गाउँमा रौनक

आश गुरुङ

लमजुङ — क्ब्होलासोंथर गाउँपालिका–५ सिङ्दीका मीनबहादुर गुरुङ भारतीय सेनाबाट छुट्टी लिएर गाउँ आएका छन् । लामो समयपछि घरपरिवार, साथीसंगी र आफन्तसँग दसैं मनाउने उनको धोको पूरा हुँदै छ ।

मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका देवबहादुर गुरुङ पनि कुवेतबाट फर्किएका छन् । विगतमा आउन नपाएका उनी यसपटक बिदा मिलाएर आएका हुन् । वडाध्यक्ष रुद्रमान गुरुङका अनुसार विदेशी सेनामा रहेका, रोजगारीको सिलसिलामा विदेश गएका तथा सहरबजार झरेकाहरू गाउँ आउने क्रम जारी छ । ‘गाउँघर छाडेकाहरू दसैंमा आउँदा रौनक आएको छ,’ उनले भने, ‘आफन्त, साथीसँगै सबै रमाएका छन् ।’


सिङ्दीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार दसैंमा आयोजना गरिने फुटबल प्रतियोगितामा भाग लिन भारतीय सैनिकमा कार्यरत टोलीले यसै समय मिलाएर बिदा लिएको छ । फुटबल प्रतियोगिताको आफ्नै टिम हुनेछ ।


क्ब्होलासोंथर–४ का तुलबहादुर गुरुङका अनुसार बिदेसिएका तथा सहरबजार बसेकाहरू गाउँ फर्किएपछि गाउँमा खुसियाली छाएको छ । ‘गाउँमा पिङ बनाइएको छ । नाचगानका कार्यक्रम सुरु भएको छ,’ उनले भने । मर्स्याङ्दी–३ सिउरुङका उमरबहादुर गुरुङका अनुसार गाउँ आएकाहरू अहिले जंगलमा गएर च्याउ टिप्न थालेका छन् । कोही घरको लितपोतमा व्यस्त छन् । ‘गुरुङ गाउँ भए पनि दसैंलाई महत्त्वसाथ मनाइँदै आएको छ । यो समय घरपरिवार, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गर्ने चाडको रूपमा लिइन्छ,’ उनले भने । कोही दसैंलगत्तै, कोही तिहार मानेर फर्किने उनले बताए ।


सहरबजार भने सुनसान हुन थालेका छन् । दसैंको किनमेल गर्ने, सहरबजारबाट गाउँ फर्किने साथै विदेशबाट फर्किनेले सवारीसाधन भरिने गरेका छन् । दूधपोखरी गाउँपालिका–५ कोल्कीका धनबहादुर गुरुङका अनुसार काठमाडौं, पोखरा, चितवन, बेंसीसहर, भोटेओडार बस्नेहरू दसैं मनाउन गाउँ आएका छन् । गुरुङको सेतो टीका केही वर्षयता गुरुङ समुदायमा दसैं मान्ने कि नमान्ने भन्ने सवाल उठ्न थालेको छ । प्ये ल्हु (शास्त्र संस्कार) बादी बोन (प्रकृति) धर्मावलम्बीले दसैंलाई महत्त्वसाथ हेर्दैनन् ।


बौद्ध धर्म मान्ने तर अभियानमा नलागेकालाई भने दसैंको रौनक घटेको छैन । तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङका अनुसार उनीहरूको चाड भनेको तमु ल्होसार हो । ल्होसार सेतो टीका लगाएर मनाउने गरिन्छ । ‘दसैं पहिलेदेखि नै मान्दै आएकाले यो छोड्न नसकिएको हो तर हामी मान्दै आएका छौं । बिस्तारै परिवर्तन होला,’ उनले भने ।


नेपाली समुदाय, विशेषतः हिन्दु संस्कारमा रातो टीकाको प्रयोग हुन्छ । दसैंमा रातो टीका र जमराको महत्त्व दर्शाइन्छ तर गुरुङ समुदायमा भने दसैंमा सेतो टीका प्रयोग हुन्छ । सेतो टीकालाई शान्ति र सद्भावको रूपमा लिइन्छ । नेपालका मगर र राई, लिम्बूका अधिकांश समुदायले सेतो टीका प्रयोग गर्छन् । खेमा राख्ने (पुर्खा मनाउने) बाहेक गुरुङ समुदायले कुनै देवीदेवताको पूजापाठ गर्दैनन् ।


विजयादशमीका दिन उनीहरू धुमधामसँग सेतो टीका र जमरा लगाउँछन् । पूर्वप्राज्ञ एवं गुरुङ पुरोहित इन्द्रबहादुर गुरुङले देशविदेशका सबै गुरुङले दसैं मनाउने बताए । ‘दसैं मनाउने तौरतरिका फरक हो । मनाउन सबैले मनाउँछन्,’ उनले भने । दसैंको तिथिमिति एउटै भए पनि मनाउने परम्परा छुट्टै रहेको उनले बताए । विजयादशमीको दिन मान्यजनबाट दहीचामल मुछेको सेतो अक्षता र जौ तथा मकैको जमरा लगाइन्छ । उनका अनुसार सेतो टीका प्राकृतिक रङ हो ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नाकामै पुगेर यात्रु तानातान

