कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महरा अझै 'माननीय' !

‘पार्टीको आाखामा महरा अब सांसद रहेनन्, हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं’
बिनु सुवेदी

काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद तत्काल छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो तर उनले सभामुख पदबाट मात्र राजीनामा दिएका थिए ।

महरा अझै 'माननीय' !

महरा अझै नेकपाका सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । ‘आरोप स्वीकारेझैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन पनि नमान्ने त हुँदैन,’ नाम सार्वजनिक गर्न नचाहने नेकपा स्थायी समितिका एक सदस्यले कान्तिपुरसँग भने, ‘पार्टीको आँखामा महरा अब सांसद रहेनन्, हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।’

सभामुखबाट राजीनामा दिएपछि सांसद पदबाट पनि राजीनामा दिएसरह भएको नेकपाका शीर्ष नेतृत्वको निष्कर्ष छ ।

‘महराजीले सभामुखबाट राजीनामा दिएपछि उहाँ स्वतः पार्टीको सदस्य हुनुहुन्छ, सदस्यले पार्टी निर्देशन मान्दिनँ भन्न मिल्दैन,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘अब त सांसद भएर मुख देखाउन पनि उहाँले अप्ठ्यारो मान्नुपर्‍यो नि ।’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा पदाधिकारी हुँदा दलबाट राजीनामा दिएको विषयलाई दल त्यागेको नमानिने उल्लेख छ । सभामुखबाट राजीनामा दिइसकेका महरा उक्त ऐनअनुसार नेकपाका सदस्य भइसकेका छन् । त्यसैले उनले पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णय मान्नुपर्नेछ या त पार्टी छाड्नुपर्ने हुन्छ । निर्वाचित सांसद भएकाले उनले पार्टी छाडे कानुनतः स्वतन्त्र सांसद भइरहन सक्छन् ।

महराले सभामुखबाट राजीनामा दिनेबित्तिकै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीले सांसदबाट पनि राजीनामा दिनु भनिसकेकाले उनी संसदीय दलको बैठकमा उपस्थित हुन नपाउने बताएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर निर्णय गरेको उल्लेख गर्दै भने, ‘महराजीले किन सांसदबाट राजीनामा दिनुभएन भन्नेबारे मलाई थाहा छैन । सचिवालयको निर्णयपछि अध्यक्ष पुष्पकमल दाहालको पनि महराजीसँग छलफल भएको रहेनछ, मेरो पनि कुराकानी भएको छैन । उहाँले केही सोच्नुभएको होला ।’


कांग्रेसका सांसद राधेश्याम अधिकारी पदबाट राजीनामा दिने या नदिने सांसदको निजी निर्णय हुने बताउँछन् । ‘चुनाव जितेको सांसदले आफ्नो निर्णयमा राजीनामा दिने हो, केही गल्ती भएको छ भने राजीनामा दिने कानुनी व्यवस्था छँदैछ,’ उनले भने । महराले दाङ क्षेत्र नं. २ बाट तत्कालीन वामपन्थी गठबन्धनबाट चुनाव जितेका थिए ।

गत आइतबार साँझ महरा संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामा गएको सीसीटीभी फुटेज हेरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले महराले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका थिए । लगत्तै बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयकै निष्कर्षलाई अनुमोदन गर्दै महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । राजीनामा दिएर सभामुखको हैसियतमा पाएका सबै सुविधा फिर्ता गरेका महराले सांसद पद भने त्यागेका छैनन् ।

छानबिन गर्न आयोग टोली

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महराबाट संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार भएको भनिएको घटना अनुसन्धान गर्न शुक्रबार तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत असोज १२ को घटना अनुसन्धान गर्न निर्देशकको नेतृत्वमा समिति गठन गरेको हो ।

आयोगले प्रहरीलाई पत्राचार गर्दै उक्त घटनाको हालसम्मका कामकारबाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्थाबारे जानकारी माग गरिसकेको छ ।


प्रकाशित : आश्विन १८, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?