१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२० वर्षपछि विद्या भट्टराईको जीवनमा आएको यो घुम्ती...

काठमाडौँ — गएको फागुन १५ को मध्याह्नसम्म विद्या भट्टराईको जीवन एउटा निश्चित रेखामा दगुरेको थियो । त्यसपछिको समय भने दोधार र एक्लोपनले भरिएर अनिश्चयहरूका साथ उनको दैलामा उभिन आइपुगेको छ । पञ्चायतको एउटै समय र परिवेशमा थाहै नपाई राजनीतिमा लागेका दुई अनजान मानिसलाई वैचारिक गोरेटोले भेट मात्रै गराएन, प्रेम र विवाह पनि गरायो ।

२० वर्षपछि विद्या भट्टराईको जीवनमा आएको यो घुम्ती...

बहुदलका सुरुवाती वर्षहरूमा विद्यार्थी राजनीतिका रंगमञ्चमा अलगअलग गोरेटोबाट आएका रवीन्द्र अधिकारी र विद्याबीच ठीक २० वर्षअघि २०५६ असार २६ मा स्वयंवर भएको थियो ।

‘हामीले औंठी होइन, माला साटासाट गरेर स्वयंवर गर्‍यौं,' विद्या भन्छिन्, ‘व्यवहारहरूलाई सरल बनाउनुपर्छ भन्नुहुन्थ्यो रविन्द्रजी, जो मलाई पनि मन पर्थ्यो । त्यसो हुनाले एकअर्कालाई लगाइदिएको मालाले नै हाम्रो विवाहको सबै रीत धानेको थियो ।'

विवाह भएपछि विद्याको बाटो मोडियो । उनी लेखपढ गर्न र पढाउनतिर सक्रिय हुन थालिन् । रवीन्द्रको जीवन भने राजनीतिले नै परिभाषित गर्दै गयो र उनी युवा पुस्ताको विस्तारै एक स्थापित नेता हुँदै गए । विद्या सामाजिक सम्झनाहरूबाट धुमिल हुँदै गइन् ।


‘सबैले राजनीति गरेर चल्दैन,' बिहा र घरजम नहुँदै पार्टीका कार्यक्रमहरूमा रवीन्द्र बरोबर भन्ने गर्थे, ‘त्यसैले, हामीले ज्ञान र सीप सिक्नु छ अनि स्वरोजगार बनेर अघि बढ्नु छ ।' उनको दर्शनको प्रथम प्रयोग सायद विद्याले गर्न पुगिन्, राजनीतिबाट प्राध्यापनतिर आफूलाई सक्रिय पारेर ।

‘हुन पनि हो, दुवै जना राजनीतिमा लागे घर चलाउन गाह्रो हुन्थ्यो,' विद्या भन्छिन्, ‘त्यसो हुनाले म समाजको अर्को पाटोमा सक्रिय रहेँ, तर उहाँ जहिल्यै मलाई खुसी हुन र हँसिलो अनुहार पारेर अघि बढ्न उक्साइरहनु हुन्थ्यो ।'

सधैं उत्साहले फुलेल हुने रवीन्द्रको यही बानी उनलाई ज्यादा मन पर्थ्यो । अचेल पनि बारम्बार उनी आउँछन्, मुस्काइरहन्छन् तर बोल्दैनन् । नीद अलि लम्बिए त कुरा पनि हुँदो हो, तर विद्या झल्यास्स ब्युँझन्छिन्, सपना अधुरै रहन्छ । उनले देखिरहने सपनाबाट अचानक हिँडेजस्तै उनको जिन्दगीबाट पनि अचानकै गएका थिए रवीन्द्र ।

त्यसपछि उनको दिनचर्यामा अरू जिम्मेवारीहरू थपिए । परिवारको जिम्मेवारी, साथीसंगीको भरोसा र पार्टी पंक्तिको विश्वास उनीसम्म आइपुगे, टक्क रोकिए । सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएको २० वर्षपछि कताकता उनलाई राजनीतिले खोजेझैँ देखिएको छ अहिले । राजनीतिप्रतिको गहिरो प्रेम स्वयं विद्याकै संवादमा पनि झल्किन्छ ।

