कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

त्रिविमा को बन्ला उपकुलपति ?

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिका लागि सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम प्रस्ताव गरेको छ । शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित समितिले कोइरालालाई पहिलो नम्बरमा सिफारिस गरेको हो । शिक्षा मन्त्रालयका उपसचिव पुष्प ढकालका अनुसार डा. धर्मकान्त बाँस्कोटालाई दोस्रो र प्राध्यापक चन्द्रमणि पौडेललाई तेस्रो नम्बरमा सिफारिस गरिएको छ । 

त्रिविमा को बन्ला उपकुलपति ?

तीन जनामध्ये एक जनालाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिविको १९ औं उपकुलपति नियुक्ति गर्नेछन् । डा. कोइराला मुटु शल्यचिकित्सक हुन् । स्रोतका अनुसार सुरुमा डा. कोइरालाले इच्छा नदेखाए पनि पछिल्लो समय शिक्षामन्त्री पोखरेलसँग भेटघाट र छलफलपछि उनी सकारात्मक भएका छन् । उनी सकारात्मक भएकैले नाम सिफारिस गरिएको स्रोतले बतायो । ‘मन्त्रीज्यूले कुराकानी गरेरै उहाँको नाम सिफारिस गर्नुभएको हो,' मन्त्रालय स्रोतले कान्तिपुरसँग भन्यो ।


दोस्रो नम्बरमा सिफारिसमा परेका डा. बाँस्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन् । उनी नाक, कान, घाँटी रोगका विशेषज्ञ हुन् । पौडेल भने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष छन् । उनी त्रिविकै पूर्वरजिस्ट्रार समेत हुन् । सिफारिस समितिको वरीयताक्रमअनुसार नियुक्ति गरिए त्रिवि उपकुलपति कोइराला हुनेछन् । प्रधानमन्त्री ओलीले भने बाँस्कोटालाई उपकुलपति नियुक्त गर्ने तयारी गरेको अर्को स्रोतको दाबी छ । उनको नाम प्रधानमन्त्रीनिकट वृत्तमा यसअघि नै चर्चामा थियो ।


कोइरालालाई भने शिक्षामन्त्री पोखरेलले उपकुलपति बनाउन चाहेको मन्त्रालय स्रोतले जनायो । बाँस्कोटा र कोइराला दुवैलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्नसमेत आग्रह गरिएको थियो । दुवैले सिफारिस समितिमा उम्मेदवारी नै दिएनन् ।

तेस्रो नम्बरमा सिफारिस भएका पौडेललाई भने सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको साथ छ । त्रिवि सेवा आयोगमा पूर्वएमालेको कोटामा अध्यक्ष नियुक्त भइसकेकाले त्रिवि उपकुलपति पूर्वमाओवादी पक्षधरले पाउनुपर्ने भनी पूर्वमाओवादी निकट प्राध्यापकहरूले दाहाललगायत नेतालाई दबाब दिँदै आएका छन् । उपकुलपति बन्न नेकपा निकट करिब दर्जन प्राध्यापक आन्तरिक दौडमा थिए ।


प्रधानमन्त्रीले बाँस्कोटालाई नै नियुक्ति गर्ने सम्भावना रहेको पूर्वएमाले निकट एक प्राध्यापकले बताए । शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू भने व्यक्तित्वका आधारमा कोइराला र प्रधानमन्त्रीसँगको निकटताको हिसाबमा बाँस्कोटाले नियुक्ति पाउने बताउँछन् ।

पौडेल यसअघि माओवादी कोटामा रजिस्ट्रार नियुक्त भएका थिए । बोर्डका अध्यक्ष रहेका उनीप्रति शिक्षामन्त्री पोखरेल पछिल्ला दिनमा सकारात्मक छैनन् । उनको कार्यशैलीप्रति मन्त्रालय असन्तुष्ट छ । पूर्वएमाले निकट प्राध्यापकहरूले भने अन्य विश्वविद्यालय पूर्वमाओवादीलाई दिए पनि त्रिविको नेतृत्व छाड्न नहुने अडान राख्दै आएका छन् ।


शिक्षामन्त्रीको अध्यक्षतामा गत साउन १८ गते उपकुलपतिको नाम सिफारिस गर्न समिति गठन भएको थियो । समितिमा व्यवस्थापन संकायका डिन डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य थिए । त्रिविमा हाल रेक्टर सुधा त्रिपाठीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन् । दुई महिनादेखि उपकुलपतिलगायत पदाधिकारीविहीन अन्य ५ विश्वविद्यालयमा पनि कार्यवाहक छन् । पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको म्याद पनि असोज अन्तिमसम्म सकिँदै छ । संस्कृत, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि उपकुलपति लगायतका पदाधिकारी नियुक्तिका लागि शिक्षामन्त्रीको नेतृत्वमा सर्च कमिटी गठन गरिएको थियो । तर नाम सिफारिस हुन गर्न सकेको छैन ।


विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारी बन्न नेकपा निकट प्राध्यापकहरूको उच्च राजनीतिक तहमा दौडधुप चलिरहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसम्म उनीहरूले लबिइङ गरिरहेको स्रोतले जनाएको छ । प्रतिपक्ष कांग्रेस निकट प्राध्यापकहरूले पनि सहमति र सहकार्यका आधारमा विश्वविद्यालय चलाउनुपर्ने तर्क गर्दै हिस्सा खोजिरहेका छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?