अमेरिकाभरि दूतैदूत

देवेन्द्र भट्टराई

मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस' सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छु', उनले भने, ‘यो अभियानमा कुनै प्रकारको आर्थिक वा अन्य सहयोग सरकारबाट लिएको छैन ।' विशुद्ध लोकगायकको आमचिनारी भए पनि महत आफूलाई राजदूतसरह परिचय गराइरहेका हुन्छन् ।


बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,' रिमालले कान्तिपुरसँग भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् ।'


नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्ने' जस्ता सर्त राखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,' रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।


अर्को राज्य सिकागोका लागि अर्घाखाँची मूल घर भएका बाला घिमिरे पर्यटनदूत छन् । उनी तत्कालीन एमालेको अमेरिकास्थित भ्रातृ संगठन प्रवासी मञ्चमा सक्रिय थिए । रेस्टुराँ व्यवसायी घिमिरे नेपालबाट आउने नेता एवं उच्चपदस्थका लागि आतिथ्य सत्कार गर्ने प्रमुख पात्र हुन् । गतसाता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन न्युयोर्क जाँदा ब्रेन गेन सेन्टरको अभियानमा सिकागो बोलाएर अन्तर्क्रिया गराउने उनै थिए । ‘पर्यटनदूतका रूपमा मेरो कार्यकाल सकिएको छ, तैपनि अतिथिको आतिथ्य र अरू गतिविधि गर्नमा व्यस्त छु,' घिमिरेले भने ।


एटलान्टाका खुद्रा व्यवसायी राजा घले पनि आफूलाई पर्यटनदूत दाबी गर्छन् । नेपालबाट आउने ठूलाठालु अतिथिलाई सत्कार गर्न र फेसबुक प्रचारमा उनी बढी चिनिएका छन् । लस भेगासमा बस्दै आएका किरण शर्मा र क्यालिफोर्निया, सानफ्रान्सिस्को बस्ने घन दवाडी पनि आफूलाई दूत भन्न रुचाउँछन् । विगतमा कट्टर एमाले कार्यकर्ता रहेका गोरखाका दवाडी नेपालमा केही समय पर्यटन व्यवसायमा थिए । क्यालिफोर्नियामै अर्का दूत रामेश्वर भण्डारी पनि उसैगरी चिनिएका छन् । तर नेपालबारेको पर्यटन गतिविधि त्यति हुने गरेको छैन ।


क्यालिफोर्नियाकै सिलिकन भ्यालीका लागि पर्यटनदूत प्रकाश थापा नेपालमा तेक्वान्दो (आईटीएफ) का सामान्य खेलाडी थिए । सन् २०१६ मा नेपालबाट पर्यटनदूतको पत्र बोकेर आएका उनी सामाजिक सञ्जालमा सलमान खान, हिलारी क्लिन्टनसँगका तस्बिर हाल्दै आत्मप्रचार गरिरहेका भेटिन्छन् । विभिन्न सभा समारोहमा डायसमा बस्न, दोसल्ला ओढ्न र आफू राजदूतसरह रहेको प्रचार गर्नमै दूतहरू सक्रिय भएका पाइन्छन् ।


न्युयोर्क बस्ने प्रदीप श्रेष्ठ अर्का पर्यटनदूत हुन् । ट्याक्सी चालक उनी नेपालबाट आउने र विशेषगरी पर्यटन मन्त्रालय एवम् पर्यटन बोर्डसम्बद्ध आगन्तुकका लागि अरू सबैले देखिने गरी ‘सेवक' बन्ने गरेका छन् । हालै मात्र टेक्सासको ह्युस्टनमा ‘ज्याक' भनिने जगदीश काफ्ले पर्यटनदूत नियुक्त भएका छन् । उनी रेस्टुराँ व्यवसायी हुन् । कोलोराडोमा साब गदाल पनि पर्यटनदूतका रूपमा चिनिएका छन् ।


