१६ वर्षदेखि थन्कियो कन्टेनर एक्सरे

चिनियाँ न्यु टेक कम्पनीद्वारा निर्माण गरिएका करिब २५ करोड रूपैयाँ लागत पर्ने मेसिन चीन सरकारले अनुदानमा दिएको हो । अनुदानका यी मेसिनमध्ये एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।
शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अत्याधुनिक कन्टेनर एक्सरे (स्क्यानर मेसिन) १६ वर्षदेखि उपयोग नगरी थन्काइएको छ  । तेश्रो मुलुकबाट सामान आयात गर्दा प्रयोग हुने कन्टेनरलाई स्क्यान गर्ने यो मेसिन हालसम्म बन्दरगाहमा प्रयोग मै ल्याइएको छैन  ।

चिनियाँ न्यु टेक कम्पनीको करिब २५ करोड रुपैयाँ लागतको यो मेसिन चीन सरकारले अनुदानमा दिएको थियो । २०६१ माघमा मेसिन सुक्खा बन्दरगाहमा ल्याइएको थियो । कन्टेनर स्क्यान प्रयोजनमा प्रयोग नभए पनि यो मेसिन भने अहिलेसम्म तीन पटक बिग्रिसकेको छ । मेसिन बनाउन चीनबाटै प्राविधिक बोलाएर यसको मर्मत गराइएको थियो । करिब ८ वर्ष अघि दोस्रोपटक मेसिन बिग्रिँदा मर्मत गर्न आएका चिनियाँ प्राविधिक टोलीले मेसिन मर्मत गरेलगत्तै मुसाले तार काट्ने समस्या देखेपछि मेसिनलाई सुरक्षित राख्न व्यवस्थित ग्यारेज निर्माण वा मुसा मार्न बिरालोको दरबन्दी खडा गरी बिरालो पाल्न सुझाव समेत दिएको थियो ।


प्रयोग गर्दा विकिरण छोड्ने यो मेसिनलाई संचालन मात्र नभई सुरक्षित साथ पार्किङ भवन हालसम्म पनि बन्दरगाहमा निर्माण गरिएको छैन । यसलाई वातानुकुलित भवनमा मात्र भण्डारण गरेर राख्नुपर्छ । हाल बन्दरगाहको गोदामको बाहिरतर्फ निस्केको छानो मूनि राखिएको छ । घाम र हावाले मेसिनका महंगा र महत्वपूर्ण उपकरणहरू समेत मुसाले काटेर पुनः बिग्रिसकेको छ । मेसिन संचालन गर्न कम्तीमा ३ सय ८० केभिए विद्युत आवश्यक पर्छ ।


मेसिनलाई चुस्त राख्न सुरुको एक महिना एक पटक जेनरेटरबाट मेसिन चलाउने गरिएको थियो । मेसिनले एक घण्टामा कम्तीमा १२ लिटर डिजेल खपत गर्छ । सुरु देखिनै यो उपकरण सुक्खा बन्दरगाहमा राखिए पनि यसको ग्यारेज भने करिब ७ वर्ष अघि वीरगन्ज भन्सार परिसरमा निर्माण गरिएको थियो । भन्सार परिसरको ग्यारेज स्क्यानर मेसिन भन्दा सानो भएकाले केही वर्ष उक्त ग्यारेज भन्सार एजेन्टहरूका लागि ब्रोकर मोडल कक्षको रुपमा उपयोग गरिएको थियो । उक्त ग्यारेज करिब ३० लाख रुपैया लागतमा निर्माण गरिएको थियो ।