नेपालगन्जका होटलले दसैंका यात्रुलाई ताकेर रपैडियामै बिचौलिया खटाएका छन् । उनीहरु आफ्नो होटलमा बसे रिक्सा भाडा तिर्न नपर्ने अफर गर्छन् । तर गन्तव्य पुगेपछि रिक्सावालाले तोकिएभन्दा पनि बढी झाडा माग्ने गरेको यात्रुको गुनासो छ । ५० रपैयाँ भाडादर तोकिएकामा १७ सयसम्म असुल्ने तीन रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मधु शाही, रुपा गहतराज

नेपालगन्ज — रोल्पाका कुलबहादुर ओलीसहित १० जनाको टोलीले नेपाली सीमा टेक्नेबित्तिकै नमस्कार हजुर भन्दै एक हूल मानिस पुगे । सबैले आफ्नो होटलमा जाऊँ भन्दै ‘लबिइङ’ गर्न थाले । यात्रुसित नाता लगाउँदै आफ्नै होटलमा बस्न जिद्दी गरे । 

दसैंका यात्रुलाई लक्षित गरी नेपालगन्जका होटल र रिक्सावालाले नाकामै बिचौलिया खटाएका छन् । यसरी खटिएका व्यक्तिले रिक्सा भाडा नलाग्ने भन्दै ग्राहक तान्ने गर्छन् । शुक्रबार बिहान ८ बजे भारतबाट नेपालगन्जको जमुनाहा नाका आइपुगेका दाङका ३५ वर्षे धीरज पौडेल यसैगरी घेरिए । आफ्नो वरिपरि मान्छे देखेर सुरुमा आत्तिए । ‘कसको कुरा सुन्ने, कसको नसुन्ने ?’ उनले भने, ‘यहाँ एउटै रेट रहेनछ, मोलमोलाउ गर्दा फसिने डर ।’

सुर्खेतका गोविन्द जीसीसहित ५ जनाको समूह जमुनाहामा एक घण्टा अलमल पर्‍यो । बिचौलियाले झोला तान्दै लबिइङ गरिरहेका थिए । उनले आफन्तीलाई फोन गरेर बोलाए । ५० रुपैयाँ रिक्सा भाडा भन्दै गन्तव्य पुगेपछि ३ सय रुपैयाँसम्म माग्ने गरेको उनले सुनाए । ‘बिचौलियाले धोका दिएका छन्, धेरैपटक’ उनले भने । होटलका बिचौलियाले रिक्सा सित्तैमा मिलाइदिने भन्दै मान्छे लगेपछि सामान्य रिक्सावाला पीडित छन् । १० देखि २० जनाको हूलमा बाँधिएर आउने नेपालीलाई एउटै बिचौलियाले लैजाने गरेका छन् । रिक्सा चालक सुशील विकका अनुसार होटल व्यवसायीले रिक्सा सित्तैमा मिलाइदिने भन्दै यात्रु लैजाँदा उनीहरू जस्तालाई मर्का परेको छ । ‘निःशुल्क रिक्सा भनेर होटलमा ठग्छन्,’ उनले भने, ‘हामीले मान्छे नै राख्न पाएका छैनौं ।’

प्रहरी नायब निरीक्षक माधव रिजालले दसैंका लागि भारतदेखि आउने यात्रुले नाकामा सास्ती खेप्न नपरोस् भनेर कडा सुरक्षा तैनाथ गरेको बताए । उनका अनुसार यात्रु जबर्जस्ती तान्ने १० जना बिचौलियालाई जमुनाहाबाट पक्राउसमेत गरिएको छ । जमुनाहा नाका हुँदै नेपालगन्जसम्म आउन प्रतिव्यक्ति ५० रुपैयाँ रिक्सा भाडा तोकिएको छ तर ३ जना रिक्सा चालकले १७ सय रुपैयाँसम्म लिएको पाइएको प्रहरीले जनाएको छ । ‘नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति छ,’ रिजालले भने, ‘सकेसम्म व्यवस्थित गराउन प्रहरी लागिपरेको छ ।’

वर्षभरि कालापहाड, दसैंमा घर
कालीकोटका धनबहादुर घर्ती नेपाली नागरिकता खल्तीमा हालेर हरेक वर्ष भारत पस्छन् । यही उनको परिचयपत्र हो । उच्च पहाडी जिल्लामा घर, त्यहीँ बस्छन् परिवार सदस्य । वर्षभरि भारतमा कमाएको पैसा लिएर उनी हरेक दसैंमा घर आउँछन् । ५० कटेका उनी यसपालि बुधबार फर्किए । ‘थकाइ मेट्न आएको हुँ,’ उनले कान्तिपुरसित भने, ‘दुई–चार दिन घरमा बसेर फेरि कालापार (भारत) आउनु छ ।’

