१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बुर्कामा लुकाएर मानव तस्करी !

सरकारले २०७३ चैतमा महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि संगठित मानव तस्करहरूले महिलालाई धर्म र परिचय परिवर्तन गराएरसमेत पठाइरहेकै छन्
जनकराज सापकोटा

काठमाडौँ — बुर्का लगाएका पाँच भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उड्न हिँडेका थिए । अध्यागमन अधिकृतलाई भारतीय मतदाता परिचयपत्र र इन्डिगो एयरको बोर्डिङ पास देखाएर उनीहरूले सजिलै प्रस्थान अनुमति लिए । तीन जना अन्तिम सुरक्षा जाँच पास गरेर सरासर प्रतीक्षा कक्षमा पुगे । 

बुर्कामा लुकाएर मानव तस्करी !

अन्य दुई जना पनि त्यसैगरी अघि बढ्दै थिए । सुरक्षामा खटिएका प्रहरीले रोकेर उनीहरूको नाम सोधे । सुस्तरी हिन्दीमा बोलिरहेकी एक महिला आफ्नो नाम भन्न अकमकाइन् । र, एकछिनपछि उनले जुन भारतीय मतदाता परिचयपत्र देखाएर प्रस्थान अनुमति लिएकी थिइन्, त्यसमा भएको भन्दा अर्कै नाम बताइन् । त्यसपछि यी दुई जनाको झूटको पोल खुल्यो । पक्राउ परे । सुरक्षा जाँच सकेर प्रतीक्षा कक्षमा पुगेका अन्य तीन जनासमेत समातिए ।


घटना असोज १२ को हो । संगठित मानव तस्करीको गिरोहले काभ्रेकी सन्चमाया तामाङ, कञ्चनपुरकी सीतादेवी चौधरी, गुल्मीकी मीना कुँवर, सिन्धुपाल्चोककी कृष्णमाया तामाङ र चलालमाया तामाङलाई भारतीय मतदाता परिचयपत्र बनाएर नाम मात्रै बदलिदिएन, उनीहरूको धर्म, नाम र थरसमेत परिवर्तन गराइदियो । अध्यागमन सुरक्षा छल्नकै लागि उनीहरूले मुस्लिम महिलाले पहिरिने बुर्का लगाएका थिए तर सुरक्षा जाँचमा मतदाता परिचयपत्रमा उल्लेख भएको नाम मिलाउन नसकेपछि उनीहरू प्रहरीको केरकारमा परे ।


लगत्तै प्रहरीले उनीहरूको झोलाको समेत तलासी लिए । भारतीय मतदाता परिचयपत्र र दिल्ली उड्ने इन्डिगो एयरको बोर्डिङ पास देखाएर प्रस्थान अनुमति लिएका उनीहरूले झोलामा सक्कली नेपाली राहदानी, ओमनको भिसा र ओमन एयरको बोर्डिङ पास लुकाएका रहेछन् । उनीहरू एउटा कागजात देखाएर प्रस्थान अनुमति लिई भित्र छिर्ने र त्यसलाई लुकाएर सक्कली परिचय एवं ओमन एयरको बोर्डिङ देखाएर ओमन उड्न चाहन्थे ।


सरकारले २०७३ चैतमा महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुकमा जान प्रतिबन्ध लगाएपछिका वर्षमा संगठित मानव तस्करहरूले अनेक सेटिङ मिलाएर महिलालाई खाडी मुलुक पठाइरहेका छन् । धर्म र परिचय नै बदलेर काठमाडौंकै विमानस्थलबाट उडाउने पछिल्लो प्रयास भने अध्यागमन अधिकारीहरूले नयाँ भएको बताए । यसअघि मानव तस्करले भारतको नयाँदिल्ली, कोलकातालगायत स्थानबाट म्यानमार, श्रीलंका हुँदै नेपाली महिलालाई खाडी मुलुकमा घरेलु कामदारका रूपमा पठाउँथे । पछिल्लो समय भारतीय सुरक्षा अधिकारीहरूले मानव तस्करीका घटना रोक्न सुरक्षा कडा पारेपछि तस्करहरूले नयाँ–नयाँ तौरतरिका अपनाउन थालेका हुन् ।