यो मेसिन चलाउन सुक्खा बन्दरगाह भन्सारमा एक अपरेटरको दरबन्दी समेत थियो । पछिल्ला अपरेटर सूर्य नेपाल यहाँबाट सरुवा भई करिब ७ वर्ष अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गएपछि अर्का अपरेटर आएकै छैनन् । सुरुमा चिनियाँ अपरेटरहरू नै आएर यो मेसिन चलाए पनि उनीहरू फर्केपछि भन्सार विभागले मातहतका दुई प्राविधिक र चार बहिदारलाई चीनको बेइजिङमा एक महिने तालिम लिन पठाएको थियो । तालिम लिएर आएका तत्कालीन बहिदारहरू हाल मुखिया तथा खरिदार/सुब्बामा बढुवा भई अन्यत्र भन्सारमा कार्यरत छन् । भन्सार प्रक्रिया सहजीकरण बनाउन अन्तर्राष्ट्रिय बन्दरगाहमा यो मेसिनको प्रयोग हुन्छ । यस्ता खाले दुई मेसिन चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएकोमा अर्को मेसिन त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा छ ।


अधिकतम आधा घण्टामा एक कन्टेनरको एक्सरे गरेर उक्त कन्टेनर भित्र रहेको वस्तुको लिखित प्रतिवेदननै उपलब्ध गराउने क्षमता भएको यो मेशिन प्रयोगमा आएको खण्डमा आयातकर्ताहरू ठाउ ठाउमा गरीने कन्टेनरको झन्झटिलो चेक जाचबाट समेत व्यावहारीक रुपमा मुक्त हुन्छन् । भन्सार विभागले यो मेसिन विशेष गरी वीरगन्ज भन्सारलाई लक्षित गरी पठाएको थियो । यो मेसिनको आम्दानी समेत उक्त भन्सारमै बाधिए पनि मेसिन भने सधैं सुक्खा बन्दरगाहमै रहेको छ । यो उपकरण भन्सारले मात्र नभई राजस्व अनुसन्धान कार्यालय, प्रहरीले समेत राजस्व चुहावट नियन्त्रण तथा सुरक्षा जाँचका लागि समेत गर्न सक्छन् ।


सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले करीब अढाई बर्ष अघि यो मेसिन बिग्रिएको र त्यसपछि मर्मत सम्भारनै हुन नसकेको बताए । ‘अहिले मेसिन उपयोगनै गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘म भन्दा अघिल्ला भन्सार अधिकृत सूर्य सेढाइको कार्यकालमा बिग्रीएको मेसिन मर्मत गर्न एक पटक इन्जिनियरको टोली पनि आएको मैले सुनेको हु,ँ तर उक्त टोलीले पनि मेशिनको मर्मत गर्न सकेन, हाल मुसाले मेसिनको तार धेरै ठाउँमा काटिसकेकाले अब यो मेसिन कबाडकै रूपमा फाल्नुपर्ने अवस्था छ ।’


बन्दरगाहस्थित इन्टरमोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्रमोहन शाहीले यो मेसिन भन्सार जाँचपास प्रकृयाका लागि अत्यन्त उपयोगी हुने बताए । ‘आईसीपीतर्फ हामीलाई यो मेसिन पाएको भए हामी भरपूर उपयोग गर्थ्यौ, तर यो मेसिन भन्सारको स्वामित्वको भएकाले हामीले उपयोग गर्न पाउँदैनौं,’ उनले भने, ‘भारतीय आईसीपीमा हाल भारतीय पक्षले यो मेसिन जडान गरिरहेको छ, उनीहरूले नेपालतर्फ हुने निर्यात हुने कन्टेनरको एक्सरे जाच गर्ने छन, नेपालको आइसिपिमा पनि यस्तो उपकरण भई दिए हामीले भारततर्फ निर्यात हुने वस्तुको मेसिनबाटै जाँच
गर्ने थियौं ।’

प्रकाशित : आश्विन १७, २०७६ ११:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

५ पुस्तादेखि मूर्ति पेसा

श्यामसुन्दर शशि

दसैंको आगमनसँगै जोगी भन्ने जोगेन्द्र पण्डितको व्यस्तता बढेको छ  । रचनात्मक, कलात्मक तथा मौलिक मूर्ति बनाउन ख्याति कमाएका पण्डित चाडपर्वमा चार स्थानमा दुर्गा प्रतिमा निर्माण गर्ने ठेक्का पाएका छन्  ।