विद्या चाबहिलको मित्र माविमा कक्षा ७ की छात्रा हुँदा समयको पातो विक्रमाब्द २०४३ भनेर अंकित थियो । तिनताक उनका काकाका छोरा राजन भट्टराई आईए पढ्दै थिए । विद्यार्थी राजनीतिमा सक्रिय राजन ‘कोपिला हुँ फूल बनी फुल्न बाँकी छ...' जस्ता समाज सुधारका भाव बोकेका र केही क्रान्तिकारी गीतहरू पनि घरमा गितारका साथ गाउँथे । विद्या ध्यानस्थ भएर सुन्थिन् । ११ वर्ष पुग्दा उनी स्कुलमा हाजिरीजवाफ र वक्तृत्वकलाहरूमा विजेता बनेर चिनिएकी थिइन् । विस्तारै अखिलका नेताहरूले उनलाई राजनीतिक गतिविधिहरूमा सामेल गराउन थाले ।

उनको प्रारम्भिक राजनीतिक सक्रियता भूमिगत अखिलका नेताहरूलाई चिट्ठी पुर्‍याउन जानु र नेताहरूले गरेको गोप्य बैठक भएको कोठा बाहिर तिनका छोराछोरीलाई सम्हाल्नु हुन्थ्यो । तिनताक काठमाडौं पातलो थियो, वाग्मती सफा । बन्दना, दीपा, हरि इत्यादि बालसखाहरूका साथमा विद्या बिदाका दिनहरूमा वाग्मतीमा पौडी खेलेर आनन्दित हुने गर्थिन् ।

शिक्षकहरू पञ्चायतका विरुद्ध लाग्दा स्कुलमा कक्षाहरू सञ्चालन भएनन् । ९ कक्षामा पढ्ने विद्यार्थीहरूले नाराबाजी गर्दै पढ्न पाउनुपर्छ भनेर माग राखे । त्यसमा विद्या पनि सहभागी भइन् । त्यसै बेला स्कुल अघिल्तिर फोहोरको थुप्रो थियो । फोहोर हटाउन पर्छ, नत्र रोगले पिर्छ भनेर आन्दोलित हुने विद्यार्थीको पंक्तिमा सानी तर फुर्तिली विद्या पनि थिइन् ।

उनका बुबा हेमराज भट्टराई राष्ट्रिय पञ्चायतका सदस्य थिए र सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च पनि । १० वर्षकी भगवती भट्टराईलाई ३० वर्षका उमेरमा बिहा गरेका हेमराजले त्यसको १० वर्षपछि विद्यालाई पाएका थिए पुत्रीका रूपमा । ‘म जन्मनुभन्दा अघि आमाका ६ सन्तान खेर गएका रहेछन्,' विद्या भन्छिन्, ‘त्यसैले पनि घरमा मलाई सबैले माया गर्थे ।'

२०४६ सालमा पद्मकन्या क्याम्पस भर्ना भएलगत्तै अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्यता लिइन् । २०४८ मा पोखरामा अनेरास्ववियुको सम्मेलन भयो, त्यो बेला विद्या पहिलोपटक पोखरा गइन् । त्यतिखेर पोखरेली विद्यार्थी राजनीतिमा ‘पपुलर' रवीन्द्रलाई उनले झुलुक्क देखेकी थिइन् । एउटा मीठो संयोग पर्‍यो, २०४९ को स्ववियु चुनावमा रवीन्द्र पृथ्वीनारायण क्याम्पस पोखराबाट सभापतिमा उठे, विद्या पद्मकन्याबाट । रवीन्द्रले जिते, विद्या पराजित भइन् । ०५१ मा विद्या अनेरास्ववियुको महिला विभाग प्रमुख भइन् । राजनीतिक यात्रा विस्तारै उनकै लयमा अघि बढ्दै थियो । रवीन्द्र संगठनका कोषाध्यक्ष थिए । संगठनका सबैलाई पढ्नुपर्छ भनेर प्रेरित गर्थे । सानैदेखि पढाइमा रुचि राख्ने विद्यालाई रवीन्द्रको त्यो कुरा मन पर्थ्यो ।

‘तिनताक राजनीतिमा लागेका अरूले पढाइलाई नै ध्यान दिनुपर्छ भनेको मैले त्यति सुनिन, तर उहाँले राजनीतिसँगै पढाइ पनि अघि बढाउनुपर्छ भनेर खुब प्रेरित गर्नुहुन्थ्यो,' विद्या सम्झन्छिन् । संगठनमा बस्दै जाँदा उनीहरूबीच कुरा मिल्न थाल्यो । प्रेम सम्बन्धका हल्लाहरू चले । बिहे गर्नुपर्छ भनेर साथीहरूले सुझाव दिन थाले । यसरी पात्रोमा लगन नजुरे पनि ०५६ असार २६ मा उनीहरूले स्वयंवर गरे । त्यसको अघिल्लो दिनै उनीहरूले जिल्ला अदालत गएर विवाह दर्ता गराइसकेका थिए ।


