कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यागमन अधिकारीको कमजोरी : नक्कली सजिलै उम्कन्छन्, सक्कलीलाई सास्ती

नयाँदिल्ली/काठमाडौं — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमयात्रुझैं प्रस्थान अनुमति लिएर रूपा नेगी नेपाल वायुसेवा निगम (नेवानि) को उडानमार्फत दिल्लीस्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । दिल्लीबाट दुबई हुँदै ओमनको मस्कट जाने गरी उनले ओमन एयरको टिकट लिएकी थिइन् तर दिल्ली विमानस्थलमा ओमन एयरले राहदानी र ट्राभल डकुमेन्ट नक्कली भन्दै उनलाई फिर्ता पठाइदियो । जुन राहदानी र डकुमेन्ट देखाएर उनले काठमाडौंबाट उडान अनुमति पाएकी थिइन्, तिनलाई ओमन एयरले नक्कली भनिदियो । 

अध्यागमन अधिकारीको कमजोरी : नक्कली सजिलै उम्कन्छन्, सक्कलीलाई सास्ती

रूपाले नक्कली कागजातकै आधारमा काठमाडौंस्थित अध्यागमनबाट कसरी प्रस्थान अनुमति पाइन् ? किन अध्यागमन अधिकृतले उनले पेस गरेका कागजातको वैधता पुष्टि गर्न सकेनन् ? यो प्रकरणले विमानस्थलस्थित अध्यागमन अधिकारीहरूको कमजोरीलाई छर्लंग्याउँछ । यो प्रकरणमा कहाँ कमजोरी भएको थियो भनेर कालिकास्थानस्थित अध्यागमन विभागले अनुसन्धान जारी राखे पनि निष्कर्षमा पुगिसकेको छैन । यस्तै प्रकरण भदौ १ मा पनि भएको थियो ।


धनबहादुर तामाङ नेवानिको उडान नम्बर आरए २०७ बाट दिल्ली पुगेर त्यहाँबाट रसियन वायुसेवा एरोफ्लोटबाट रुसको मस्को जान हिँडेका थिए । सबै कागजात प्रमाणित गरेर दिल्ली ओर्लेका उनलाई पनि रूपालाई जस्तै एरोफ्लोटले नक्कली कागजात भन्दै फिर्ता पठाइदियो ।


भारतको कानपुर निवासी प्रशान्त पाण्डेको घटना यीभन्दा फरक छ । भदौ १ मा मतदाता परियचपत्र देखाएर दिल्लीबाट काठमाडौं ओर्लेका उनले विमानस्थलबाट बाहिरिने क्रममा म्याद गुज्रिएको राहदानी प्रयोग गरे । अध्यागमन अधिकारीले राहदानीको मिति नै नहेरी आगमन अनुमति दिए ।


यसरी काठमाडौं भित्रिएका उनी केही दिन घुमेर सोही राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएर नेवानिकै जहाजबाट दिल्ली उडे । दिल्लीस्थित इन्धिरा गान्धी विमानस्थलका अध्यागमन अधिकारीले भने उनी मिति गुज्रिएको राहदानी प्रयोग गरेर विमानबाट यात्रा गरेको थाहा पायो । सोही घटनाका कारण विमानस्थलले निगममाथि एक लाख भारु जरिवाना तिर्नुपर्ने बताएको छ ।


यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । नक्कली कागजात पहिचान गर्ने बलियो प्रविधि नहुँदा र धेरैभन्दा धेरै यात्रुलाई सेवा दिनुपर्ने बाध्यतामा फसेका अध्यागमन अधिकारीबाट भएका त्रुटिका उदाहरण त छँदै छन् । सक्कली कागजात हुँदाहुँदै पनि उडान अनुमति नपाएर हैरानी खेपेका यात्रुहरूको सास्ती पनि उस्तै छ । भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका र फलोअपका लागि नियमित उडिरहनुपर्ने कैयौं यात्रुले यसरी अध्यागमन अधिकारीबाट अनावश्यक हैरानी खेपिरहेका छन् । मोरङ उर्लाबारीका जितबहादुर भण्डारीले एक महिनाअघि त्यस्तै दुःख खेपे ।


दिल्लीमै रहेका टंक भण्डारीले २५ वर्षीय भतिजाको साथ लगाएर आफ्ना वृद्धवृद्धा बाबुआमालाई दिल्ली ल्याउने चाँजो मिलाएका थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीहरूले भतिज जितबहादुरलाई प्रस्थान अनुमति दिएनन् । त्यसको कारण थियो, नाता प्रमाणित नहुनु । वृद्धवृद्धा हजुरबा, हजुरआमालाई घुमाउन जान लागेको भन्दै उनले बिन्ती त बिसाए तर कसैले सुनेनन् । उनले हजुरबा र हजुरआमालाई दिल्ली पठाएर फर्किए तर भोलिपल्टै यो घटना अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलसमक्ष पुग्यो । महानिर्देशक पौडेलले हस्तक्षेप गरेपछि बल्ल उनले उडान अनुमति पाए ।


विमानस्थल अध्यागमन अधिकृतबाट यस्तै झमेलाको सामना गर्नुपर्‍यो, उदयपुरकी शान्ति राईले । ७ महिनादेखि उनी दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा एप्लेस्टिक एनिमियाको उपचारका लागि धाइरहेकी छन् । गत वैशाख दोस्रो साता बोनम्यारो ट्रान्सप्लान्ट गरेपछि उनलाई प्रत्येक महिना फलोअपका लागि अस्पताल धाउनुपर्ने बाध्यता थियो ।


१२ असोजमा उनको पछिल्लो फलोअपको मिति तोकिएको थियो । एक्लै उडान गर्दा अप्ठ्यारो हुने भन्दै उनले छिमेकी सरिता अछामीलाई पनि आफूसँगै दिल्ली लैजाने व्यवस्था मिलाएकी थिइन् तर विमानस्थल अध्यागमन अधिकारीले उनलाई अनेक प्रश्न गर्दै हैरानी खेलाए । उनले अस्पतालमा जाँच गर्दाको कागजात पनि देखाइन् तर उनको कुरा सुनिदिने कोही भएन ।


‘एक महिनाअघि मात्र म त पहिले पनि नागरिकताबाटै आएको थिएँ । त्यो रेकर्डमा हेर्नू भन्दा पनि मानेनन् । चाहिँदा नचाहिँदा प्रश्न गरिरहे । आफ्नो स्वास्थ्य यस्तो अवस्थामा भएका बेला साह्रै नराम्रो लाग्यो,’ शान्तिले भनिन् । उनीहरूलाई करिब एक घण्टापछि अर्का अधिकृतसम्म पुर्‍याइयो । र, एउटा फारम भराएपछि मात्र उनीहरूलाई उड्न अनुमति दिइयो ।


केरकार गर्नुपर्नेहरू सजिलै उड्ने र सामान्य नागरिकले भने अनावश्यक हैरानी खेप्नुपर्ने घटना विमानस्थल अध्यागमनमा दोहोरिरहन्छन् । केही डेस्क अफिसरको कार्यदक्षताको कमी र यात्रुहरूको बढ्दो चापले पनि यस्ता घटना बेलाबेला सुनिने गरेको अध्यागमन विभागका महानिर्देशक पौडेल बताउँछन् । ‘यस्ता कमजोरीको रिभ्यु गर्न हामीले कमिटी नै गठन गरेका छौं र तुरुन्तै समाधानको पहल पनि गरेका छौं,’ उनले भने ।


कागजात हुँदाहुँदै पनि यात्रुले दुःख पाए भने आफूकहाँ सोझै आएर गुनासो राख्न सकिने पौडेलले बताए । विमानस्थलमा प्रत्येक दिन एक अध्यागमन अधिकारीले औसतमा तीन सय यात्रुका निम्ति सेवा दिनुपर्ने बाध्यता छ । बेलाबेला यात्रुको चाप एक्कासि बढ्ने र त्यस्तो बेला त्रुटि हुने जोखिम रहेको उनको भनाइ छ ।