समातिएका पाँचै जना महिलाले एजेन्टले नै आफूहरूलाई भारतीय मतदाता परिचयपत्र उपलब्ध गराएको र बुर्का लगाउने तरिका सिकाएको बताएका छन् । पक्राउ परेका महिलाहरूले एजेन्टको पूरा नामलगायतको परिचय दिन भने आनाकानी गरिरहेको एक अध्यागमन अधिकृतले जानकारी दिए । अध्यागमन विभाग कालिकास्थानमा थुनामा रहेका उनीहरूले आफूहरू आफ्नै खुसीले विदेश जान लागेको बताइरहेका छन् ।


घटनाको थप तथ्य पत्ता लगाउन अध्यागमन विभागले उक्त दिनको विमानस्थल बाहिरको सीसीटीभी फुटेज पनि झिकाएर अनुसन्धान थालेको छ । ५ मध्ये सीता चौधरी र मीना कुँवर १२ बजेर ५ मिनेटमा ट्याक्सीबाट विमानस्थल बाहिर ओर्लेपछि एक जना पुरुषले उनीहरूसँग कुराकानी गरेको देखिन्छ तर ती पुरुष को थिए भन्नेबारे खुलिसकेको छैन । कुराकानीलगत्तै ती महिला श्रम डेस्कतर्फ नगई सरासर एक्सरे २ बाट जाँच गरेर विमानस्थलभित्र छिरेका थिए । उनीहरू ओमन एयरको काउन्टरबाट बोर्डिङ पास लिएर एकछिन पनि भित्र नबसी एक्सरे २ गेटबाट निस्केर विमानस्थल बाहिर पुगेका थिए ।


विमानस्थलभित्र प्रवेश पास लिएर छिरेकाबाहेक अन्य यात्रु बाहिर निस्कँदा सुरक्षा जाँच र बाहिर निस्कनुपर्नाको आधिकारिक कागज आवश्यक पर्छ । अफलोड भएको हो वा अन्य कारण हो भने सोही बेहोरा उल्लेख भएको कागज अध्यागमन अधिकृतबाट लिएर मात्रै बाहिर जान पाइन्छ । तर उनीहरू भने बोर्डिङ पास लिएर सजिलै एक्सरे २ बाट बाहिरिए । घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीले सजिलै विमानस्थलबाट बाहिरिँदा पनि उनीहरूमाथि केरकार नहुनुलाई सुरक्षा चुकका रूपमा अर्थ्याए । बाहिरिएका दुवै जना त्यसपछि कहाँ गए र कसलाई भेटे भन्ने पनि अनुसन्धानबाट खुलेको छैन ।


यसरी बाहिरिएका दुवै जना महिला एक बजेर २५ मिनेटमा फेरि ट्याक्सी चढेर विमानस्थलबाहिर आएको देखिन्छ । दोस्रोपटक पनि उनीहरू बी १ गेटबाट भित्र छिरेर बी १ एक्सरेमा जाँच गराएर भित्र छिरेका थिए । दुवैपटक विमानस्थल आउँदा उनीहरूले बा२ज ३३६७ नम्बरको ट्याक्सी प्रयोग गरेका थिए । दोस्रोपटक विमानस्थलभित्र छिरेर शौचालय पसी बुर्का लगाएपछि उनीहरूले हिन्दी भाषामा कुराकानी गर्दै इन्डिगो एयरको काउन्टरबाट बोर्डिङ पास लिएका थिए ।


अन्य तीन जना छलमाया तामाङ, सन्चमाया तामाङ र कृष्णमाया तामाङ भने १२ बजेर ३५ मिनेटमा ए वान गेटबाट भित्र छिरी एक्सरे २ बाट जाँच गराएर विमानस्थलभित्र छिरेका थिए । उनीहरूले सुरुमा इन्डिगो एयरबाट बोर्डिङ पास लिएका थिए । पछि १२ बजेर ५७ मिनेटमा ओमन एयरको काउन्टरमा गएर दोस्रो बोर्डिङ पास लिएको सीसीटीभी फुटेजले देखाउँछ । दुवै बोर्डिङ पास लिएपछि भने उनीहरू सजिलै ए वान गेटबाट बाहिरिएका थिए ।