यस अतिरिक्त केही सुन्दरीहरूलाई पर्यटन सद्भावनादूतका रूपमा पनि काम गर्ने गरी पर्यटनबोर्डले पत्र बाँडेको छ । यसमध्ये पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीकी बुहारी नवीना बस्नेत पनि परेकी छन् । क्यालिफोर्नियाका ऋषि ढकाल र सियाटलका एसी शेर्पा सरकारबाट नियुक्त अवैतनिक वाणिज्यदूत भए पनि उनीहरू आफूलाई राजदूतसरह चिनाइरहेका छन् । उनीहरूको पदावधि कहिलेसम्म हो, थाहा पाउन मुस्किल छ ।


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार पर्यटनदूतमा राजनीति हाबी भएपछि अहिले दूत नियुक्ति प्रक्रिया पूरै रोकिएको छ । अमेरिकामा आधिकारिक रूपमा टेक्सासमा जगदीश काफ्ले र सियाटलमा नीलबहादुर तिलिजा दूत रहेको उनले बताए । ‘अमेरिकाका हकमा यो पद नेपालको प्रचारप्रसारभन्दा आफ्नै भलाइ र माहोल बनाउनमा केन्द्रित रहेको पाएका छौं,' जोशीले भने, ‘अब परराष्ट्र मन्त्रालयको सिफारिस र निगरानीमा मात्रै पर्यटन दूत तोकिनेछ ।'


अमेरिकामा रहेका झन्डै डेढ दर्जन दूतहरूबारे वासिङ्टन र न्युयोर्कमा रहेका नेपाली कूटनीतिक नियोग पनि बेखबर छन् । ‘अमेरिकामा अवैतनिक हैसियतका वा पर्यटन दूतहरू कति छन्, हामीलाई जानकारी छैन,' वासिङ्टन डीसीस्थित नेपाली दूतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरलाई इमेलमा भने, ‘हामीलाई पर्यटनदूतबारे नेपाल पर्यटन बोर्डले कुनै जानकारी उपलब्ध गराएको छैन ।'


परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्कालीन एमाले सरकारका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलका पालामा अमेरिकामा मनपर्दी रूपमा कार्यकर्तालाई दूत नियुक्त गरिएको हो । पूर्वप्रधानमन्त्री माधव नेपालको पहुँचमा घिमिरे सिकागोमा दूत नियुक्त हुँदा क्यालिफोर्नियामा ढकाललाई तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा दूत बनाइएको हो ।


ओहायो विश्वविद्यालयका पूर्वप्राध्यापक डा. गोविन्द कोइरालाका बुझाइमा नेपालीभन्दा बढी विदेशीमाझ चिनारी, पहुँच र सम्पर्क भएको व्यक्ति दूत नियुक्त हुनुपर्ने हो । ‘तर दल, नेता र राजनीतिअनुसार दूत बन्ने गरेको सुनिएको छ,' उनले भने, ‘यसको उपलब्धि के हो बुझ्न सकेको छैन ।'


उनका अनुसार पर्यटनदूत बनाइएको व्यक्तिले कुनै प्रकारको गतिविधि र नेपाल प्रचारको अभियान चलाएको देखिन्न । ‘बरु कुनै सभा समारोहमा आफूलाई नेपाल सरकारले तोकेको पर्यटनदूत भनेर चिनाउने गरेको पाइएको छ,' उनले भने ।


अमेरिकामा गैरआवासीय नेपालीका अभियन्ता विश्व शाह पनि दूत नियुक्त गरिनुको उद्देश्य थाहा पाउनै नसकिएको प्रतिक्रिया दिन्छन् । ‘खालि पद ग्रहण गर्न र पहुँच देखाउन दूत बनेका हुन् कि जस्तो लाग्छ,' उनले भने, ‘कांग्रेस सरकारमा एउटा दूत हुन्छ, नेकपाको अर्कै दूत हुन्छ तर सिंगो देशका लागि दूत कोही छैन ।' प्रकाशित : आश्विन १८, २०७६ ०७:१७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक : खुलेन अवरुद्ध प्रक्रिया