सामान्य यात्रुले दुःख पाइरहेका बेला विमानस्थल अध्यागमनकै कर्मचारीसँगको सेटिङमा यात्रुहरू उडेका घटना पनि बारम्बर सार्वजनिक हुने गरेका छन् । असार ११ मा द्वन्द्वग्रस्त लिबियाबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उद्धार गरी फर्काइएका आठै जनाले अध्यागमन सेटिङमा भिजिट भिसामा दुबई पुगेर त्यहाँबाट आफूहरू लिबिया पुगेको बताएका थिए ।


असार १९ मा क्यानडाको भिसा देखाएर सजिलै प्रस्थान अनुमतिको छाप लगाएर उडेका सिर्जन गौतम, नीरञ्जन पराजुली र प्रकाश भुसाल भोलिपल्ट गन्तव्य देश नै नपुगी बीचबाटै काठमाडौं फर्किए । चीनको गोन्जाओस्थित विमानस्थलमा कार्यरत चिनियाँ अध्यागमन अधिकारीले उनीहरूको भिसा नक्कली रहेको भन्दै अगाडिको उडान भर्न नमिल्ने भन्दै काठमाडौं नै फकाईदिएका थिए । उनीहरू फर्किएपछि मात्रै विमानस्थल अध्यागमन अधिकारीले नक्कली भिसाको भरमा उडान अनुमति दिएको तथ्य खुल्यो ।


बिग्रिरहन्छ सफ्टवेयर

विमानस्थल अध्यागमनले यात्रुहरूको विवरण राख्न प्रयोगमा ल्याएको इमी सफ्टवेयर बारम्बार बिग्रँदा पनि सेवा प्रभावित हुने गरेको छ । सफ्टवेयर ह्याङ हुने र इन्ट्री गरेको डाटा रेकर्डबाट हराउनेलगायतका समस्याले कहिलेकाहीँ नेपाल आएका विदेशीको तथ्यांक नरहने गरेको देखिन्छ ।


यस्तै भयो, असोज ७ गतेको रातिको सिफ्टमा । विदेशबाट आएका यात्रुको तथ्यांक इमी सफ्टवेयरमा राखेर उनीहरूको पासपोर्टमा आगमन अनुमति दिनुपर्ने थियो । तर सफ्टवेयरले काम नगर्दा कैयौं यात्रुको नाम सफ्टवेयरमा इन्ट्री नै भएन ।


सफ्टवेयरमा समस्या आएपछि त्यति बेला कार्यरत अध्यागमन अधिकारीहरूले यसबारे टिप्पणी नै उठाएर अध्यागमन विभागमा पठाएका थिए । आगमन अनुमति लिएर बाहिरिएका विदेशी कुनै आपराधिक क्रियाकलापमा मुछिए र त्यस्तो घटनाको अनुसन्धान गर्दा उनीहरूको रेकर्ड अध्यागमनमा नदेखिए अधिकृतहरू दोषी देखिने भन्दै त्यो दिन अधिकृतहरूले टिप्पणी नै उठाएका थिए ।


विमानस्थल अध्यागमनमा यात्रुहरूको रेकर्ड राख्ने काममा समस्या उत्पन्न भए पनि सन् २०१४ अगस्टदेखि अध्यागमन विभागले इमी अर्थात् इमिग्रेसन सफ्टवेयर प्रयोगमा ल्याएको थियो । तर प्रयोगमा आएको केही महिनादेखि नै सफ्टवेयरमा बारम्बार समस्या आउन थालेको विमानस्थल अध्यागमनका अधिकृतहरू बताउँछन् ।


अध्यागमन विभागका महानिर्देशक पौडेलले भने सफ्टवेयरमा यसअघि पनि समस्या आएका कारण त्यसको विकल्प खोजिसकिएको जानकारी दिए । विभागले मंसिर पहिलो साताबाट विशेष फिचर भएको नेपाली पोर्ट नामक सफ्टवेयर प्रयोगमा ल्याउने गरी काम अगाडि बढाइसकेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?