कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यसकारण भएको थियो मदिरा भट्टीमा ५ जनाको मृत्यु

पवन यादव

बारा — प्रहरीले घरेलु मदिरा उत्पादन एवं बिक्रीवितरणमा कडाइ गरेपछि अवैध उत्पादनकर्ताले पछिल्लो समय मदिरा भट्टीलाई गोप्य बनाउन थालेको पाइएको छ । लामो समयदेखि घरेलु मदिरा भट्टी सञ्चालन गर्दै आएका फेटा गाउँपालिका ४ बतराका जोगा मुखिया बिनले पनि मदिरा उत्पादन गर्न नयाँ जुक्ति लगाएका थिए । 

यसकारण भएको थियो मदिरा भट्टीमा ५ जनाको मृत्यु

आफूले सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले फुटाइदिने र कच्चा पदार्थ नष्ट गरिदिन थालेपछि जोगाले हालै मदिरा भट्टी गोप्य बनाएका थिए । भारतबाट राजमिस्त्री झिकाई मदिराका लागि कच्चा पदार्थ कुहाउन पक्की ट्यांकी निर्माण गर्न लगाएका थिए । झन्डै ५ फिट गहिरो रहेको उक्त ट्यांकीका चारैतिर पक्की पर्खाल लगाइएको थियो । दक्षिणतिरको पर्खालमा एउटा सानो भेन्टिलेटर (झ्याल) राखिएको थियो । उक्त ट्यांकीसम्म पुग्न घरकै अर्को कोठाबाट मान्छे छिर्न सक्ने २ स्क्वायर फिटको प्वाल छाडिएको थियो । त्यही प्वालबाट छिरेर कच्चा पदार्थलाई सम्याउन जोगा मुखिया बिन र भाइ महेन्द्र मुखिया बिन भित्र छिरेको स्थानीयले बताए ।


उनीहरू ननिस्केपछि एकपछि अर्को व्यक्ति के भयो भनी हेर्न भित्र पस्दा निसास्सिएर ५ जनाको मृत्यु भएको स्थानीयको भनाइ छ । खाल्डोमा फसेकालाई उद्धार गर्न परिवारका अन्य सदस्यले हल्ला गरेपछि थप २ जना युवक भित्र छिर्न प्रयास गरेका थिए तर उनीहरू सफल नभएको वडाध्यक्ष वकिलप्रसाद यादवले बताए । साँझ करिब साढे ७ बजे घटनाबारे गाउँभर हल्ला फैलिएपछि प्रहरीलाई खबर गरिएको थियो । ‘प्रहरीले पनि मृतकको शव निकाल्न नसकेपछि उत्तर र पश्चिमपट्टिको पक्की पर्खाल फुटाएको थियो,’ उनले भने, ‘त्यहाँबाट छिरेर मृतकको शव निकालिएको थियो ।’


कहीँबाट हावा नछिर्ने टयांकीमा पसेका सबैको निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रमुख विकासराज खनालले जानकारी दिए । स्थानीय जनप्रतिनिधिको सहकार्यमा प्रहरीले १५ दिनअघि गाउँमा रहेका २ वटा अवैध मदिरा भट्टी फुटाएको थियो । झन्डै अढाई किलोमिटरको दूरीमा रहेको भारत विहारका विभिन्न गाउँका मानिस बतरामा मदिरा सेवन गर्न आउने गरेको स्थानीय बताउँछन् ।


विहारमा मदिरा बिक्रीवितरणमा रोक लागेपछि सीमावर्ती क्षेत्रमा मदिरा सेवन गर्ने भारतीयको चहलपहल बढेको उनीहरूको भनाइ छ । खुला रूपमा बिक्रीवितरण भइरहेको मदिराका कारण गाउँमा घरेलु हिंसा बढेको स्थानीय महिला ललिता देवी बिन बताउँछिन् । ‘गाउँमा खुलेआम मदिरा बिक्रीवितरण र जुवा खेलाउने गरिएको छ,’ उनले भनिन्, ‘यसबारे प्रहरी र जनप्रतिनिधि सबैलाई जानकारी छ तर कसैले केही बोल्दैन ।’ गाउँका पुरुषले मदिरा सेवन गरी श्रीमती कुटपिट गर्ने घटना पनि उत्तिकै बढेको उनको गुनासो छ ।


मदिराकै कारण छिमेकी ५ जनाले केही समयअघि ज्यान गुमाएको उनको दाबी छ । मदिराका कारण विभिन्न आपराधिक घटना बढेपछि घरेलु मदिरा भट्टी नियन्त्रण अभियानलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए । ‘मदिरा भट्टी भत्काउने र मदिरा नष्ट गर्ने अभियान जारी छ,’ उनले भने, ‘सूचना पाएलगत्तै मदिरा भट्टी र कच्चा पदार्थ नष्ट गर्छौं ।’ साउनयता मात्र ४७ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको उनले जानकारी दिए । यो अवधिमा ३ हजार ८ सय ६० लिटर तयारी मदिरा र २७ हजार ४ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ पोखेर नष्ट गरिएको उनले जानकारी दिए ।


गत आवमा ३ सय १६ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको उनको भनाइ छ । त्यस क्रममा २२ हजार ८ सय ९९ लिटर तयारी मदिरा र १ लाख ६ हजार १ सय ९७ लिटर कच्चा पदार्थ पोखेर नष्ट गरिएको उनले बताए ।


गाउँ नै शोकमा

अवैध घरेलु मदिरा बनाउने क्रममा एकै परिवारका ४ जना र एक जना आफन्त गरी ५ जनाको मृत्यु भएपछि बाराको फेटा गाउँपालिका ४ बतरा गाउँ शोकमा डुबेको छ । पक्की घरभित्र भूमिगत ट्यांकी निर्माण गरी मदिरा बनाउने क्रममा बुधबार राति निसास्सिएर मृत्यु हुनेमा मदिरा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी बिन, ३० वर्षीया श्रीमती लालमुनि देवी बिन, जोगा मुखियाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारत विहार मोतिहारी जिल्ला आदापुर थाना मझरिबाजी गाउँ पञ्चायत १२ हरकटवा निवासी बाबा भने गुलाचन माझी रहेको प्रहरीले जनाएको छ ।


माझी जोगाको ससुराली गाउँका नातामा पर्ने ससुरा हुन् । जोगा मुखिया बिनका चार सन्तानमध्ये दुई छोरा र दुई छोरी थिए । उनीहरूमध्ये १२ वर्षीर्या छोरी सुमनीकुमारीको मृत्यु भएको छ । ८ वर्षीय छोरा श्यामकुमार मुखिया बिन, ६ वर्षीय सोनु मुखिया बिन र ४ वर्षीया छोरी सुनरीकुमारी टुहुरा भएका छन् । भाइ महेन्द्र मुखिया बिनको मृत्यु भएपछि अपांगता भएकी पत्नी भागोदेवी र ४ जना नाबालिग छोरीको बिचल्ली भएको छ ।


६ वर्षीर्या अञ्जनीकुमारी, ४ वर्षीया सञ्जनीकुमारी, ३ वर्षीया आरतीकुमारी र १ वर्षीया कजलीकुमारी शोकमा टुहुरा बनेका छन् । ‘हाम्रो खाना मात्र फरक थियो । सबै सम्पत्ति र कारोबार एकै ठाउँमा हुँदै आएको थियो,’ भागोदेवीले भनिन्, ‘घरबाहेक अरू कुनै जग्गा हामीसँग छैन ।’ परिवारकै अगुवाको निधन भएपछि आफूहरू बिचल्लीमा परेको उनले बताइन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?