विवाहपछि विद्याले राजनीति छाडिन् र अध्ययन/अध्यापनतिर मन लगाइन् । कहिले पोखरा कहिले काठमाडौंका सामुदायिक कलेजहरूमा अध्यापन गर्दै अघि बढिन् । पार्टीमा विस्तारै उनको खोजी हुन छाड्यो । उनका पनि साथीसंगतिहरू छुट्दै गए । उता त्यही बेला रवीन्द्रको लोकप्रियता चुलिँदै थियो, दुई पटक संविधानसभा र प्रतिनिधिसभा चुनावमा उनले कास्केलीको लोकप्रिय मत पाए । २०७४ मा अधिकारी पहिलो पटक मन्त्री भए । विद्याले भने एमफिल सकिन् र त्रिविमा पूर्णकालीन जागिरे भइन् । यसरी एउटा लयमा चलिरहेको जिन्दगीमा अचानकसँग ठहराव आयो । फागुन १५ का दिन परेको मुसलधारे वर्षाले विद्यालाई हायलकायल बनाउने खबर बोकेर आयो । बिहान हँसिलो मुहार लिएर ताप्लेजुङ गएका रवीन्द्र फेरि कहिल्यै फर्केनन् ।

उनी चढेको हेलिकप्टर पाथीभराको घोप्टेभीरमा कहिल्यै उड्न नसक्ने गरी थचारियो भने रवीन्द्र कतै अनन्त शून्यमा बिलाउन पुगे । विद्यासँग यो भवितब्य स्विकार्नेबाहेक अर्को विकल्प पनि थिएन । स्विकार्नु त छँदै थियो, छोराहरू र वृद्ध बुवाआमालाई पनि सम्हाल्नु थियो । यस्तोमा खुलेर रुने मौका पनि पाएकी छैनन् विद्याले । ‘उहाँको अभाव त कति हो कति छ नि, तर सम्हालिएझैं देखिनुपरेको छ,' उनी भन्छिन्, ‘अब मलाई अँध्यारो मुख नलगाऊ भन्ने मान्छे नभए पनि उहाँले भनेका तिनै कुरा सम्झेर मन बुझाउनु परेको छ ।'

संवादका क्रममा विद्याको उही घाउ फेरि कोट्टियो, उनले उही दिन सम्झिन् । रवीन्द्र ताप्लेजुङ निस्किनुअघि रीतपूर्वक बिदाइ गर्न नपाएको थकथकी पोखिन् । ‘दुई दिन अघिमात्रै उहाँले मुटु जाँच गराउनु भएको रहेछ,' विद्या त्यो बिहान रवीन्द्रसँगको अन्तिम संवाद सम्झन्छिन् । ‘रिजल्टमा नेगेटिभ केही पनि छैन, आज म साह्रै फ्रेस छु, अब त हार्टअक्याक भएर मरिन्न भन्नुभएको थियो...' बोल्दाबोल्दै रोक्किन पुगिन् उनी । रवीन्द्र कहीं निस्कँदा ढोकामा उभिएर जहिल्यै शुभ–यात्रा भन्ने गर्थिन् विद्या । त्यस दिन उनले बिदाइको यति दुई शब्द पनि भन्न पाइनन् । ‘बिहान उठेर म ट्रेड मिलमा दौडिएँ, त्यसपछि सिधै भान्छामा गएँ,' उनी भन्छिन्, ‘उहाँचाहिँ तयार भएर निक्लनु भएछ, बिदा पनि भन्न पाइनँ ।'

रवीन्द्रको निधनपछि विद्याको घर मात्रै होइन, कास्कीको क्षेत्र नम्बर २ पनि रिक्त छ । यहाँबाट वामदेव गौतम उठ्ने कुरो सुरुमा चलेको थियो । तर, कस्केली जनताले उम्मेदवार विद्या नै भइदिए हुने भन्ने अभिमत अघि सारे । गौतम स्वयंले पनि त्यहाँको उपयुक्त उम्मेदवार विद्या नै हुन् भनिसकेका छन् । यस्तोमा हस् भन्नु कि नाइँ भन्नु भन्ने उनी अन्योलमा छिन् ।

एउटा आस्था र समाज बदल्ने अनुप्रेरणाले राजनीतिमा लागेकी थिइन् विद्या उसबेला । कमाउ र रमाउको संस्कारमा हुर्किरहेको आजको राजनीतिमा हेलिएर यतिका दुःखले बनाएको स्वच्छ परिचय गुम्ला भन्ने चिन्ता एकातिर छ भने अर्कातिर रवीन्द्रको विरासत मात्रै नभएर कास्केलीको मायालाई बेवास्ता गरेको ठहरिएला भन्ने भय अर्कातिर छ । यसमाथि, राजनीति उनका लागि हिँड्न छाडेको बाटो अवश्यै हो तर परित्यक्त होइन । कुनै पनि बेला उनी यहाँ पाइला अघि बढाउन र स्कुले जीवनमा बटुलिएका समाज बदल्ने सपनाहरूलाई अनुवाद गर्न सक्ने अवस्था अहिले जुर्न गएको छ ।

