टिकाको दिन निःशुल्क बस 

विमल खतिवडा

काठमाडौँ — दसैंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् । सेनाले टिकाको दिन भद्रकालीबाट उपत्यकाको सबै रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको जनाएको छ ।

सेनाले चक्रपथ र भक्तपुर खण्डमा यात्रुलाई सुविधा दिने छ । बिहानदेखि साँझसम्म यात्रुले सुविधा पाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार सेनाका परिवार, अवकास प्राप्त सेनाका परिवार, यात्रु सबैले यो सुविधा पाउने छन् ।

७ वटा रुट निर्धारण गरी यात्रुलाई सुविधा दिइने छ । यता सशस्त्र प्रहरीले भने नवमीदेखि एकादशी सम्म यो सुविधा दिने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार विभिन्न रुट बनाएर यात्रुलाई सुविधा दिइने छ ।

नेपाल प्रहरीले फुलपातीदेखि एकादशी सम्म निःशुल्क बस सेवा उपलब्ध गराउने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार यात्रुको भिडभाड बढी हुने ठाउँमा यो सुविधा उपलब्ध गराइने छ ।

प्रकाशित : आश्विन १७, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय तमू सम्मेलन काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तमू (गुरुङ) बीचको भावनात्मक एकता, गुरुङ जातिको इतिहास, भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण तथा सर्वाङ्गिण विकासको पहले गर्ने उद्देश्यसहित यही असोज २४ गतेबाट काठमाडौंमा सम्मेलन हुन लागेको हो ।

दुई दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विश्वभरि स्थायी वा अस्थायी बसोबास गर्दै आएका तमू प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

‘तीन वर्षअघि प्रथम तमू सार्क सम्मेन सम्पन्न गरिसकेको सन्दर्भमा संसारमा रहेका तमू संघ-संस्थाहरूसँग सम्पर्क, समन्वय बढाउँदै तमूहरूको एकतालाई थप सुदृढीकरण गर्ने उद्देश्य रहेको छ,’ शुक्रबार सम्मेलन मूल आयोजक समिति तथा तमू ह्युल छोंजधिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सम्मेलनले विश्वमा रहेका तमू समुदायको आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक, राजनीतिक लगायत पक्ष वृद्धि विकास गर्न, गराउनमा उत्प्रेरित गर्नेछ ।’

तमूको खेमा लिपिलाई अन्तर्राष्ट्रिय रूपमा संवर्द्धन गर्ने, समाजको विविध पक्षमा ऐतिहासिक योगदान गरेका तमू पुर्खाहरूको खोजअध्ययन अनुसन्धान तथा दस्तावेजीकरण गर्ने जनाइएको छ । ‘तमू जातिको आदिम भूमि गण्डक क्षेत्र भए पनि नेपाल राज्य एकीकरणको क्रममा तत्कालीन नेपालको पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म तमूहरुको बसोबास छ,’ दुवै विश्व युद्धमा लडेका तमूहरू अहिले विभिन्न देशमा छरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसाबले जुनसुकै स्थानमा रहेपनि भावनात्मक रूपमा हामी एक छौं । तमूहरूको आदिम परम्परा, रीतिथिति, मूल्य मान्यताहरूलाई जोगाई राख्न यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रित छ ।’

सम्मेलनमा नेपाल, भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड, जापान लगायत ३० मुलुकका ७ सय प्रतिनिधि सहभागी रहने जनाइएको छ ।

तथ्यांकअनुसार नेपालमा गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजारभन्दा बढी छ ।

प्रकाशित : आश्विन १७, २०७६ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्