भरिँदै गाउँघर : भारतबाट दसैं मनाउन घर फर्किए

ठाकुरसिंह थारू

बर्दिया — बाँसगढी नगरपालिकाका सुरेश सुनार दसैं मनाउन घर फर्किएका छन् । उनी एक वर्षदेखि भारतको चण्डीगढमा मजदुरी गरिरहेका थिए । दसैंतिहार मनाएर फेरि मजदुरी गर्न उतै फर्किने सोचमा छन् । गाउँमै रोजगारी नभएकाले परदेश जाने गरेको उनले बताए । चाडपर्वका बेला प्रत्येक वर्ष गाउँ फर्किन्छन् । 

वर्षभरिको थकान मेटेर र साथीभाइ भेटेर उनी कर्मथलो फर्किन्छन् । गाउँका उनी जस्ता थुप्रै युवा कामका लागि मजदुरी गर्न स्वदेश तथा विदेश गएका छन् । चाडपर्वमा भने उनीहरू घर फर्किन्छन् । युवा फर्किने क्रम बढेपछि गाउँको रौनक फेरिएको छ । चहलपहल बढेको छ । ‘परिवारसँग भेट गर्न घर फर्किन्छौं । अरू बेला काम गर्छौं,’ उनले भने, ‘घर बसेर मात्र के गर्नु ? भारतमा मजदुरी गरेर परिवार पाल्नुपर्छ ।’

बढैयाताल, मैनापोखरका अजय चौधरी पनि ६ महिनापछि भारतको राजधानी दिल्लीबाट फर्किए । त्यहाँको एउटा होटलमा वेटरको काम गर्दै आएका उनी खाडी मुलुक जाने प्रयासमा बिराम लागेपछि भारत पसेका थिए । गाउँमा उद्योग छैन । मजदुरीका लागि नेपालगन्ज जानुपर्छ । त्यहाँको भन्दा राम्रो कमाइ हुने भएकाले आफू भारत गएको उनको भनाइ छ । ‘तिहारसम्म कहीँ जान्नँ । साथीभाइसँग रमाउँछु । त्यसपछि सोच्नुपर्ला,’ उनले भने ।

सुरेश र अजय जस्तै भारतमा रहेका हजारौं नेपाली युवा अहिले दसैं मनाउन धमाधम गाउँ फर्किरहेका छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्लाबाहिर गएका पनि फर्किंदै छन् । धेरैजसो फूलपातीसम्म घर आइपुग्छन् । बसले छतमा समेत यात्रु राखी ओसारिरहेका छन् । गाउँघर गुलजार छन् । युवा फर्केपछि गाउँमा सांस्कृतिक एवं खेलकुद कार्यक्रम आयोजना गरिन्छन् । मित्र मिलन र शुभकामना साटासाट गरिन्छ । चाडपर्वभन्दा अन्य समय गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै भेटिन्छन् । ‘दसैंतिहार सकिएपछि गाउँ फेरि सुनसान हुन्छ,’ बढैयातालका सन्तोष चौधरीले भने, ‘यहाँका युवा रोजगारी खोज्दै गाउँ छाड्न बाध्य छन् ।’

चाडपर्वका बेला सबै फर्किंदा गाउँमा खुसियाली छाउने गरेको छ । प्रदेश ५ का सबैजसो र कर्णालीका रुकुम, रोल्पा, सल्यान, जाजरकोटका युवा मजदुरीका लागि पारि जाने र चाडपर्वका बेला फर्किने परम्परा नै बनेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्

घर फिर्नेको लर्को

दसैं लागेसँगै प्रमुख नाकाहरुमा भीड बढेको छ । बसपार्कहरुमा चहलपहल छ । देशकै विभिन्न सहरसहित भारतसम्मबाट मानिसहरु कोसेली च्यापेर पहाड उक्लँदै छन्
सन्जु पौडेल, हरि गौतम, पर्वत पोर्तेल

रूपन्देही/पूर्वी रुकुम/काँकडभिट्टा — तनहुँ, लिसिङका हर्कबहादुर थापा लगेज गुडाउँदै बुटवल बसपार्कमा टिकट काउन्टरतर्फ कुदिरहेका थिए । उनी दिल्लीबाट रातभरि रेलयात्रा गरेर सुनौली नाका हुँदै बिहीबार बिहान यहाँ आइपुगेका हुन् । मध्याह्न छुट्ने बसको टिकट पाएपछि उनी मुस्कुराए । 


मुलुकमा काम नपाएपछि उमेर छिप्पिउन्जेल अर्काको देशमा पाखुरा खियाउनुपरेको ५४ वर्षीय थापाको भनाइ छ । ‘अझै भारतीय कामदार छु,’ उनले भने, ‘आराम गर्ने दिन कहिले आउला कुन्नि ?’ दसैं भएकाले १५ दिनको बिदा लिएर आएको उनले बताए । ‘घर पुगेर कपडा र मिठाई दिएपछि भुराभुरी रमाउँछन्,’ उनले भने, ‘केही दिन भए पनि रमाइलो हुन्छ ।’

