विदेशमा बस्नेलाई न्यास्रो 

माधव घिमिरे

विराटनगर — ताप्लेजुङका अशोक खतिवडा ५ वर्षदेखि क्यानडामा थिए । पढाइसँगै कामको सिलसिलामा रहँदा यतिका वर्ष घर आउन पाएनन् । अरू बेला जसोतसो, दसैंमा आउन नपाउँदा धेरै खिन्न हुन्थे ।

तर यसपालि उनी परिवारसँग भेटेर मख्ख छन् । ‘धेरै वर्षपछि आमाबुबा र आफन्तसँगै दसैं मनाउन आएको छु,’ उनले भने, ‘अरू बेला जेजसो भए पनि दसैंमा बाहिर हुँदा कसोकसो लागिहाल्ने ।’ केही दिनअघि नेपाल आएका उनको अभिभावकसहित परिवारका अधिकांश सदस्य काठमाडौंमा रहेकाले दसैं त्यहीँ मनाउने तयारीमा छन् ।


‘हुन त उता रहेका नेपाली साथीभाइ र अग्रजहरूसँग दसैं र अरू पर्वहरूमा रमाइलो गरिन्थ्यो,’ उनले भने, ‘तर नेपालमै परिवारसँग पर्व मनाउनु जत्तिको आनन्द कहाँ पाउनु ?’ दसैं मनाएपछि फर्कने गरी कामबाट बिदा मिलाएर आएको उनले बताए । धेरै वर्षपछि छोरो आएकाले अशोककी आमा सुशीला हर्षित छिन् । अरू तीन छोरी र एक छोरा भए पनि एकै जनाको अनुपस्थितिले फरक पर्ने उनले बताइन् ।


‘धेरै वर्षपछि कान्छो छोरो पनि सँगै हुने भयो यसपालि,’ काठमाडौं कौशलटारमा रहेकी उनले फोनमा भनिन्, ‘छोराछोरीबिनाको दसैं अलि खल्लो हुँदोरहेछ ।’ मुख्य पर्व दसैंको रमझम सुरु भइसकेको छ । ढिलो गरी बिदा भएको मनसुनपछि मौसम छ्याङ्ङ खुलेको छ । गाउँ–सहरमा दसैंको तयारी धमाधम छ । शक्तिपीठहरूमा चहलपहल बढेको छ । टाढाबाट आउने आफन्तहरूको स्वागत गर्न मूल घरहरू सरसफाइ, रंगरोगन भइरहेका छन् ।


पढाइ, जागिर वा अन्य कारणले अरू ठाउँ वा विदेश रहेका को–को आफन्त आउने हुन्, को आउन नपाउने भन्ने चर्चा पनि धेरैजसो घरमा भइरहेको छ । उता, विदेशमा रहने नेपालीहरू कतिपयले दसैंको अवसर पारेर बिदा मिलाएका छन् ।


पढाइ, रोजगारी र अरू कारणले देशबाहिर रहेका उनीहरू दसैंको उल्लासमा रमाउन कहिले घर आइपुगौं भन्ने हुटहुटीमा छन् । कारणवश आउन नपाउनेहरू भने अलि खिन्न हुने नै भए । दसैं सन्दर्भमा विदेशमा रहेका विभिन्न स्थानका नेपालीसँग अनलाइन कुरा गर्दा खुसी र खिन्नता उनीहरूले आ–आफ्नै पाराले पोखेका छन् ।


विराटनगर–४ का समीप निरौला अस्ट्रेलियाको सिड्नीमा आईटी विषय लिएर अध्ययन गरिरहेका छन् । प्लस टु विराटनगरकै कलेजमा सिध्याएर पोहोर त्यता गएका उनी यसपालि दसैं आउन लाग्दा घरको धेरै सम्झना भइरहेको बताउँछन् । ‘दसैंमा घर र अभिभावकभन्दा बेग्लै भएर बसेको बानी नभएकाले धेरै न्यास्रो लाग्दोरहेछ,’ उनले भने, ‘तर जसोतसो मन बुझाउनै पर्छ, यतै साथीहरूसँग रमाइलो गर्नेछौं ।’


विराटनगरमा रहेका उनका आमाबुबा सुष्मा र मात्रिका छोरा नहुँदा दसैंमा न्यास्रो लाग्ने बताउँछन् । छोरी साथमा भए पनि पर्वका बेला सबै एक ठाउँ भेला हुन नपाउँदा अलि खल्लो लाग्ने उनीहरूको भनाइ छ । ‘भविष्य राम्रो होस् भनेर पढाइका लागि छोरो गएको हो,’ भन्छन्, ‘त्यसैले चित्त बुझाउनै पर्छ नि ।’


झापा बुधबारेका गुरु ओली १४ वर्षदेखि अमेरिकाको वासिङ्टनमा छन् । क्याटरिङ कम्पनीमा कार्यरत उनी यो अवधिमा नेपाल फर्कन पाएका छैनन् । ‘विभिन्न कारणले आउन पाएको छुइनँ,’ उनले भने, ‘अरू बेला मात्र होइन, चाडपर्वमा पनि घर र आफन्त मिस गरिन्छ ।’ बुटवलकी नबिता थापा यसपालि दसैंमा घर आउने कुराले उत्साहित छिन् । रोयल क्यारिबियन जहाजमा कार्यरत उनी अधिकांश समय समुद्रमाथि जहाजमा हिँडिरहेकी हुन्छिन् । कतिपय दसैंतिहारको समय काममै बिताएकी उनी यसपालि भने

घर फर्कंदैछिन् ।


अमेरिकाको मियामीस्थित उक्त कम्पनीको जहाजमा दर्जनभन्दा बढी नेपाली कार्यरत छन् । तीमध्ये केहीले मात्र यसपालि दसैंमा घर आउने मौका पाउने भएका छन् । ‘कहिले घर आउँ जस्तो भइसक्यो,’ थापाले भनिन्, ‘अरू बेला जेजस्तो भए पनि चाडपर्वका बेला विदेशमै रहँदा मन खिन्न भइहाल्ने । यसपालि आमाबुबा र सबै आफन्तसँग भेट र रमाइलो हुने भयो ।’

प्रकाशित : आश्विन १७, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?