एक महिनायता नेपालगन्ज–रुपैडिया नाका हुँदै घर फर्किनेको लर्को लामो छ । कोही एक वर्षअघि त कोही गत बर्खामा खेतीपाती सकेर दसैं खर्च जोहो गर्न कालापहाड पुगेका थिए । नेपालगन्ज बजारभरि हातमा झोला र भारी बोकेका मध्य तथा सुदूर पहाडका सर्वसाधारणको लस्कर देखिन्छ । सल्यानका मोहनबहादुर बुढाले सिम्लामा दुई महिना स्याउ टिप्ने काम गरे । त्यसबापत लालाबालालाई कपडा र दसैंमा खानपिनका लागि खर्च जुटयो ।

फर्किदा एक पेटी स्याउको भारी कसे । रुपैडिहा नाका हुँदै घर आउने क्रममा उनको मुहार हँसिलो देखिन्थ्यो । ‘दसैं मनाउन घर सम्झेर आया हो,’ उनले भने, ‘खर्च नि उतैबाट ल्याछु ।’ उनको झोलामा तरकारीमा हाल्ने जीरा, मरमसला र लुगा छन् । ‘यहाँ किन्ने भनेको खसी मात्र हो,’ उनले भने, ‘त्यसका लागि पैसा जुटाउन भारत जानुपर्छ ।’

उनका दुई छोरा–बुहारी र पत्नी पनि भारतमै बस्छन् । जमरा राख्नुपर्ने भएकाले पत्नी घटस्थापनाभन्दा केही अघि नै आइसकेकी छन् । दैलेखका ६० वर्षीय अमर सिंहले दसैंका लागि भारतबाट ओढ्ने ओछ्याउनेदेखि घरायसी सामग्री बोकेर ल्याएका छन् । नेपालमा महँगो पर्ने हुँदा उतैबाट खरिद गरेको उनले बताए । ‘तीन महिना मजदुरी गरेर दसैं खर्च जुटाएँ,’ उनले भने, ‘तिहारसम्म पुग्छ । फेरि भारत पस्नुपर्छ ।’ उनी प्रत्येक वर्ष यसैगरी दसैंमा आउँछन् ।

भत्किन लागेको घर लिपपोत गरेर चिटिक्क पार्छन् । बसुन्जेल रमाइलो गर्छन् । फेरि घर एक्लै छाडेर भारत जान्छन् ।
पुर्ख्यौली जमिन भएकाले चटक्क माया मार्न सकेका छैनन् । जग्गाजमिन रेखदेख र घर लिपपोत गरेर सुरक्षित राख्नुपर्ने उनले बताए । ‘नाति–नातिनाले के गर्छन्, थाहा छैन,’ उनले भने, ‘बाँचुन्जेल दसैंमा घरै आउँछु ।’ नाकामा कोही एक्लै भेटिन्छन् । कोही हूल बाँधेर फर्किरहेका हुन्छन् । धेरैका हातमा झोला, काँधमा गुन्टा हुन्छन् । बर्दियाको बाँसगढी नगरपालिका–२ की टपकुमारी वली तीन दिनअघि रुपैडियामा भेटिइन् । सीमा काटेर जमुनाहा पुग्नेबित्तिकै घरमा छोरालाई फोन गरिन्, ‘म अब दुई घण्टामा पुग्दै छु ।’

उनको खुसीको ठेगान थिएन । स्याउ टिम्न सिम्ला गएकी उनी पाँच महिना बसेर फर्केकी हुन् । ‘दसैं मान्न आइयो,’ उनले भनिन्, ‘दुःख छ, त्यही पनि काम नगरे बाँच्न गाह्रो हुन्छ ।’ पतिको कमाइले घर खर्च नधानेपछि आफू पनि खटिनुपरेको वलीले बताइन् । ‘अब त जान्नँ, नेपालीलाई कुकुरजस्तै काम गराउँछन्,’ उनले भनिन्, ‘जसोतसो गाउँघरमै काम खोज्नुपर्ला ।’

जाजरकोटका रामबहादुर बुढा खेतीपाती सकेर दसैं खर्च जोहो गर्न भारत गए । फर्किंदा ३० हजार भारतीय रुपैयाँ ल्याएको उनले बताए । ‘धेरै कमाउन सकिएन । २ महिनामा के कमाउनु ?’ उनले भने, ‘जसोतसो दसैं टर्छ अनि फेरि जान्छु ।’ तीन दिनअघि भारतबाट हिँडेका उनीहरू गत मंगलबार रूपैडिया आइपुगेका हुन् । भारतको सिम्ला, प्रयाग, हरिद्वार, कालापहाडबाट घर फर्किने धेरै छन् । टीकासम्म यसरी आउने क्रम चलिरहन्छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×