कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँ फर्किनेलाई बाजाले स्वागत

तुलाराम पाण्डे

(कालीकोट) — महाबैका २६ वर्षीय लोकजंग सिंह १६ वर्षपछि दसैं मनाउन घर फर्किएका छन् । सशस्त्र द्वन्द्वका कारण गाउँमा पढ्ने वातावरण नभएपछि बुबा रनबहादुरसँगै भारतको हृषिकेश पुगेका उनी यसपालिको दसैं घरपरिवारसँग बसेर मनाउँदै छन् । ‘पहिले गाउँघर अशान्ति थियो, अब त शान्ति छायो, दसैं पनि रमाइलोसँग मनाउने हो,’ उनले भने, ‘गाउँमा दाजुलाई खसीको व्यवस्था गर्न भनिसकेको छु ।’ 

घरबाट भारत जाँदा ४ दिन पैदल हिँडेर सुर्खेत झरेका सिंह यसपटक गाडीबाट झरेर तीन घण्टामै घर पुगे । वरपर नौलो परिवेश देखे । नयाँ पुस्ता बिरानो देखिन थाले । ‘तैपनि दसैंमा रमाइलो महसुस भइरहेको छ, सबैले स्वागत गर्नुभएको छ,’ उनले भने, ‘धेरै पछि भेट हुँदा मन दंग पर्ने नै भयो ।’ उनीसँगै सशस्त्र द्वन्द्वको क्रममा भारत हुँदै अमेरिका पुगेका कर्णबहादुर पनि पाँच वर्षपछि गाउँ आएका छन् । यसले उनलाई झन् रोमाञ्चक बनाएको छ ।


लामो समय रोजगारीका लागि विदेश गएकाहरू दसैंमा उत्साह बोकेर घर फर्किएका छन् । ०७० सालमा रोजगारीका लागि मलेसिया गएका नरहरिनाथ–४ कुमालगाउँका भीमबहादुर विक गाउँ नयाँ बने पनि दसैंको माहोल भने पुरानै रहेको बताउँछन् । ‘विदेशमा बस्दा काम पनि गरें, पैसा पनि कमाएँ,’ उनी भन्छन्, ‘तर धर्मसंस्कृति र परम्परा भने झन्डै भुलिएछ, त्यो अवसरको लागि त गाउँमै आउनुपर्छ ।’


८ वर्षसम्म भारतको मुम्बईमा बसेका खाँडाचक्र नगरपालिका–२ पोरिपाल्नाका विपिन विश्वकर्मा भने परिवारका नयाँ सदस्यसहित आएका छन् । सिक्किमकी सबिना राईसँग बिहेबारी गरेका उनका एक छोरा पनि छन् । उनलाई सेरिघाटबाटै आफन्तले बाजागाजासहित स्वागत गरेर घर पुर्‍याए । ‘लामो समय विदेशमा बसें, बिहे पनि उतै गरें, अहिले आफन्तको स्वागत देख्दा मन फुरुंग छ,’ उनले भने, ‘दसैंपछि सायद स्वदेशमै बस्ने योजना बनाउँछु ।’

दसैंको माहोल नफेरिएझैं कतिपय स्थानीयको दसैं दु:ख पनि फेरिएको छैन । भारतको नैनीतालबाट यसै साता घर आएका मान्मका सर्जन विकले एक वर्ष काम गरेर २३ हजार रुपैयाँ मात्र बचाएका छन् । ९ जनाको परिवार यही पैसाले दसैं मनाउने तयारीमा छ । ‘छरछिमेकमा जे काट्छन्, ल्याएर घरपरिवारसँग दसैं मनाउँछु,’ उनले भने, ‘जेजस्तो दु:ख भए पनि दसैंमा दु:ख त देखाउनुभएन ।’


दसैं/तिहारलगायत चाडपर्व कर्णालीबासीका लागि महँगा हुँदै गएका छन् । विगतमा आफ्नो घरमा जेजस्तो पाइन्छ, त्यसैमा सन्तोष मानेर पर्व मनाउने चलन रहे पनि अचेल देखासिकीका कारण खर्च गर्नेहरूको संख्या बढ्दो छ । घरमा नभए पनि ऋण गरेर मदिरालगायत वस्तुमा फजुल खर्च गर्ने प्रवृत्ति छ ।


कालीकोट, जुम्ला र मुगु सडक सञ्जालसँग जोडिएसँगै सदरमुकाम आसपासका गाउँमा चामल अभाव हुन छाडेको छ । सडकबाट टाढा रहेका हुम्ला, डोल्पा र सडकसँग नजोडिएका विकट बस्तीका नागरिक दुनैमा चामल लिन साता दिन हिँड्नुपर्ने बाध्यता अझै छ ।


प्रकाशित : आश्विन १९, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?