कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शान्ति मिसनमा सर्वसाधारण पनि

जगदीश्वर पाण्डे

काठमाडौँ — शान्ति स्थापनार्थ खटिने संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधारण व्यक्तिलाई पनि पठाउन थालिएको छ । यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेका रूपमा सर्वसाधारणलाई पनि लैजान थालिएको हो ।

सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा खटिएको २ सय ९ जनाको ‘एड्भान्स’ टोलीमा एक जना सर्वसाधारणलाई दोभासेका रूपमा पठाइएको छ । उक्त मिसनमा फ्रेन्च भाषाका लागि दोभासेका रूपमा काम गर्न गएका व्यक्तिको नाम भने उनले खुलाउन चाहेनन् । पाण्डेका अनुसार ती व्यक्तिले काम थालिसकेका छन् । ‘रक्षा मन्त्रालयको स्वीकृतिमा दोभासे व्यक्तिलाई करारमा नियुक्त गरेर शान्ति मिसनमा पठाइएको हो,’ पाण्डेले भने ।


पाण्डेका अनुसार सेनाले तिहारलगत्तै थप दुई बटालियन (६–६ सय संख्याको) पठाउन लागेको छ । ‘ती दुई बटालियनमा पनि फ्रेन्च भाषा बोल्ने दोभासे एक/एक जना पठाउने तयारी छ,’ पाण्डेले भने । उनले ती दुई व्यक्तिको पनि नाम खुलाएनन् । ती दुई बटालियन पनि सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमै जाने छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले मिसनमा काम गर्दा सामान्य भाषाले नपुग्ने हुनाले त्यस मुलुकको भाषामा पोख्त व्यक्तिलाई पठाइएको बताए । ‘दोभासे टोलीसँगै लाँदा सञ्चारमा समस्या हुँदैन,’ उनले भने ।


नेपाली सेनाले पहिलो पटक पर्यवेक्षकका रूपमा सन् १९५८ मा लेबनानमा भाग लिएको थियो । सन् १९५५ मा राष्ट्रसंघको सदस्य लिएको नेपालले तीन वर्षपछि पर्यवेक्षकका रूपमा भूमिका निर्वाह गरेको थियो । नेपालले सन् १९७४ मा इजिप्टबाट शान्ति सेना पठाउन थालेको हो । विभिन्न मिसनमा १ लाख २६ हजार ५ सय १८ जना सहभागी भइसकेका छन् । १३ सय १४ महिलाले शान्ति स्थापनार्थ भूमिका खेलेका छन् । सन् २०१९ को सेटेम्बर २९ सम्ममा नेपाली सेनाले विश्वभर १२ मिसनमा आफ्नो शान्ति स्थापनार्थ टोलीलाई खटाएको छ । हाल ५ हजार १ सय सैनिकले शान्ति स्थापनाका लागि भूमिका खेलिरहेका छन् । जसमा एक सय ९४ महिला छन् ।


मिसनका दौरान ६३ जनाले ज्यान गुमाएका छन् भने ५९ सैनिक घाइते भएका छन् । शान्ति मिसनमा स्थल सैनिक मात्र नभएर इन्जिनियर, डाक्टर, स्पेसल फोर्सले समेत सहभागिता जनाएका छन् । नेपाल राष्ट्रसंघको शान्ति मिसनमा सैनिक पठाउने मुलुकमध्येमा छैटौं नम्बरमा छ ।


प्रकाशित : आश्विन १८, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?