार हुन्छ । टीकाका लागि खौलालाँकुरी ठूलीपोखरी, आर्थरडाँडाखर्क, पकुवालगायत स्याङजाको बिचारीचौताराबासी आउने गर्छन । कोतमा दलित समुदायको पनि छुट्टै सामुहिक टीका ग्रहण गर्छन । अहिलेसम्म दलित र गैरदलितबीच सामुहिक टीका भने भएको छैन ।

अहिलेसम्म कोतको ऐतिहासिक पक्षबारे खासै खोजबिन भएको छैन । यसको गुठीसमेत रहेकोमा विभिन्न ब्यक्तिले हड्पे पनि त्यो खोज्ने पहल भएको छैन । जुम्लाबाट आएका राजा र त्यसपछि थुप्रै भुरेटाकुरेले शासन गरेको बुढापाका बताउँछन । महाअष्टमीको मध्यरातमा बली दिइएको बोकाको प्रसाद हनुमानढोका पुराउने चलन भएपनि अहिले बन्द छ ।


प्रकाशित : आश्विन २२, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT