बाटोमै थन्कियो ३४ सय क्विन्टल

सडक यातायातले नछोएको हुम्लामा दसैंको मुखमा खाद्यान्न अभाव भएको छ । केरूङ हुँदै चीनको बाटोबाट एक महिनाअघिनै ५ हजार ५ सय क्विन्टल चामल ल्याइए पनि त्यो सिमकोट पुगेको छैन, न अन्य डिपोमा पुर्‍याइएको छ
राजबहादुर शाही, छपाल लामा

मुगु/हुम्ला — दसैं ढोकैमा आइपुग्यो । सोरु गाउँपालिका–६ मुगुका धनवीर कामीलाई भने चामलकै चिन्ता छ । सोरुकोटमा रहेको नेपाल खाद्य संस्थानमा चामल नपाइने भएपछि उनी महँगैमा भए पनि बजारबाट चामल किनेर ल्याउने योजनामा छन् । ‘अरू बेला त त्यस्तै हो, दसैंमा भात खाऔं कि भन्ने सबैलाई लाग्छ,’ उनी भन्छन्, ‘तर त्यही चामल पनि नपाउँदा दसैं कसरी टार्ने भन्ने चिन्ताले सताउँछ ।’

एक महिनाअघि केरुङ हुँदै ल्याइएको खाद्यान्न हुम्लाको सल्लीखोलामा अलपत्र । तस्बिर :छपाल/कान्तिपुर

धनवीर मात्र होइन, मुगु र हुम्लाका ग्रामीण भेगका बासिन्दा चामल नपाउँदा समस्यामा छन् । नेपाल खाद्य संस्थानले सुलभ रूपमा चामल उपलब्ध गराउन डिपो स्थापना गरे पनि ती रित्तै छन् । पाहुनालाई खुवाउन र टीकाटालो गर्न एक परिवारलाई करिब ३० केजी चामल चाहिन्छ । खत्याड, श्रीकोटका दृष्टिविहीन कल्से भियालको पिरलो पनि चामलकै छ । ‘डिपोमा चामल छैन, बजारबाट किनेर खान सकिन्न,’ उनले भने, ‘दसैं धनीमानीका लागि मात्र हो, हामीजस्तालाई त दसैं दशा हो ।’

सोरुकोटस्थित संस्थानको डिपो साउनदेखि रित्तै छ । सरकारी अनुदानको चामल नहुँदा कल्सेजस्ता विपन्न परिवार दसैं कसरी टार्ने भन्ने चिन्तामा छन् । चामल नहुँदा साउने संक्रान्ति पनि खल्लो भएको कल्सेले बताए । मुगुमा सोरुकोटका साथै पुलु, श्रीकोट, कालै र रातापानीमा संस्थानका बिक्री डिपो छन् तर सबै रित्तै छन् । सदरमुकाम गमगढीस्थित डिपोमा पनि १ सय ४५ क्विन्टल मात्र चामल स्टक छ । यो चामल पनि जन्ममृत्युका लागि बचत गरेर राखिएको हो ।

ठेक्का स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा दसैंमा चामल आउन नसकेको संस्थानका निमित्त शाखा प्रमुख पुस्कर भामले बताए । सरकारले वार्षिक रूपमा गमगढीस्थित डिपोका लागि १० हजार क्विन्टल, कालै बिक्री डिपोको १ हजार ८ सय क्विन्टल, सोरुकोट डिपोका लागि २ हजार क्विन्टल, श्रीकोट डिपोका लागि १ हजार २ सय क्विन्टल, रातापानी डिपोका लागि १ हजार ८ सय क्विन्टल र पुलु डिपोका लागि २ हजार क्विन्टल खाद्यान्न दिने गरेको छ । ‘कोटाको चामल भए पनि ढुवानीको समस्याले दसैंमा जनतालाई चामल दिन सकेनौं,’ उनले भने, ‘तिहारसम्म भए पनि ल्याउने प्रयासमा छौं ।’

