२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

खराब आचरणका कसैलाई छोडिन्न : प्रधानमन्त्री ओली

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले खराब आचरण भएका कसैलाई पनि सरकारले नछोड्ने बताएका छन् । उनले ठूलो सानो नभनी खराब आचरण भएकालाई सरकारले कारबाही गरि छाड्ने बताए । 

खराब आचरणका कसैलाई छोडिन्न : प्रधानमन्त्री ओली

‘कसैको आचरणमा तलमाथि भयो भने त्यसलाई कारबाही हुन्छ । ठूलो र सानो भन्ने कुराको मतलब हुँदैन । आचरण र व्यवहारको मतलब हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट र आचरण खराब भएकालाई म छोड्दिन ।’


सोमबार गृहनगर झापाको दमकमा आफैंले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै ओलीले मुलुकमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । फाउँको जिन्दगी बाँचिरहेको छु । मेरो नाममा भएको सम्पत्ती पनि पछि सरकारकै हुन्छ,’ उनले भने ।


ओलीले सरकारले मुलुकमा तीव्र गतिले विकास गरिरहेको दाबी गरे । आफू राष्ट्र निर्माणको गतिमा अघि बढेकाले विगतका भन्दा वर्तमान सरकारले मुलुकको चौतर्फी विकास गरिरहेको उनले बताए । ‘जसले जस्तो हल्ला गरेपनि पहिला भन्दा मुलुकको विकास तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘नदेख्नेले केही गर्दा देख्दैनन् ।’


उनले आफू नेतृत्वको सरकारले एक बर्षको अवधिमा १६ सय किलोमिटर सडक कालोपत्रे गरेको, ४ सय बढी पक्की पुल, ४ सय बढी झोलुंगे पुल निर्माण गरेको जानकारी दिए । राष्ट्र निर्माणको अभियानमा सबै पार्टीलाई सरिक हुन ओलीले आग्रह समेत गरे । उनले कुनै पार्टीप्रति आफ्नो कटुता नरहेको स्पष्ट पारे ।


‘चुनावको बेला आआफ्नो बाटो लाग्नु ठिकै छ । तर, राष्ट्र निर्माणमा सबै एकजुट भएर सहकार्य गरेर अघि बढौं । म सबै पार्टीलाई आग्रह गर्न चाहान्छु,’ उनले भने । उनले उत्तरी छिमेकी चीन जोड्ने बाटाहरु पनि अब चाडै नै फराकिला चार लेनको हुने बताए ।


सरकारले गरेका परिवर्तन हुने–खानेको लागि केही फरक नपरेपनि गरिब, विपन्न वर्गका लागि फरक परिरहेको उनले बताए । ‘वर्षौदेखि सुविधामा रहेकाहरुलाई सरकारको कामले केही परिवर्तन भएन होला । तर, हावाहुरीले घर उडाएकाहरुलाई, फि तिर्न नसकेर छोराछोरी स्कुल पठाउन नसकेका जनतालाई धेरै परिवर्तन भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तराई–मधेसमा हावाहुरीले घर भत्काएका ८६९ परिवारलाई सरकारले पक्की घर बनाईदिएको छ । फी तिर्न नसक्ने गरिबका छोराछोरीहरुले पनि स्कुल पढ्न पाएका छन् ।’


प्रधानमन्त्री ओलीले चाडपर्वको नाममा साप्रदायिकता भड्काउने अभिव्यक्ति नदिन आग्रह गरे । बडादशैं, दीपावली, छठलगायत चाडपर्वले मुलुकलाई सांस्कृतिक रुपमा एकताबद्ध बनाइराखेको उनको भनाई छ । उनले सांस्कृतिक एकताजस्तै राष्ट्र निर्माणमा पनि सबै पार्टीबीच एकता जरुरी रहेको औल्याए ।

प्रकाशित : आश्विन २१, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?