सामान्य यात्रुझैं दुई समूह बनाएर विमानस्थलभित्र पसेका पाँचै जनाले विमानस्थलभित्रकै शौचालय छिरेर बुर्का पहिरिएका थिए । बुर्का लगाएपछि भारतीय मतदाता परिचयपत्र देखाएर उनीहरूले अध्यागमन अधिकारीबाट प्रस्थान अनुमति लिएका थिए । सजिलै अध्यागमन अनुमति पाएका उनीहरू अन्तिम सुरक्षा जाँचमा नाम सोध्दा मतदाता परिचयपत्रमा उल्लेख भएको नाम नबताएपछि शंकाको घेरमा परेका थिए ।


समातिएका पाँचै जनाले तिलगंगास्थित एक होटलमा एजेन्टले नक्कली परिचयपत्र उपलब्ध गराएको बताएका छन् । अध्यागमन अधिकारीहरूका अनुसार नक्कली मतदाता परिचयपत्रमा टाँसिएको होलोग्राम भने सक्कली जस्तै देखिन्छ । त्यसैले पनि अधिकृतहरूले यो घटनामा संगठित मानव तस्करको समूह संलग्न भएको हुन सक्ने अनुमान गरेको छ ।


पक्राउ परेकामध्ये सञ्चमायाबाहेक चारै जनाको वैदेशिक रोजगारीबाट फर्किएको विगत छ । प्रहरीका अनुसार कृष्णमाया, छलमाया र सन्चमायाले तीन महिनाअघि नै एक एजेन्टलाई राहदानी बुझाएको बताएका छन् । प्रारम्भिक बयानमा घरेलु कामदारका रूपमा विदेश पठाइदिने आश्वासनको भर परेर आफूहरूले राहदानी दिएको उनीहरूले बताएका छन् । सीता चौधरी र मीना कुँवरले भने अनिल कुँवर नामका व्यक्तिलाई राहदानी दिएको र उनले नै काठमाडौंमा होटलमा बस्ने व्यवस्था मिलाइदिएको जानकारी दिएका छन् ।


२६ वर्षीया हेना अहम्को नाममा जारी भएको भारतीय मतदाता परिचयपत्र देखाएर ओमन उड्न आँटेकी कञ्चनपुरकी सीतादेवी चौधरीले प्रारम्भिक बयानमा आफू पहिले कुवेतमा तीन वर्ष बसेर फर्केको बताएकी छन् । उनले अनिल कुँवर नामका एजेन्टले सिकाएअनुसार सुरुमा इन्डिगो एयरको बोर्डिङ पास लिएको र कागजात नमिलेको भन्दै विमानस्थलबाट बाहिरिएको अनि दोस्रोपटक छिरेर ओमन एयरको बोर्डिङ पास लिएर बुर्का लगाई भित्र छिरेको बताएकी छन् । यसअघि कुनै पनि देश नगएकी छलमाया तामाङले भने प्रारम्भिक बयानमा झापा घर बताउने कृष्ण नामको एजेन्टले सबै तारतम्य मिलाएर भारतीय मतदाताको नक्कली कागजात मिलाइदिएको दाबी गरेकी छन् । छलमायाले ३३ वर्षीया भारतीय महिला सीता पवारको नाममा जारी भएको नक्कली मतदाता परिचयपत्र बोकेकी थिइन् ।


अध्यागमनको अनुसन्धानले एउटै तरिका अपनाए पनि पक्राउ परेका पाँच जनाको दुई समूहबीच आपसमा चिनजानी नभएको देखिन्छ । पाँच दिन भइसक्दा पनि पक्राउ परेकाहरूले अहिलेसम्म नक्कली कागजात बनाएर विदेश उडाउने योजना बनाउने एजेन्टहरूबारे विस्तृतमा मुख खोलेका छैनन् । अध्यागमन विभागले उनीहरूलाई लिखतसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यो घटना अध्यागमनका निम्ति नौलो भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले बताए । ‘यो घटनाले नयाँ सुरक्षा चुनौतीबारे पाठ सिकाएको छ,' उनले भने ।

प्रकाशित : आश्विन १८, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?