दसैं असोजमै परेको र कात्तिके धान नपाकेको हुँदा स्थानीय संस्थानको चामलले दसैं मनाउने आसमा थिए । संस्थानले ढिलाइ गरिदिँदा उनीहरू निराश छन् । डिपोमा चामल नहुँदा दोब्बर मूल्यमा व्यापारीसँग चामल किनेर खानुपर्ने बाध्यता आइलागेको सोरुकोट गाउँका पदमबहादुर शाहीले बताए । डिपोमा चामल नभएपछि संस्थानका कर्मचारी पनि दसैं बिदाअघि नै घर गइसकेको उनको भनाइ छ । संस्थानको डिपोमा चामल नभएपछि बजारमा कालोबजारी बढेको मुगमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । दसैंमा जति महँगो भए पनि किनेर खानुपर्ने स्थानीयको बाध्यतालाई व्यापारीले कमाउने अवसरका रूपमा लिएको उनको भनाइ छ । कतिपय स्थानीय घैया र खेतको धान काटेर चामल निकाल्ने तयारीमा छन् । खत्याड गाउँपालिकाका बासिन्दा यसकै लागि औलतिर झरेका छन् ।

दसैंको मुखमा अभाव
सडक यातायातले नछोएको हुम्लामा पनि दसैंको मुखमा खाद्यान्न अभाव भएको छ । केरुङ हुँदै चीनको बाटोबाट एक महिनाअघि नै ५ हजार ५ सय क्विन्टल चामल ल्याइए पनि त्यो चामल सिमकोट पुगेको छैन, न अन्य डिपोमा पुर्‍याइएको छ ।

केरुङबाट आएको चामलमध्ये ४ हजार क्विन्टल सिमकोट र १ हजार ५ सय क्विन्टल यालबाङ डिपोका लागि थियो । यालबाङ केन्द्रको सबै चामल वितरण गरिए पनि सिमकोटका लागि आएको मध्ये ६ सय क्विन्टल मात्र सिमकोट डिपोमा पुगेको छ । ३ हजार ४ सय क्विन्टल चामल सल्लीखोलामै थन्किएर रहेको छ । सिमकोट क्षेत्रमा केही सहज भए पनि अन्य गाउँपालिकामा चामलको चर्को समस्या छ ।

जिल्लाका दक्षिण क्षेत्रमा अवस्थित अदानचुली, चंखेली, ताजाकोट, सर्केगाड र खार्पुनाथमा गाउँपालिकामा दसैंका बेला चामलको माग अत्यधिक हुन्छ । यी क्षेत्रमा दसैं मान्ने समुदायको बाहुल्य छ । तर यी गाउँपालिकामा रहेका श्रीनगर, सर्केगाड, देउली, छप्रेला र याङचु खाद्य डिपो दसैंमा पनि रित्तै छन् । टेन्डर प्रक्रियामा ढिलाइ हुँदा चामल पुग्न नसकेको संस्थानका शाखा प्रमुख रामबहादुर विष्टले बताए । सिमकोट डिपोमा भने १ हजार ६ सय क्विन्टल मौज्दात रहेको उनको भनाइ छ ।

डिपोमा चामलका लागि जाँदा कर्मचारीसमेत नहुने गरेको सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताइन् । ‘जनतालाई दसैंमा त चामल उपलब्ध गराउनेतिर सरकार लाग्नुपर्नेथियो,’ उनले भनिन्, ‘सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा दसैंमा समेत जनताले चामल नदेख्ने भए ।’

डिपोमा चामल नहुँदा दक्षिणी भेगका हुम्ली एक साता पैदल हिँडेर मुगुको गमगढी बजारबाट खाद्यान्न लिन बाध्य छन् । त्यो पनि अत्यधिक महँगो पर्दा जनताले हुनुसम्मको दुःख पाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । सिमकोटका लागि आएको खाद्यान्न बीच बाटोमै थन्क्याउनुभन्दा अन्य डिपोलाई वितरण गरेको भए दसैंमा यस्तो समस्या नआउने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली जिल्लामै च्याङ्ग्रा अभाव

महँगो बन्दै दसैं
राजबहादुर शाही, छपाल लामा

मुगु /हुम्ला — तिब्बती नाकाबाट आयात नहुँदा यो वर्ष हिमाली जिल्लामै च्याङ्ग्राको अभाव देखिएको छ । तिब्बतमै च्याङ्ग्राको मूल्य अकासिएपछि यस वर्ष व्यापारीले च्याङ्ग्रा नभित्र्याएका हुन् ।

दसैंलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएका भेडाच्याङ्ग्रा । तस्बिर : रासस

चिनियाँ बजारबाट च्याङ्ग्रा खरिद नहुँदा मुगुमा मासु अभावको समस्या चुलिएको छ । पाँच वर्षयता तिब्बती च्याङ्ग्रा जिल्लामा आउन छाडेका छन् । व्यवसायी तिलक रावतका अनुसार तिब्बती बजारमा एउटा च्याङ्ग्राको मूल्य १५ देखि १७ हजार रुपैयाँ छ ।

