पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएको सेना अब गोरखा दरबारमा
गोरखा — अब गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन सेना खटिएको छ । कालो दौरासुलुवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी अनि हातमा भरुवा बन्दुकसहितको गोरखा दरबारमा सेना खटिएको हो ।
इतिहासको झल्को दिँदै आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्ष्यका साथ शुक्रबारबाट नेपाली सेनाको टुकडी खटिएको हो । यसअघि काठमाडौंस्थित हनुमानढोकामा मात्र यस्तो पोशाकमा सजिएर नेपाली सेना बस्दै आएको थियो ।
हनुमानढोकास्थित शार्दल जंग गुल्मको एक टुकडीलाई गोरखा दरबारमा राखिएको नेपाली सेना रणसिंदल गणका प्रमुख उज्ज्वल केसीले बताए । उक्त गुल्म पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।
उक्त पोशाकमा सजिएको सेना बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गोरखा दरबारमा रहने छन् । ‘त्यही बेला प्रयोग भएको पोशाक र हतियार सहितको सेना राखेका हौँ,’ उनले भने । इतिहासको झल्को दिने खालको पोशाकमा सजिएका नेपाली सेनासँग आगन्तुकले तस्बिर समेत लिन सक्ने छन् ।
इतिहासको सम्झना र सम्मान गर्दै भ्रमण वर्ष २०२० लाई लक्षित गरि यसरी नेपाली सेना खटाइएको केसीले बताए । ‘यहाँ आउने स्वदेशी र विदेशी पर्यटकलाई पनि नेपाल एकीकरणको क्रममा कस्ता पोशाकमा सेना थिए वास्तविक हेर्न पाउने भए,’ उनले भने ।
यसरी नेपाली सेना बसेपछि पर्यटन प्रवर्द्घनमा सघाउ पुग्ने गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए । ‘चार सय वर्ष अघिको कालो दौरा सुरुवाल कतिपय मान्छेले चिन्दैनन्, यो जीवित इतिहास हो,’ उनले भने,‘यसको संरक्षण त हुने नै भयो, पृथ्वीनारायण शाहकै जन्मस्थलमा उहाँले नै स्थापना गरेको सेना, त्यही बेलाको पोशाकसहित बस्दा गोरखा दरबार आउनेको संख्यामा पनि अझै बढ्छ ।’
गोरखा दरबार पुननिर्माणको क्रममा रहेकाले अहिले गोरखा कालिका दरबारमा दैनिक दुई जना पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएर बस्नेछन् । पुननिर्माण सकिएपछि गोरखा दरबारकै एक भागमा सेना रहने जनाइएको छ ।
प्रकाशित : आश्विन १७, २०७६ १२:१४