देवेन्द्र भट्टराई

न्युयोर्क — दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को झन्डै ५ वर्षयता अवरुद्ध प्रक्रिया सुचारु गर्न अध्यक्ष राष्ट्र नेपालले गरेको पहल खासै उपलब्धिपूर्ण हुन सकेन । अर्को चरणको सार्क बैठक बस्नेबारे पनि सदस्य राष्ट्रका प्रतिनिधिहरूले निर्णयमा पुग्न सकेनन् । 

न्युयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा बिहीबार आयोजित सार्क विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी सार्कका ८ वटै सदस्य राष्ट्रले ‘क्षेत्रीय साझा संगठनको अपरिहार्यता’ माथि समान धारणा राखे पनि भारत-पाकिस्तान असहज सम्बन्धको प्रतिकूल प्रभाव अनौपचारिक तवरको बैठकमा पनि देखियो । न्युयोर्क, ग्रान्ड सेन्ट्रलको होटल वेस्टिनमा आयोजित साइडलाइन बैठकमा निर्धारित समयमा आएर आफ्नो मन्तव्य राखेपछि भारतीय विदेशमन्त्री एस जयशंकर तत्कालै बाहिरिएका थिए ।

उनी गएपछि मात्रै पाकिस्तानी विदेशमन्त्री मोहम्मद कुरेसी बैठकस्थलमा आएका थिए । बैठकमा सार्क सदस्यहरू अफगानिस्तान, बंगालादेश र श्रीलंकाका विदेशमन्त्री उपस्थित हुन सकेनन् । अफगानिस्तानका उपविदेशमन्त्री इद्रिस जमान, श्रीलंकाका विदेशसचिव रविनाथ आर्यसिन्हा र बंगालादेशका विदेश मन्त्रालयका महानिर्देशक मात्रै बैठकमा सहभागी भए । भुटानका विदेशमन्त्री तान्दी दोर्जी र माल्दिभ्सका अब्दुल्लाह साहिदले सार्क साझा मञ्चको पक्षमा मन्तव्य राखेका थिए ।

सार्कका पक्षमा सबै राष्ट्र : मन्त्री ज्ञवाली
‘सार्कको भविष्य छ, अहिले देखा परेका अप्ठ्यारा सल्टिँदै जाने छन् भन्नेमा सबैको समान धारणा आएको छ,’ बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘सार्कको आयोजक राष्ट्र पाकिस्तानले आफू सार्क शिखर सम्मेलन गर्न तत्पर रहेको जनाएको छ । तत्कालै सम्मेलनको मिति प्रस्ताव गर्न पनि आफू तयार रहेको पाकिस्तानको प्रतिक्रिया थियो । मन्त्री ज्ञवालीका अनुसार, भारतीय विदेश मन्त्री जयशंकरले ‘भारतले समृद्ध दक्षिण एसिया देख्न चाहेको’ बताउँदै सार्क संयन्त्रकै कारण पाएका उपलब्धिहरूको चर्चा पनि गरेका थिए । उनले सार्क स्याटेलाइट, सार्क युनिभर्सिटी, सार्क डिजास्टर सेन्टर, नेसनल नलेज नेटवर्कजस्ता संयन्त्रबारेमा चर्चा गरेका थिए ।

‘सार्कका सबै सदस्य राष्ट्रले यो साझा संगठनको अपरिहार्यता र परस्पर सहयोगको आधारमाथि सकारात्मक धारणा राखेका छन्, केही आपसी समस्या र द्वन्द्वका कारण सिंगो क्षेत्रीय संगठन अवरुद्ध हुनु ठीक होइन भनेर समान धारणा आएको छ,’ मन्त्री ज्ञवालीले भने । सार्कको १८ औं शिखर सम्मेलन २०१४ नोभेम्बर २६-२७ मा काठमाडौंमा सम्पन्न भएको थियो । १९ औं शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा २०१६ को नोभेम्बरमा हुने निधो भए पनि भारतको कश्मिरमा आतंकवादी आक्रमणपछि सार्कका सबै प्रक्रिया रोकिएका छन् ।