पाँच वर्ष अघिसम्म मुगुको उत्तरी नाका नाक्नेनाग्लाबाट दसैंका लागि एक हजार बढी च्याङ्ग्रा भित्रन्थे । च्याङ्ग्रा ल्याएर दसैं मनाउने रहर भए पनि च्याङ्ग्रा नपाउँदा चाडबाड सोचेजस्तो नहुने देखिएको छायाँनाथरारा नगरपालिकास्थित लुम्सका धनलाल बडुवालले बताए । स्थानीय खसीबोकाभन्दा च्याङ्ग्राको मीठो र स्वादिलो हुने भएकाले स्थानीय बजारमा च्याङ्ग्राको माग बढी छ ।

पूलु प्रहरी चौकी इन्चार्ज रामशरण कुर्मीका अनुसार यो वर्ष उत्तरी नाकाबाट च्याङ्ग्रा भित्रिएका छैनन् । व्यापारीहरु च्याङ्ग्रा किन्नका लागि तिब्बत गए पनि महँगीका कारण रित्तै फर्किएको उनको भनाइ छ ।
मुगु–तिब्बत सीमा नाक्चेनाग्ला नाका हुँदै च्याङ्ग्रा गमगढी भित्रने गरेको उनले जानकारी दिए । व्यापारीले यस वर्ष घाटा हुने डरले तिब्बती च्याङ्ग्रा नल्याएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । च्याङ्ग्रा नआउँदा राजस्वमा समेत घाटा लागेको उनको भनाइ छ ।

स्थानीय बजारमा व्यापारीले जुम्ला, हुम्ला र बाजुराबाट खसीबोका ल्याउन थालेका छन् । गमगढीमा १४ देखि १६ हजार रुपैयाँमा खसीबोका खरिद बिक्री भइरहेको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार करिव १० हजार घरधुरी रहेको जिल्लामा दसैंको बेला आठ हजार खसी खपत हुने गरेको छ । सदरमुकाममा खसीको मासु प्रतिकिलो ६ सय ५० र कुखुराको मासु प्रतिकिलो पाँच सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

हुम्लीको दसैं महँगो बन्दै
दसैं भित्रिएसँगै जिल्लामा तिब्बती च्याङ्ग्रा भित्रिन थालेका छन् । सदरमुकाम सिमकोटमा मात्रै पाँच सय च्याङ्ग्रा भित्रिएको उद्योग वाणिज्य संघले जनाएको छ । तिब्बती बजारबाट महँगो मूल्यमा च्याङ्ग्रा भित्रिएसँगै हुम्लीको दसैं महँगो हुने भएको हो ।

तिब्बतमै च्याङ्ग्राको मूल्य बढी भएकाले हुम्लामा पर्याप्त च्याङ्ग्रा भित्रन भने सकेका छैनन् । संघका उपाध्यक्ष रामबहादुर भण्डारीका अनुसार स्थानीय बजारमा १० हजारदेखि २५ हजार रुपैयाँमा च्याङ्ग्रा खरिद भइरहेको छ । थप च्याङ्ग्रा खरिदका लागि केही व्यापारी तिब्बती बजारमा पुगेका छन् । च्याङ्ग्रा व्यापारी ग्वामसिंह भण्डारीका अनुसार च्याग्रा –चुवाखोला–टाँके–हिल्सा नाका हुँदै जिल्लामा च्याङ्ग्रा भित्रिरहेका छन् ।

‘अहिले चाइनामै च्याङ्ग्राको मूल्य बढेको छ, त्यसैले यहाँ पनि महँगो मूल्यमा बिक्री गरिरहेका हौं,’ उनले भने, ‘तिब्बतमै एउटा च्याङ्ग्राको मूल्य पाँचदेखि १६ हजार रुपैयाँसम्म छ ।’

च्याङ्ग्राको मासु मीठो र स्वादिलो हुने भएकाले प्रत्येक दसैंमा तिब्बती च्याङ्ग्रा जिल्लामा भित्र्याइने गरिएको हो । स्थानीयले ऋण सापटी गरेर पनि घरघरमा च्याङ्ग्राको बली दिने गरेका छन् । तिब्बती च्याङ्ग्राका कारण स्थानीय खसीबोका बिक्री हुन छाडेको व्यावसायी राच्या कामीले बताए ।

प्रकाशित : आश्विन १३, २०७६ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्