कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दसैंमा अस्पतालको बास

सन्जु पौडेल

(रूपन्देही) — लुम्बिनी प्रादेशिक अस्पतालको बेडमा पल्टिएर मोबाइलमा दसैं गीत सुनिरहेका थिए उनी । मलिन मुहार, गलेको शरीर । बोली सुस्त । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका नारायण घमा १० दिनदेखि थला परेका छन् । चिकित्सकका अनुसार उनको अवस्था सुधारोन्मुख छ तर डिस्चार्ज मिल्ने छैन ।

दसैंमा अस्पतालको बास

चाडबाडमा थलिएपछि निराश देखिएका उनलाई घरको सम्झनाले उत्तिकै सताएको छ । सुरुमा ज्वरो आयो, वास्ता गरेनन् । एकदम थलिएपछि मात्र अस्पताल आए । डेंगु र कालाजार संक्रमण भएको पुष्टि भयो । अहिले बुबा र दिदीले आलोपालो कुरिरहेका छन् । सुरुमा भर्ना हुँदा ज्वरो १ सय ४ डिग्रीभन्दा माथि थियो । अहिले कम भएको छ । रगतमा प्लेटलेट्स ७० हजारसम्म पुगेको छ, एक लाख पुगेपछि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।


रूपन्देहीका १६ वर्षीय सचिन पोखरेलको अवस्था उस्तै छ । डेंगु संक्रमणले कमजोर बनाएकाले निदाउन सक्दैनन् । आँखा चिम्लिएर बेडमा पल्टिरहेका थिए । ५ पोका रगत चढाएपछि केही हल्का महसुस गरेका छन् तर खाना खान मन गर्दैनन् । शरीरमा स्फूर्ति छैन । बुधबार भर्ना भएका उनलाई छिट्टै सञ्चो भएर घरमै दसैं मनाउने इच्छा छ । आफू बिरामी भएपछि दसैं खल्लो भएको बताए । ‘मेरो कारणले परिवारमा तनाव छ,’ आँखाभरि आँसु पार्दै भने, ‘सास लिन नसकेर दुःख पाएँ । अहिले अलि बेटर फिल गररहेको छु ।’


देवदहकी ८ वर्षीया चाहना थापा ४ दिनदेखि अस्पतालको बेडमै छन् । उनलाई डेंगु संक्रमण भएको छ । दिनभरि सुत्नुपर्दा र मोबाइल हेर्दा पट्यार लागेको उनले बताइन् । ‘गाउँमा साथीभाइ रमाइरहेका छन्, मलाई सञ्चो भएन,’ उनले भनिन्, ‘भोलिसम्म घर जान पाए हुन्थ्यो ।’ स्वास्थ्यमा सुधार देखिएकाले छिट्टै डिस्चार्ज गर्ने सम्भावना रहेको बालरोग विशेषज्ञ नेत्र रानाले बताए । ‘कुन बच्चालाई कति समय राखिन्छ, निश्चित छैन,’ उनले भने, ‘कम्तीमा ५ दिन भर्ना गर्नुपर्छ ।’ चाडपर्व मनाउनेभन्दा पनि निको हुनेतर्फ बिरामी र आफन्तको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए ।


रूपन्देहीकै रामापुर कलौनीका भीमबहादुर पल्ली अस्पताल भर्ना भएको ५ दिन भयो । सुरुमा ज्वरो देखिएका उनलाई शुक्रबार डेंगु संक्रमण भएको पुष्टि भयो । सुरुवाती चरणमै रहेकाले निको हुन समय नलाग्ने चिकित्सकले जनाएका छन् । श्रीमती कुरुवा बसिरहेकी छन् ।


प्रादेशिक अस्पतालको मेडिकल वार्डमा रहेका ४० बेडमध्ये १८ मा डेंगुका बिरामी छन् । आपतकालीन कक्षमा एउटा बेडमा ४ जनासम्म राखेर उपचार भइरहेको छ । डेंगु संक्रमितसाथै दम, सर्पदंश, हाडजोर्नी समस्याका बिरामी भर्ना भएका छन् । डेंगुका बिरामीको स्वास्थ्य सामान्य रहे ५ दिन भर्ना गरेर डिस्चार्ज गरिन्छ । ज्वरो बढ्ने र प्लेटलेट्स घटेमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अस्पतालका जनरल फिजिसियन नन्दु पाठकले बताए । उनका अनुसार अहिले कपिलवस्तु र नवलपरासीका बिरामी धेरै छन् । ‘तराईमा पानी जम्ने समस्या हुने र नजिकै भएकाले ती जिल्लाबाट बढी बिरामी आउँछन्,’ उनले भने, ‘पहाडमा अस्पताल सञ्चालनमा रहेकाले जटिल समस्याबाहेकका बिरामी आउँदैनन् ।’


अस्पतालको सामाजिक सेवा इर्काइबाट ज्येष्ठ नागरिक, अपांग, लैंगिक हिंसा, असहाय, गरिब, कुपोषित, थुनुवा, सहिद परिवारमध्ये कसैले पूर्ण र कसैले आधा औषधि उपचार निःशुल्क पाइरहेका छन् । शाखाबाट दसैंको दिनमा पनि सेवा दिइने इकाई प्रमुख सागर पन्थीले बताए । शाखाबाट १ सय ५० थरीका औषधिसमेत निःशुल्क वितरण भइरहेको उनले बताए । स्वास्थ्य बिमाको कार्यक्रम पनि यही शाखाबाट सञ्चालन भइरहेको छ । प्रादेशिकलगायत यहाँस्थित अन्य निजी अस्पतालमा समेत बिरामी भर्ना र चेकजाँचको लहर बाक्लै छ । रोगले चाडपर्व नभन्ने भएकाले मानिस संक्रमित हुनु र अस्पताल धाउनुपर्ने बाध्यता रहिरहनुलाई विडम्बनाबाहेक अन्य केही भन्न नसकिएको आममानिसको धारणा छ । यहाँ निजी अस्पतालमा पनि बिरामीको चाप छ । एकै परिवारका पाँच जनामा डेंगु संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन १७, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?