आतंकवाद प्रतिरोध गरौं : भारत
साइडलाइन बैठकमा सार्क अध्यक्षका रूपमा परराष्ट्रमन्त्री ज्ञवालीले स्वागत सम्बोधन गरेपछि अफगानिस्तान, बंगालादेश र भुटानका तर्फबाट मन्तव्य राखिएको थियो । पालोक्रममा भारतीय विदेशमन्त्री जयशंकरले धारणा राख्ने क्रममा सुरुमैं ‘हामीले आतंकवाद प्रतिरोधका बारे प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा कहींकतै छैनौं’ भन्दै आतंकवादविरोधी सार्क अभिसन्धि (सन् १९८७) को सन्दर्भ उठाएका थिए । ‘आतंकवाद प्रतिरोधको सार्क अभिसन्धिलाई प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ,’ बैठकमा सहभागी एक अधिकारीका अनुसार, विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रा राष्ट्रिय कानुन र नीतिहरू पनि पारित अभिसन्धिअनुकूल परिमार्जन गर्नु जरुरी देखिएको छ ।’

भारत-पाकिस्तानमा रही आएको द्वन्द्व र तनावको झल्को दिनेगरी विदेशमन्त्री जयशंकरले ‘आतंकवाद प्रतिरोधमा उभिन हामी धेरै पछि परेका छौं, सबै प्रकारका आतंकवादका स्वरूपलाई निर्मूल गर्नैपर्छ’ भन्दै मन्तव्य राखेका थिए । उनले आतंकवाद प्रतिरोधको सार्क अभिसन्धिको कार्यान्वयनमा बारम्बार अडान सुनाएका थिए । भारत र पाकिस्तानका विदेशमन्त्री उपस्थित भएर पनि बैठकको फरक-फरक समयमा उपस्थित भएर एउटै मञ्च सेयर गर्नै चाहेनन् । दिउँसो १ बजे सुरु बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सुरुमै आएर आफ्नो मन्तव्य राख्दै आधा घण्टाभित्रैमा होटलबाट बाहिरिएका थिए ।

जयशंकर बाहिरिएपछि मात्रै बैठकस्थलमा आएका पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले ‘कश्मीर मामला हल नभएसम्म भारतसँग कुनै प्रकारको साझेदारी हुन नसक्ने’ भन्दै मिडियालाई प्रतिक्रिया दिएका थिए ।

बैठकलाई आयोजकका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले निकै उपलब्धिमूलक भनेर प्रतिक्रिया दिएका छन् । सार्कको साझा मञ्चमा भारत र पाकिस्तानका विदेशमन्त्री एकैचोटि सहभागी नभएको बारे मन्त्री ज्ञवालीले भने, ‘आ-आफ्नो कार्यव्यस्तताले हुन सक्छ, यसमा कुनै विशेष कारण देख्दिनँ ।’ भारत-पाकिस्तानको विदेश मन्त्रीले एकअर्काको कुरा सुन्न नचाहेको ‘बहिस्कार नीति’ लिएको स्पष्टै देखिन्थ्यो ।

सार्कमा नयाँ महासचिव
आगामी मार्च १ बाट कार्यकाल सुरु हुने गरी नयाँ सार्क महासचिवको नाम पनि बिहीबारको साइडलाइन बैठकले अनुमोदन गरेको छ । मन्त्री ज्ञवालीका अनुसार, श्रीलंकाली पूर्व विदेशसचिव इशाला विराकुल सार्क महासचिव बनेका छन् । महासचिवको नाम सबै सार्क सदस्य राष्ट्रबाट अनुमोदन भइसकेकाले सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठकले अन्तिम स्वीकृति दिएको हो ।

हिमाली मुलुकहरूको संगठन प्रस्ताव
जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने हिमाली क्षेत्र र हिमाल जोडिएका राष्ट्रहरूको विशेष संयन्त्र ‘हिमाली मुलुकहरूको मित्रवत् समूह’ लाई राष्ट्रसंघले औपचारिक मान्यता दिनका लागि नेपालले आग्रह गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×