१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् ।

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

‘यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ,’ सन्देशमा भनिएको छ ।


प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण :

दिदीबहिनी तथा दाजुभाइहरु,

हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।


दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।


यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।


चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ।


आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना ।


प्रकाशित : आश्विन २१, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?