त्यसका लागि रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि हुने उपचुनावमा उनी उम्मेदवार हुने सम्भावना प्रबल छ । किनभने, उनको नाम उम्मेदवारको सूचीमा पहिलो नम्बरमै छ । ‘९० प्रतिशत मतदाताले तपाईं नै आउनुपर्छ भन्नुभएको छ । १० प्रतिशत जतिले राजनीति जटिल छ सोच्नुस् भन्ने सुझाव दिनुभएको छ,' विद्या केही दोधार देखिन्छिन् । ‘उम्मेदवारीबारे नेतृत्वबाट निर्णय भएको पनि छैन, म आफैं पनि अहिले केही सोच्न सकिरहेको छैन,' उनले एउटा अनिश्चयात्मक भाव पोखिन् ।

रवीन्द्रसँग पोखरेलीहरूको मानवीय सम्बन्ध थियो, कुनै दूरी नै थिएन । अहिले ती आँखाहरूले उस्तै सामीप्य बोक्ने नेतृत्वको खोजी गरिरहेका छन् । ‘वास्तवमा म राजनीतिबाट कहिल्यै पनि विमुख थिइनँ,' विद्या भन्छिन्, ‘अबको राजनीति सामाजिक क्षेत्रले नेतृत्व गर्ने हो ।' समाजशास्त्रमै प्रध्यापन गराउने भएकाले होला उनी समाज र राजनीतिलाई समाजशास्त्रीय दृष्टिले नै हेर्न रुचाउँछिन् ।

अहिले जनतामा बढेको सत्ताविरोधी मानसिकता र पदमा पुगेपछि खाउँखाउँ लाग्ने नेताको प्रवृत्तिका कारण जनता र नेताबीच तालमेल नभएको विश्लेषण विद्याको छ । यो प्रवृत्ति नसुध्रिएसम्म समाज रूपान्तरण हुन नसक्ने ठम्याइसहित उनी भन्छिन् ‘हामीले राजनीतिलाई समाजका अरू क्षेत्रसँग पनि जोडेर अघि जान सक्नुपर्छ ।' सायद त्यसैले, उनी रवीन्द्र अधिकारी प्रतिष्ठानमार्फत स्वरोजगारका अरू कार्यक्रमहरू अघि सार्दैछिन् । ‘कोही पनि खाली हात बस्न हुन्न भन्ने उहाँको मान्यता थियो । हामी त्यही मान्यताअनुरूप प्रतिष्ठानका काम अघि बढाउँदै छौँ,' उनले भनिन् ।

मान्यताकै सन्दर्भमा कुरा गर्दा विद्याले रवीन्द्रको अर्को मान्यताबारे पनि जोड्न छुटाइनन् । ‘उहाँ मृत्यु कर्मलाई छोट्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँकै मान्यताअनुसार हामीले सात दिनमा मृत्युकर्म सक्यौं,' विद्या दुःख पोख्छिन्, ‘अहिले कतिपयले त्यही विषयलाई राजनीतिक मुद्दा बनाइरहेका छन् ।'

रवीन्द्रको जस्तै, विद्याको पनि संस्कारका सम्बन्धमा मान्यता छ, चुरा नफुटाउने, कोरा नलगाउने र सिन्दूर नपुछ्ने । ‘सबै रङ हरेक मान्छेको अधिकारको कुरा हो, यसलाई कसैले थप्ने र झिकिदिने गर्न सक्दैन,' उनी भन्छिन्, ‘त्यसो हुनाले मैले चुराहरू फुटाउन चाहिनँ, सिन्दूर पुछिनँ र सेतो लुगा लगाइनँ ।'

यसो गर्नलाई ६९ वर्ष पुगेकी उनकी सासू लक्ष्मी अधिकारी र ससुरा इन्द्रप्रसादले पनि साथ दिए । ‘आमा (सासू) मलाई पहिलेझैं देख्न चाहनु हुन्छ,' विद्या भन्छिन्, ‘रवीन्द्रजी यो घरमा हुनुहुन्न भनेर नमान्न पनि उहाँले मलाई रङहरू फेर्न दिनु भएन ।'

प्रकाशित : आश्विन १८, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?