अर्घाखाँची जाने बस कुरिरहेकी पूजा क्षेत्रीले यसपटक टिकटका लागि हानथाप गर्नुनपरेको बताइन् । पढाइका लागि यहाँ बसिरहेकी उनी अहिले बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरिरहेकी छन् । उनका अनुसार चाडबाडका बेला घर जाँदा स्वदेश र विदेशमा रहेका आफन्त र साथीसित भेट हुन्छ । ‘त्यही रमाइलो सम्झेर कतिखेर घर पुगुँजस्तो भइसक्यो,’ उनले भनिन, ‘चाडबाड आएको मनपर्छ ।’

बसपार्कमै आमासँग उभिरहेका, ढाका टोपी र इस्टकोटमा सजिएका १६ वर्षीय डेविड सुनार प्यूठानबाट पाल्पा जान आएका रहेछन् । पाल्पामा उनका हजुरबुवा–आमा, अंकल–आन्टी बस्छन् । आफ्नो परिवारले प्यूठानमा व्यवसाय गर्दै आएको उनले बताए । ‘अघिपछि बिदा मिल्दैन, सधैं दसैंमा घर जान्छौं,’ उनले भने, ‘आफन्त भएको ठाउँ नै रमाइलो लाग्छ ।’ बिदा हुनेबित्तिकै व्यवसाय बन्द गरेर बुवाआमालाई लिएर आएको उनले बताए ।

दसैंका यात्रुको चहलपहलसँगै यहाँस्थित बसपार्कमा मेला लागेसरह भएको छ । बिहान, साँझ, राति मान्छेको ताँती लाग्छ । पूर्वपश्चिमका साथै पहाडी जिल्लाका लागि बस छुट्ने भएकाले यात्रुको भीड लाग्छ । बसको टिकट नपाएपछि गुल्मीका विष्णु क्षेत्रीले भ्यान रिजर्भ गरे । भारतबाट बिदामा आएका उनी यहाँ धेरै समय कटाउन चाहिरहेका थिएनन् । चाडपर्वमा परिवारसँग रमाइलो गर्न, चिसो हावापानीमा रमाउन आएको उनले बताए ।

विगत १० वर्षदेखि बसपार्कमा मिठाई बेच्दै आएका राजु धोबी बिहीबार खुसी देखिन्थे । ‘मानिसको घुइँचो छ,’ उनले भने, ‘व्यापार पनि धेरै हुन्छ ।’ उनका अनुसार पहिले दिनको ४/५ सय रुपैयाँसम्म व्यापार हुन्थ्यो, अहिले १५/२० हजार रुपैयाँको हुने गरेको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका विभिन्न काउन्टरले दिएको जानकारीअनुसार बसपार्कबाट बिहीबार बिहान मात्र ४ हजार जना बाहिरिएका छन् । रात्रि सेवा, अन्य दिनका लागि समेत टिकट काट्नेको भीडभाड छ । गाडी चालक र सहचालक यात्रुका झोला गाडीको छत अनि गल्लीमा राख्न व्यस्त देखिन्थे ।

पूर्वी नाकामा भीड
रामेछापका सुमित पौडेलसहित १० जनाको टोली भारतको उडिसा राज्यबाट बिहीबार पूर्वी नाका काँकडभिट्टा आइपुग्यो । उडिसामा होटलमा काम गरिरहेका उनीहरू दसैं मान्न घर आएका हुन् । त्यहाँ प्राय: नेपाली होटलमा कुक, सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।
‘एक महिना जति बसेर फर्कने योजनामा छु,’ सुमितले भने, ‘परिवारसँग दसैं मनाउने भनेर आएको हुँ ।’

भारतका विभिन्न राज्यमा कार्यरत नेपालीहरू यति बेला धमाधम घर फिर्न थालेका छन् । अरू बेला विदेशमा बसे पनि चाडपर्वमा घर नआई मनले नमान्ने उडिसाबाटै फर्किएका रोशन मगर बताउँछन् । नाकाबाट दैनिक १० हजारको संख्यामा नेपालीहरू भित्रिइरहेको मेची भन्सारका कर्मचारी रामहरि कार्कीले जानकारी दिए । भन्सारले नाकामा स्क्यानिङ मेसिन राखेर आगन्तुकको झोला जाँच्दै आएको छ ।

प्रहरीले घर फर्किनेलाई लक्ष्य गरी सहायता कक्ष सञ्चालनमा ल्याएको इलाका प्रहरीका नायब उपरीक्षक गोविन्दकुमार कार्कीले बताए । ‘दसैं मान्न घर फिरेका कतिपय नेपाली विगतमा लुटिने, ठगिने गरेका रहेछन्,’ उनले भने, ‘त्यसो नहोस् भनेर सहायता कक्ष राखेर सहयोग गरिरहेका छौं ।’

नाकामा सास्ती
मेचीपारि भारतीय नाकामा तैनाथ भारतीय सुरक्षाकर्मी र त्यहाँका भन्सार कर्मचारीबाट घर फिर्नेहरूले पाउने सास्ती भनिसाध्य छैन । सुरक्षाकर्मीले झोला खानतलासी गरेर अनावश्यक दु:ख दिने गरेका छन् ।

कतिपयले परदेशीसँग घूससमेत माग्ने गरेको मेघालयबाट फर्किएका भोजपुरका रामबहादुर राईले बताए । रेल चढेदेखि सुरु हुने सास्तीले नेपाल प्रवेश गर्दासम्म जारी रहने उनको भनाइ छ । भारतीय सुरक्षाकर्मीले ५० देखि ५ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

प्रकाशित : आश्विन १७, २०७६ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्