१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्पतालको जग्गा ‘गायब’

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि जग्गा अपुग भएपछि इलाका वन कार्यालयको जग्गा लिने तयारी गरेको छ । स्थानीयले १० बिघा जग्गा उपलब्ध गराएकामा नापी कार्यालयले दुई वर्षअघि ६ बिघा २ कट्ठा ९ धुर कायम गरिदिएपछि अस्पताललाई जग्गा अभाव भएको हो । 

अस्पतालको जग्गा ‘गायब’

अस्पतालकै जग्गाबाट सडक निर्माण भएपछि ०२७ सालको नापी रेकर्डअनुसार अस्पतालको पुर्जामा साबिक कित्ता नं. ६ मा ८ बिघा चार कट्ठा ९ धुर जग्गा कायम भयो । ०५१ सालमा जग्गा घटेर ७ बिघा १६ कट्ठा पौने ४ धुरमा झरेको थियो । ०६३ सालमा गरेको नापीले अस्पतालको जग्गा ६ बिघा १० कट्ठा सवा १७ धुर कायम गरिदिएको हो । अस्पतालले ‘गायब’ जग्गा खोज्न हारगुहार गरे पनि फेला नपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) कृष्णप्रसाद खनालले बताए । ‘जग्गा फेला नपरेपछि प्रदेश सरकारको गुरुयोजनाका लागि आवश्यक पर्ने जग्गा वन कार्यालयबाट जग्गा ल्याउने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि प्रक्रिया अघि बढेको छ ।’ इलाका वनको १ बिघा ४ कट्ठा जग्गा छ ।


जग्गा हराउँदै गएपछि अस्पतालले पुनः ०७४ सालमा जग्गा खोजी गरिदिन आग्रह गर्दै पत्राचार गरेको थियो । त्यस क्रममा हाल साबिक गर्दै ६ बिघा २ कट्ठा ९ धुर मात्रै देखाइदिएपछि अस्पतालले अरूको जग्गा खोजी गर्न थालेको हो । अस्पतालको केही जग्गा अस्पतालको मुख्य गेटकै अघिबाट निर्माण गरिएको उत्तरतर्फको पूर्व–पश्चिम राजमार्गमा परेको छ । त्यो बाहेक दक्षिण क्षेत्रको सडक पनि अस्पतालकै जग्गामा निर्माण गरिएकाले घटेको नापी कार्यालयको पत्रमा उल्लेख छ ।


तर दक्षिण क्षेत्रमा अस्पतालको जग्गामा घर निर्माण गरेको देखिन्छ । जग्गा अभावमा अस्पतालले सिटी स्क्यान, एमआरआई गर्ने डाइनेस्टिक भवन निर्माण गर्न सकेको छैन । अस्पताल बुटवलको केन्द्र भागमा छ । बहुमूल्य जग्गा हरेक पटक नापजाँच गर्दा हराउँदै जानु र खोजीमा धेरैको चासो नहुनुले ‘जग्गा माफिया’ को चलखेल देखिने अस्पतालकै कर्मचारीहरू आशंका गर्छन् । अस्पतालको गायब २ बिघा २ कट्ठा जग्गाको मूल्य झन्डै २ अर्ब पर्छ । अस्पतालका स्टोर प्रमुख खेमराज भुसालले अस्पतालको जग्गाको सीमा एकिन नहुँदा खोजी र संरक्षणमा पनि समस्या परेको बताए ।


अस्पतालको दक्षिण पश्चिमतर्फ सुकुम्बासीको बसोबास छ । त्यहाँ पनि वर्षौंदेखि सर्वसाधारणले अतिक्रमण गरेर पक्की घर र टहरा निर्माण गरेका छन् । अहिलेको प्रदेशसभा सचिवालय पनि त्यही सुकुम्बासी क्षेत्रमै छ । पूर्वपश्चिम राजमार्गको अस्पताल लाइन, नेपालगन्ज रोडसहित कालिका पथ निर्माणमा पनि अस्पतालकै जग्गा प्रयोग भएको दाबी हुँदै आएको छ । तर सडकमा कति जग्गा गयो र अन्य जग्गा कहाँ अतिक्रमण भयो भन्ने खोजी भएको छैन । रेकर्डमा पनि देखिंदैन ।


बन्दै गुरुयोजना

प्रदेश सरकारले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमको संयोजकत्वमा अस्पतालको सेवा सुधार र गुरुयोजनाअनुसार तत्काल गर्नुपर्ने कामका लागि अध्ययन गर्न समिति बनाएको छ । संयोजक गौतमका अनुसार अहिले अस्पतालमा २ सय ६० बेड छन् । त्यसलाई बढाएर ९ सय ५० बेडमा स्तरोन्नति गुरुयोजना बनाउने तयारी छ । अहिले जथाभाबी रहेका जीर्ण र पुराना भवन व्यवस्थित र नयाँ हुनेछन् । अव्यवस्थित अस्पताल परिसर सुन्दर, आकर्षक, मनमोहक हरियाली पार्क र बगैंचामा परिणत गर्ने गरी गुरुयोजना तयार हुन लागेको गौतमले बताए ।


‘प्रदेशको गौरवको आयोजना भएकाले यसलाई प्रदेश ५, कर्णाली र सुदूरपश्चिम क्षेत्रका बिरामीलाई समेत सेवा दिने गरी उच्च प्रविधि र सेवासहितको अस्पतालमा स्तरोन्नति गर्ने गरी योजना बन्दै छ,’ उनले भने । १ सय ९ वर्षअघि अस्पतालले ६ बेडबाट उपचार सेवा दिन थालेको थियो । अहिले झन्डै ३ सय बेड छन् । तर भवन पुरानो र जीर्ण छ ।


प्रदेश सरकारले गौरवको आयोजनामा राखेको अस्पतालकै जग्गा गायब हुँदा त्यसको मापदण्डअनुसारका पूर्वाधार निर्माणमा समस्या भएको अस्पतालले जनाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालका लागि आवश्यक पर्ने जग्गा इलाका वन कार्यालयको गाभेर भए पनि गौरवको आयोजना सम्पन्न गर्ने बताए । ‘यसलाई प्रदेशकै मुख्य अस्पतालका रूपमा विकास गर्दैछौं,’ उनले भने, ‘इलाका वन कार्यालयको जग्गा अस्पतालले प्रयोग गर्नेछ ।’ उनले जग्गा खोजीका लागि पनि अध्ययन गरेर पहल गर्ने बताए ।


६ तले भवन

प्रदेश सरकारले अस्पतालको सेवा विस्तारका लागि १७ करोड लागतमा ६ तले भवन निर्माण सुरु गरेको छ । त्यसमा विभिन्न डाइनेस्टिक सेवा सञ्चालन गर्ने सरकारको उद्देश्य छ । अहिले अस्पतालका लागि संघीय र प्रदेश सरकारबाट ठूला संरचना निर्माण भइरहेका छन् । अस्पतालले असोज अन्तिम साता मिर्गौलाको डायलाइसिस सेवा पनि सुरु गर्न लागेको बरालले बताए ।


‘अर्थो र न्युरो सेवा पनि विस्तार गर्दै छौं,’ उनले भने, ‘गुरुयोजना सम्पन्न हुँदा यो काठमाडौं बाहिरको सबैभन्दा बढी सुविधासम्पन्न अस्पताल हुनेछ ।’ अस्पतालमा अहिले ९७ जना विशेषज्ञ डाक्टरसहित ५ सय २० स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।


प्रकाशित : आश्विन १७, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?