जनकपुरको रामानन्द चोक, वकिल टोल, बहुअर्वा र महोत्तरीको बनौटामा उनले दुर्गाको विशाल प्रतिमा निर्माण गर्दैछन् । एक स्थानमा मूर्ति निर्माण गरेबापत उनी ८५ हजारदेखि १ लाखसम्म पारिश्रमिक लिन्छन् । उनको नेतृत्वमा १० जना अन्य कलाकार पनि मूर्ति निर्माणमा जुटेका छन् ।


मिथिलाञ्चलमा माटोको भाँडाकुँडा तथा कलात्मक मूर्ति बनाउने जाति हो कुम्हार । पण्डित यस जातिको थर हो । जोगी पण्डितका बाजे र बूवा पनि सिद्धस्थ मूर्तिकार थिए । उनका दुई छोरा पनि मूर्तिकलामा निपुण छन् । तर उनीहरू पुस्तैनी पेसालाई निरन्तरता दिएनन् । जेठो वैदेशिक रोजगारीमा छन भने कान्छो आफनै व्यावसाय गर्छन् । १२ वर्षिया नाती विवेकानन्द भन्ने बाल्यकालदेखि नै मूर्ति निर्माणमा जुटेको उनी बताउँछन् । ‘विवेकानन्द त राम्रो मूर्ति बनाउन थालेका छन् । बाबुबाजेले सुम्पेको सिपलाई नातिले निरन्तरता दिएछन् । खुसी छु,’ योगीले कान्तिपुरसँग भने ।


जोगी पण्डितसँगै धनुषा ललियाका विकाउ मण्डल, रुपैठाका धनुषी पण्डित, मिथिलेश्वर मौवाहीका मटुक पण्डित, फुलगामाका रामचन्द्र मण्डल, गिद्धा ९ वेलापटीका मदन पण्डित, प्रभात पण्डितसहित झन्डै ५० शिल्पी अचेल धनुषा, महोत्तरी, सिरहालगायतका स्थानका विभिन्न शक्तिपीठमा दुर्गा प्रतिमा बनाउन जुटेका छन् । माटोको भाडा, वर्तन, सामाचकेवा, गणेश, लक्ष्मीआदिका साना मूर्ति तथा गणेश, सरस्वती, विश्वकर्मा, चित्रगुप्त, जन्माष्टमी पर्व त्यौहारमा देवी देवताको कलात्मक मूर्ति बनाउने काम यस अघि कुम्हार (पण्डित) जातिका कलाकारले मात्र गर्ने गरेका थिए । माटोको मूर्ति बनाउनु कुम्हार जातिको पारम्परिक पेसा हो ।


वडा दसैंमामात्र होइन, माटोको प्रतिमा निर्माण गर्ने कार्य लगभग वर्षभरि नै जारी हुन्छ । ग्रामीण भेगमा आयोजन हुने दुर्गा पूजासँगै कृष्णाष्टमी, करिया कुम्मरी, विश्वकर्मा पूजा, सरस्वती पूजा, लक्ष्मीपूजालगायतका धार्मिक अनुष्ठानमा माटोको मूर्ति निर्माण गरिन्छ । यिनै कलाकारहरू ती प्रतिमाहरू निर्माण गर्छन् ।


पण्डितका अनुसार दुर्गापूजामै पनि दुर्गा, गणेश, सरस्वती, महिषासुर, भैंसी लगायतका मूर्ति निर्माण गरिन्छ । एक सेट मूर्ति निर्माण गर्न चार/पाँच जना कलाकारलाई १५ देखि २० दिन समय लाग्छ । ‘माटोबाट निर्माण गरिने भएकोले सुक्न समय लाग्छ । सुकेपछि बल्ल रङरोगन गर्ने भएकोले समय अलि बढी लाग्छ,’ पण्डित भन्छन् ।

प्रकाशित : आश्विन १७, २०७६ ११:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT